७ वैशाख २०८१ शुक्रबार
समाज

डेढ दर्जन बढी एनसेल र टेलिकम टावरमा आगजनी

काठमाडौ - विप्लव समूहका कार्यकर्ताले देशका विभिन्न ठाउँमा रहेका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू टेलिकम र एनसेल टावरमा आगजनी गरी क्षति पु-याएका छन्।  धादिङ संवाददाता सरिता श्रेष्ठका अनुसार धादिङमा एनसेलका तीनवटा टावरमा आगजनी भएकाजल्लाको सिद्धलेक गाउँपालिका–६ कुम्पुरडाँडामा बुधबार राति आगजनी भएको प्रहरीले जानकारी दिएको छ।

  आगजनीबाट टावरमा रहेको जेनेरेटर, ब्याट्री, तार पूर्ण रूपमा क्षति भएको छ।  धुनीबेसी नगरपालिका–४ जीवनपुर र थाँक्रे गाउँपालिका–३ जुरेथुममा रहेको टावरमा पनि आगजनी भएको छ।  जीवनपुरमा जेनेरेटर, ब्याट्री, तारमा पूर्ण क्षति भएको छ भने जुरेथुममा अब्टिकल केवल, तार र १२ वटा सोलार प्यानलमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए।

मकवानपुर संवाददाता अशोकसुजन श्रेष्ठका अनुसार मकवानपुरका तीन स्थानमा रहेका एनसेल टावरमा आगजनी भएको छ।  जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिका–७ चिसापानी, थाहा नगरपालिका–३ कटुवाल डाँडा र इन्द्रसरोवर गाउँपालिका–३ चिरिभन्ज्याङमा रहेका एनसेल टावरमा आगजनी भएको हो।

मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार बुधबार राति तीनवटै टावरमा आगजनी भए पनि आगजनीबाट खासै क्षति भएन।  आगजनीबाट तीनवटै टावरका केही तारहरू जले पनि कुनै उल्लेख्य क्षति नभएको उनले बताए।

दूरसञ्चार सेवा प्रदायक सरकारी तथा निजी कम्पनीका टावर एवम् उपकरणमा आगजनी गरी करोडौं क्षति पु¥याउने व्यक्ति तथा समूह कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेन।

जुटको बोरा बालेर टावरमा आगजनी गर्ने प्रयास भएको तर खासै क्षति नभएकाले तारहरू फेरेपछि टावर पुनः सञ्चालन गर्न सकिने प्रहरीले जनाएको छ।  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार मध्यकमाण्ड बन्द आव्हान गरेकाले उसकै कार्यकर्ताले आगजनी गरेको प्रहरीको अनुमान छ।  तर सो पार्टीले यो समाचार तयार पार्दासम्म घटनाको जिम्मा लिएको छैन। नुवाकोट संवादादाता भगवती लामाका अनुसार बेलकोटगढी नगरपालिका–४ मा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ।

अपरिचित व्यक्तिहरूले बुद्दिबहादुर गुरुङको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए।  आगजनीबाट ब्याट्रीको बाक्सा दुई थान र सोलार प्यानल आठ थान पूर्ण रूपमा जलेर नष्ट भएको छ।  आगजनीबाट कति मूल्य बराबरको क्षति भएको भन्ने जानकारी नआइसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

तनहुँ संवाददाता विनोद ढुंगानाअनुसार घिरिङ गाउँपालिका–२ घुर्लीछापमा रहेको एनसेल टावरमा गत राति अज्ञात समूहले आगजनी गरेको छ।  राति ११ बजे टावरमा भएको आगजनीमा परी सोलार जक्सन बक्स र तारहरू जलेर क्षति भएको छ।  टावरमा कसले आगजनी गरेको हो भन्नेबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक लीलाराज लामिछानेले बताए।  ‘घटनाको जिम्मेवारी कसैले लिएको छैन।

डोटी संवाददाता अरूण बमका अनुसार डोटी र डडेल्धुराका दुईवटा एनसेल टावरमा आगजनी भएको छ।  आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।  जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार राति जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको छ।  सिस्टम सञ्चालन गर्ने विभिन्न केवलहरू, बिटिएस ¥याक, ब्याट्री ¥याक, एसइडिपी च्यानललगायत सामान आगजनीमा परेका छन्।  घटना राति १० बजेपछिको हुनसक्ने प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए।  डडेल्धुराको आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ।  जिल्ला प्रहरी कार्यालय डडेल्धुराकले जनाएअनुसार राति करिब ११ बजेतिर घटना भएको हो।

