६ वैशाख २०८१ बिहीबार
राजनीति

मङ्सिरमा उपनिर्वाचन गर्न राजनीतिक दलको सुझाव

काठमाडाैं- राजनीतिक दलले आगामी मङ्सिरमा रिक्त हुन आएका स्थानीय तह, प्रदेश÷प्रतिनिधि सभा सदस्यको पदमा निर्वाचन गर्न निर्वाचन आयोगलाई सुझाएका छन्।

निर्वाचन आयोगमा आज आयोजित छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  मौजुदा कानूनमा भएको उपनिर्वाचनसम्बन्धी व्यवस्था र आयोगले हाल गर्दै गरेको तयारीका सम्बन्धमा जानकारी गराए।

आयुक्त ईश्वरीप्रसाद पौड्यालले छलफलमा उपस्थित सहभागीलाई उपनिर्वाचनसम्बन्धी कानूनी व्यवस्था र छलफल कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे जानकारी गराए।

सो अवसरमा सहभागी राजनीतिक दलबाट प्रतिनिधिले उपनिर्वाचनका लागि आगामी मङ्सिर महीना उपयुक्त हुने, निर्वाचन आचार संहितालाई कडाइका साथ पालना गर्नुपर्ने साथै सबै रिक्त स्थानको निर्वाचन एकैचोटी गर्नुपर्नेजस्ता महत्वपूर्ण सुझाव दिएको निर्वाचन आयोगले जनाएको छ।
 
 निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन(इभिएम) प्रयोग तथा विदेशमा बस्ने नेपाली नागरिकको मताधिकार र  निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने सम्बन्धमा उहाँहरुले सुझाव दिए।

प्रतिनिधि÷प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ वटा राजनीतिक दललाई आमन्त्रण गरिएको उक्त छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा), सङ्घीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त, राष्ट्रिय जनमोर्चा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, विवेकशील साझा पार्टी, नेपाली जनता दल, नेपाल, समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी, नयाँ शक्ति पार्टी, नेपाली जनता दल, नेकपा मालेलगायत दलको सहभागिता थियो। रासस

प्रकाशित: १६ श्रावण २०७६ १३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App