८ वैशाख २०८१ शनिबार
समाज

युएस–बंगला एयरलाइन्ससँग २ अर्ब क्षतिपूर्ति दाबी

काठमाडौं - गत वर्ष काठमाडौंमा युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा जीवन गुमाएका पीडितका हकवालाले कम्पनीविरुद्ध दुई अर्ब क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरेका छन्।  बंगलादेशमा एमबिबिएस अध्ययन गर्न गएका विद्यार्थी स्वदेश फर्किने क्रममा विमान दुर्घटनामा परी ज्यान गुमाएका सातजना विद्यार्थीका अभिभावकले बुधबार काठमाडौं जिल्ला अदालतमा करिब सवा दुई अर्ब रुपैयाँ क्षतिपूर्ति माग दाबीसहित युएस–बंगला एयरलाइन्स कम्पनीविरुद्ध मुद्दा दायर गरेका हुन्।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले सन् २०१८ मार्चमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल (टिआइए)मा भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका सात मृतकका हकवालाले उक्त एयरलाइन्स कम्पनीविरुद्ध करिब सवा दुई अर्ब क्षतिपूर्ति माग दाबीसहित मुद्दा दायर गरेको बताए।  क्षतिपूर्ति भराउनुपर्ने व्यवस्थाबमोजिम सात थान मुद्दा दायर भएको बताउँदै उनले कोर्ट शुल्कमा तत्कालका लागि सुविधा दिएको जानकारी दिए।  युएस–बंगला एयरलाइन्सको काठमाडौंस्थित कर्पोरेट कार्यालयलाई विपक्षी बनाएर मुद्दा हालिएको श्रेस्तेदार श्रेष्ठको भनाइ छ।  हेलचेक्र्याइका कारण बिमान दुर्घटना भएको र एयरलाइन्सकातर्फबाट अन्तर्राष्ट्रिय कानुनअनुसार ‘क्लेम’ गरेको क्षतिपूर्ति नपाएको भन्दै पीडितका पक्ष अदालत गएको हो।

उक्त दुर्घटनामा मृत्यु भएका एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबाबुले मुद्दा दायर गरेका हुन्।  पाइलटले अवतरणका क्रममा रनवेको एलाइन छोडेको र तत्कालीन अवस्थामा सावधानी नअपनाउँदा दुर्घटना भएको सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठन गरेको युएस–बंगला एयरलाइन्सको दुर्घटनाको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको निष्कर्ष छ।  विमान दुर्घटनामा ज्यान गुमाएका सञ्जय महर्जन, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, एन्जिला श्रेष्ठ, आसना शाक्य र श्रेया झालगायतका अभिभावकले तथा हकवालले मुद्दा दायर गरेको अदालत प्रशासनको भनाइ छ।

मन्ट्रियल महासन्धीको धारा १७ को व्यवस्था र वार्सा महासन्धीको धारा २५ को व्यवस्था अनुसार हेलचेक्र्याइँबाट भएको दुर्घटनामा वायुयान सञ्चालकले असीमित दायित्व बहन गर्नुपर्ने व्यवस्था रहेको कानुनका जानकारहरू बताउँछन्।

प्रकाशित: १७ श्रावण २०७६ ०१:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App