७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपालाई कसैले विभाजन गर्न सक्दैन : खनाल

इलाम– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई अब कसैले विभाजन गर्न नसक्ने बताएका छन्। पार्टी एकता बलियो बनिसकेको भन्दै उनले जनवर्गीय संगठनहरूलाई पनि पार्टीले मजबुत बनाउँदै लैजाने बताए। 

‘पार्टी अब बलियो भइसकेको छ तर अझै एकताको पूर्णता आवश्यक छ,’ जिल्लाको माई नगरपालिकामा बिहीबार आयोजित पार्टी कार्यकर्ता भेलामा खनालले भने, ‘अब नेकपालाई कसैले विभाजन गर्न, हल्लाउन र फाटो ल्याउन सक्दैन।’ पार्टी केन्द्र, प्रदेश र जिल्लास्तरसम्म एकै भएपनि जनवर्गीय संगठनहरूको एकताले पूर्णता नपाएको उनले बताए । ‘दुवै पार्टी एक नहुञ्जेल अहिले नेकपामा समाहित पूर्वपार्टीले आ–आफ्नै समूहमा छलफल गर्नु अन्यथा हुँदैन,’ उनले भने, ‘नेकपालाई मजबुत बनाउनकै लागि पूर्वएमाले र पूर्वमाओवादीका समूहबीच सामूहिक, बेग्लाबेग्लै छलफल भइरहेका छन्।’ 

राष्ट्रिय राजनीतिभन्दा स्थानीय सबालहरूमै आफ्नो भनाइ केन्द्रित गरेका पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले माई नगरपालिकामा ठूलो संख्यामा बसोबास रहेका भूमिहीनका लागि भूमिसुधार नीति बन्ने बताए। ‘माई नगरका बासिन्दालाई आफू बसेको घर कुनबेला छाडेर हिँड्नुपर्ने हो कि भन्ने त्रास छ,’ उनले भने, ‘तर, भूमिसुधार ऐनले तपाइँहरूको समस्या समाधान गर्नेछ।’ माई नगरका करिब ७० प्रतिशत बासिन्दा भूमिहीन छन्। 

खनालले भालुखोप–खुदुनाबारी र बिर्तामोड–सुखानी–राजदुवाली सडक यही वर्ष कालोपत्रे सुरु हुने पनि बताए। ‘स्थानीय सरकारले पनि विकासे कामको गति बढाएकाले अब स्थानीय आवश्यकताअनुसार पूर्वाधारका काम हुनेछन्,’ उनले भने, ‘प्रदेश र संघीय सरकारले पनि सहकार्य गरी विकासका काम गर्नुपर्छ।’ 

प्रकाशित: १६ श्रावण २०७६ १४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App