८ वैशाख २०८१ शनिबार
अर्थ

कृषि उत्पादन सवा करोड क्विन्टल वृद्धि

गत कात्तिकमा काठमाडौंको मुलपानीमा धान झार्दै रौतहटबाट आएका मजदुर। फाइल तस्बिरः नागरिक

काठमाडौं – हरेक वर्ष विदेशबाट कृषिजन्य वस्तु आयात बढिरहेको बेला गत वर्ष सवा करोड क्विन्टल कृषि उत्पादन बढेको छ। अनुकूल मौसम, सिँचाइ, मलको व्यवस्थाले गत आव ०७५/७६ मा एक करोड २४ लाख ४८ हजार क्विन्टल (१२ लाख ४४ हजार आठ सय २१ मेट्रिक टन) खाद्यान्न, तरकारी र उखुको उत्पादन बढेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

मल, बीउ लगायत कृषि सामग्रीको उपलब्धता, सिँचाइमा विस्तार, अनुकूल मौसमका कारणले कृषि क्षेत्रको उत्पादन बढेको मन्त्रालयका सचिव युवकध्वज जिसीले बताए। ‘प्रमुख खाद्यान्न बाली तथा तरकारी बालीमा उत्पादन वृद्धि भएको छ,’ सचिव जिसीले भने, ‘यसले आशा जगाएको छ।’

मन्त्रालयले उत्पादन वृद्धि गरेको तथ्यांक सार्वजनिक गरे पनि विदेशबाट कृषिजन्य वस्तु आयात हुने क्रम वृद्धि भएको छ। धानसहित खाद्यान्न उत्पादन वृद्धि भए पनि गत आवमा चामलमात्र साढे ३२ अर्ब रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ।

विभागका अनुसार  आव ०७४/७५ मा २९ अर्ब १० करोड रुपैयाँको चामल आयात भएकोमा गत वर्ष तीन अर्ब रुपैयाँको आयात बढेर ३२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। कृषि मन्त्रालयले भने विदेशबाट मिठो, मसिनो चामलमात्र आयात भएको जनाएको छ। मन्त्रालयका अनुसार मागको आधारमा पाँच लाख टन चामल अपुग छ। कृषि तथा पशुजन्य वस्तु वार्षिक करिब दुई खर्ब रुपैयाँको आयात हुने गरेको छ। कृषि क्षेत्रका जानकारका अनुसार कृषिमा लगानीको आधारमा उत्पादन र उत्पादकत्व वृद्धि हुन सकेको छैन।

उत्पादन वृद्धि भए पनि सन्तोष गरेर बस्ने अवस्था नरहेको कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले बताए। ‘राम्रो मौसम, समयमा मलको व्यवस्थापन लगायत कारणले उत्पादन बढेको छ,’ मन्त्री खनालले भने, ‘यत्तिमा चित्त बुझाएर बस्नु हुँदैन आयात प्रतिस्थापन गर्ने गरी उत्पादन बढाउनुपर्छ।’

कृषि मन्त्रालयले बिहीबार प्रस्तुत गरेको वार्षिक प्रगति समीक्षा अनुसार अघिल्लो आवमा दुई करोड तीन लाख ९४ हजार ९० मेट्रिक  धान, मकै, गहुँ, तरकारी, आलु, उखु उत्पादन भएकोमा गत आवमा १२ लाख ४४ हजार आठ सय २१ मेट्रिक टन बढेर दुई करोड १६ लाख ३८ हजार नौ सय ११ टन उत्पादन भएको छ। धान ८.८९ प्रतिशत, मकै ३.४८, गहुँ ४.५, तरकारी १.८६, आलु ४.३ र उखु ११.०४ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भने विदेशबाट मिठो, मसिनो चामल आयात बढेको दाबी गरेको छ। आव ०७४/७५ मा २९ अर्ब १० करोड रुपैयाँको चामल आयात भएकोमा गत वर्ष तीन अर्ब रुपैयाँ बढेर ३२ अर्ब ३२ करोड रुपैयाँको आयात भएको छ। यद्यपि धान उत्पादन भने बढेको थियो।

मन्त्रालयले मागको आधारमा पाँच लाख टन चामल अपुग रहेको बताउँदै आएको छ। धान ५१ लाख ५१ हजार नौ सय ९९ बाट ८.८९ प्रतिशत बढेर ५६ लाख १० हजार टन उत्पादन भएको थियो। मकै उत्पादन ३.४८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आवमा २५ लाख ५५ हजार आठ सय ६६ मेट्रिक टन मकै फलेकोमा गत वर्ष २६ लाख ४४ हजार आठ सय एक टन उत्पादन भएको छ। यो गत वर्षको भन्दा ८८ हजार नौ सय ४४ टनले बढी हो। त्यसैगरी, गहुँ अघिल्लो आवमा १९ लाख ४८ हजार नौ सय ९५ टन फलेकोमा गत वर्ष २० लाख ३६ हजार सात सय टन उत्पादन भएको छ। तरकारी ४० लाख ९९ हजार तीन सय ७२ बाट बढेर ४१ लाख ७५ हजार ६ सय २१ मेट्रिक टन उत्पादन भएको छ।

यो अघिल्लो वर्षभन्दा ७६ हजार दुई ४८ टनले बढी हो। आलु एक लाख ३२ हजार सात सय ८४ टनले वृद्धि भएको छ। अघिल्लो आवमा ३० लाख ८८ हजार टन फलेकोमा गत वर्ष ३२ लाख २० हजार सात सय ८४ टन उत्पादन भएको थियो। सबैभन्दा धेरै उत्पादन उखुको बढेको छ। अघिल्लो वर्षको तुलनामा ११.०४ प्रतिशतले उखु उत्पादन बढेको मन्त्रालयले जनाएको छ। अघिल्लो वर्ष ३५ लाख ४९ हजार आठ सय ६९ टन उत्पादन भएकोमा गत वर्ष तीन लाख ९१ हजार नौ सय पाँच टन बढेर ३९ लाख ५१ हजार पाँच टन फलेको छ।

कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपालन)को योगदान २६.९८ प्रतिशत छ। गत आवमा अनुकूल मौसमका कारण उत्पादनमा भएको वृद्धिले कृषिको योगदान वृद्धि हुँदा आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सघाउ पुगेको छ।

स्रोत : कृषि तथा पशुपक्षी मन्त्रालय

प्रकाशित: १७ श्रावण २०७६ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App