बझाङ संवाददाता जगत खड्काका अनुसार जिल्लामा रहेका विभिन्न तीन ठाउँका एनसेल टावरमा आगजनी गरिएको छ।  बुधबार राति अज्ञात समूहले मष्टा गाउँपालिका–५ थलाकाँडा, थलारा गाउँपालिका–९ चित्रु र बिथ्तडचिर गाउँपालिका–९ धारीमा राखेको एन सेल टावरमा मटितेल राखेर आगजनी गरेपछि तीन वटै टावरबाट दिइएको दूरसञ्चार सेवा बन्द भएको छ।  प्रहरी चार–पाँच घण्टा लगाएर घटनास्थल पुगेर हर्दा तीनै ठाउँमा मटितेल छर्केर आगो लगाउँदा टावरका तारहरू जलेर नष्ट भएको पाइएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीले बताए।

बुटवल संवाददाता रेखा भुसालका अनुसार रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र पूर्वी नवलपरासीमा एनसेल र एनटिसीको टावरमा आगजनी गरिएको छ।  रूपन्देहीको गैडहवा गाँउपालिका–२ को सानो धुपहीमा रहेको एनसेल टावरमाथि अज्ञात समूहले आगजनी गरी क्षति पु¥याएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्र्चाज ईश्वर कार्कीले बताए।

अर्घाखाँचीमा एनटिसीको टावरमा आगजनी गरिएको छ।  पाणिनी गाँउपालिका–५ मा रहेको एनटिसी टावरमा अज्ञात समूहले आगजनी गरी क्षति पु¥याएको अर्घाखाँची प्रहरीले जनाएको छ।  कपिलवस्तुको बुद्धभुमि नगरपालिका–८ हरिहरपुरको एनसेल टावरमा पनि आगजनी भएको छ।  सुतलीको बोरा र घुर जम्मा गरेर टावरका तारहरूमा आगजनी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी देवेन्द्र पाण्डेले बताए।  पूर्वी नवलपरासीको कावासोती नगरपालिकास्थित मगरटोलमा रहेको एनसेल टावरमा पनि गत राति आगजनी गरिएको छ।  नवलपरासीमा पनि मटीतेल बोरा र घुर जम्मा गरेर आगजनी गरिएको प्रहरीले जनाएको छ।

धनगढी संवाददाता दिलबहादुर छत्यालका अनुसार कैलालीको धनगढी–६, मटियारी, गोदावरी नगरपालिका–६, जानकी गाउँपालिकाको खडरिया र मुनुवा, अछामको तुर्माखाँद–७, तितौरा, पञ्चदेवल–३, थानिकोटमा रहेका एनसेल टावरमा आगजनी गरिएको छ।  असार अन्तिम साता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एनसेलले कर छली गरेको आरोप लगाउँदै धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयअगाडि एनसेलका सिम जलाएका थिए।

पोखरा संवाददाता उमेश पुनका अनुसार पोखरा महानगरपालिका–२८, माझठानामा रहेको एनसेलको टावरमा आगजनी भएको छ।  रातको समयमा आगजनी भएकोले कसले आगो लगाएको भन्ने यकिन नभएको प्रहरीको भनाइ छ।  प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले टावरमा आगजनी गरेको हुनसक्ने प्रहरीको आशंका छ।  आगलागीबाट पावर प्लान्ट, कन्ट्रोलरलगायत उपकरणमा क्षति पुगेको छ।

यता, सिन्धुपाल्चोक संवाददाता धु्रव दंगालका अनुसार विप्लव समूहका कार्यकर्ताले बिहीबार एनसेलको भोटेचौरस्थित टावर जलाउने असफल प्रयास गरेका छन्।  घटना गराउने प्रयास हुँदै गरेका बेला प्रहरी सोही क्षेत्रमा गस्तीमा रहेकाले टावर जल्नबाट जोगिएको थियो।

चन्द कार्यकर्ताले बिहान करिब साढे एक बजेतिर टायर, दाउरा र पेट्रोल प्रयोग गरी टावरमा आगो लगाउने प्रयास गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर महेन्द्र दर्नालले बताए।  टावरमा आगो लाग्न सुरु हुनासाथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित: १७ श्रावण २०७६ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App