६ वैशाख २०८१ बिहीबार
समाज

सात महिनामै भत्कियो खेल मैदानको पर्खाल

बनेको सात महिनामै भत्किएको खेल मैदानको पर्खाल। तस्बिर: दमन राई/नागरिक

खोटाङ - दिक्तेलस्थित माटिकोरे खेल मैदानमा निर्माण गरिएको पर्खाल सात महिनामै भत्किएको छ।  खेलमैदान तथा सरस्वती माविको भवनको सुरक्षाका लागि जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय ओखलढुंगाको २७ लाख रुपैयाँभन्दा बढी लागतमा पुसमा निर्माण गरिएको पर्खाल असार मसान्त ननाघ्दै भत्किएको हो।

  २०७५ साल पुस १९ गते पूरा गर्ने गरी शुभ एन्ड धुव्र कन्स्ट्रक्सनले २०७५ वैशाख ७ गते सो पर्खाल निर्माणका लागि सम्झौता गरेको थियो।  निर्माण कम्पनीले समयमै पर्खाल निर्माण गरेर हस्तान्तरण गरे पनि गुणस्तरिय काम नहुँदा सात महिनामै पर्खाल ढलेको स्थानीय बताउँछन्।  जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय खारेज भएपछि सो मातहत सञ्चालन भएका कार्यक्रम हाल जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत सञ्चालन भइरहेका छन्।

खेल मैदानको भित्तामा पर्खाल बनाउन शुभ एन्ड धुव्र कन्स्ट्रक्सनले २७ लाख १ हजार ५५८ रुपैयाँमा ठेक्का लिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका लेखा अधिकृत सुदीप ढकालले बताए।  साबिकको सदरमुकाम तथा सबैको नजर पर्ने ठाउँकै संरचना ढल्नुले कामको गुणस्तरमा प्रश्न उठेको छ।  जिल्लाका खेलकुदका कार्यक्रम सञ्चालन हुँदै आएको मैदानको पर्खाल बनेको केही समयपछि नै चर्किन थालेको थियो।  खेल मैदानको पर्खाल दर्शक बस्न मिल्नेगरी स्टेप राखेर बनाउन भनिए पनि ठेकेदारले आफूखुसी बनाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए।

निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गर्दा राज्यको रकम खेर गएको स्थानीयको गुनासो छ।  पर्खाल भत्किएर खेल मैदानमा खसेपछि खेलकुदका गतिविधि सञ्चालनमा असहज भएको छ।

प्रकाशित: १७ श्रावण २०७६ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App