coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

५० करोडको धनियाँ आयात

काठमाडौं- घरघरको करेसाबारीमा सजिलै फल्ने धनियाँ आयातमा बर्सेनि करोडौं रुपैयाँ बिदेसिइरहेको सरकारी तथ्यांकले देखाएको छ। मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सरकारी नीति भए पनि देशको प्रायः सबै ठाउँमा फल्न सक्ने धनियाँको आयात हरेक वर्ष बढ्दै गएको देखिन्छ।

सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७२/०७३ मा ५० करोड रुपैयाँ बराबरको धनियाँ र यसको बीउ भारत लगायत देशबाट आयात भएको छ । व्यापार तथा प्रवद्र्धन निकासी केन्द्रको तथ्यांक अनुसार भारत सहित अर्जेन्टिना, बुल्गेरिया, रसिया र युक्रेनबाट धनियाँ आयात भएको हो ।

आर्थिक वर्ष २०७१/०७२ मा ४२ करोड ५३ लाख बराबारको धनियाँ र यसको बीउ आयात भएकोमा गत वर्ष ५० करोड रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख गरिएको छ ।

हरेक सामान जस्तै नेपालले धनियाँ आयात गर्ने प्रमुख देश भारत हो । सात समुद्रपारीका देशहरूबाट पनि धनियाँ आयात गरिन्छ । धनियाँको आयात हरेक वर्ष बढ्दै गएको केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले बताए ।

भारतबाट ‘धनियाँको बीउ शीर्षकमा ९ हजार ९ सय ९० किलोग्राम ल्याइएको छ । जसको मूल्य ४ लाख ११ हजार रुपैयाँ बराबर छ ।

त्यस्तै, अर्को शीर्षकमा पनि धनियाँ आयात भएको छ । धनियाँको बीउ (नपिसेको दाना) को शीर्षकमा ३९ करोड ९६ लाख १० हजार ७ सय ८९ रुपैयाँको आयात भएको छ । यो शीर्षकको धनियाँ भारतबाट २९ करोड ११ लाख २४ हजार ३ सय ४२ रुपैयाँको र बुल्गेरियाबाट १५ लाख ११ हजार रुपैयाँ बराबरको आएको छ । अर्जेन्टिनाबाट १ करोड, ५१ लाख, ८७ हजार, रसियाबाट ७ करोड ८२ लाख र युक्रेनबाट १ करोड ३५ लाखभन्दा धेरै रुपैयाँको धनियाँ ल्याइएको छ । यो शीर्षकको धनियाँ कच्चा पदार्थको ल्याइएको हो । यसलाई नेपाल ल्याएपछि दुई टुक्रा बनाएर बीउ बनाउने, मसलाको रुपमा पिस्ने गरिन्छ ।

त्यस्तै, टुक्राइएको धनियाँको बीउ शीर्षकमा ९ करोड ६५ लाख ७८ हजारभन्दा धेरै रुपैयाँको ल्याइएको थियो । अघिल्लो आर्थिक वर्षमा भने यो शीर्षकमा जम्मा ३ करोड ३३ लाख १५ हजार रुपैयाँको आयात भएको तथ्यांकमा उल्लेख छ । भातरबाट ५ करोड ३४ लाख ५५ हजार रुपौयाँको आयात भएकोमा अघिल्लो आर्थिक वर्षमा भने २ करोड ९२ लाख ५० हजार ९ सय २३ रुपैयाँको मात्र आएको थियो । अर्जेन्टिनाबाट ३३ लाख ७० हजार, रसियाबाट ३ करोड ४४ लाख  र युक्रेनबाट ५२ लाख ६६ हजार रुपैयाँको आयात गरिएको छ ।

केही समय अघिसम्म आयात नहुने धनियाँमा मुलुक विस्तारै परनिर्भर हँुदै गएको छ । देशभित्र सजिलैसँग, करेसाबारीमा पनि उत्पादन हुने धनियाँ भारत, बुल्गेरिया, अर्जेन्टिना हुँदै रसिया र युक्रेनबाट समेत ल्याउन थालिएको छ ।

बीउका रुपमा ल्याइएको धनियाँ देशभित्र उत्पादन गरेर पात प्रयोग गरिन्छ । तर त्यसलाई बीउ बनाउन पनि सकिन्छ भन्ने हेक्का राखिँदैन । कृषि विज्ञका अनुसार धनियाँको बीउ उत्पादन गर्न धेरै सजिलो छ । कुनै प्रविधि र कुशलता अपनाउनु पर्दैन । गाउँघरमा अहिले पनि स–सानो परिमाणमा धनियाँको बीउ उत्पादन गर्ने गरिन्छ । यसलाई अलि ठूलो परिमाणमा गर्ने हो भने देशबाट हरेक वर्ष बाहिरिने ५० करोडभन्दा धेरै रकम रोक्न सकिन्छ ।

कृषिविज्ञ कृष्ण पौडेलले देशभित्रका रैथाने उत्पादन घट्दै जाँदा आयात बढ्दै गएको बताए । विज्ञहरु अर्थतन्त्रमा माइनर क्रप्स (अल्पमत बाली) को योगदानलाई पनि बिर्सनु नहुने बताउँछन् । स्थानीय स्तरमा परम्परागत रुपमा उत्पादन हुँदै आएका खाद्यान्न तल्लो स्तरका कृषकको आर्थिक स्रोत बन्न सक्ने उनी औंल्याउँछन् ।    

नेपालको भौगोलिक र जैविक विविधतामा ४० देखि ५० वटा औषधिजन्य मसला उत्पादन गर्न सकिने विज्ञको भनाइ छ । चिसो हावापानीमा यस्ता बाली फस्टाउँछन् । औषधिजन्य मसला समूहमा धनियाँ, मेथी, ज्वानो, चम्सुर, तिल, सस्र्युं लगायत पर्छन् ।

प्रकाशित: २३ कार्तिक २०७३ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App