८ वैशाख २०८१ शनिबार
समाज

बनेको सात महिनामै भत्कियो पर्खाल

माटिकोरे खेलमैदानमा बनेको सात महिनामै भत्किएको पर्खाल। तस्बिरः नागरिक

खोटाङ– दिक्तेलस्थित माटिकोरे खेल मैदानमा निर्माण गरिएको पर्खाल सात महिनामै भत्किएको छ। खेलमैदान तथा सरस्वती माविको भवनको सुरक्षाका लागि जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय ओखलढुंगाको २७ लाखभन्दा बढीको खर्चमा गत पुसमा निर्माण गरिएको पर्खाल वर्षाका कारण असार मसान्त ननाघ्दै भत्किएको हो।

२०७५ पुस १९ गते पूरा गर्ने गरी शुभ एण्ड धुव्र कन्स्ट्रक्सनले २०७५ वैशाख ७ गते सो पर्खाल निर्माणका लागि सम्झौता गरेको थियो। निर्माण कम्पनीले समय अवधिमै पर्खाल निर्माण गरेर हस्तान्तरण गरे पनि गुणस्तरीय काम नहुँदा निर्माण गरिएको केही समयपछि नै पर्खाल ढलेको स्थानीय बताउँछन्।

जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय खारेज भएपछि सो मातहत सञ्चालन भएका कार्यक्रम हाल जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत् सञ्चालन भइरहेको छ।

खेलमैदानको भित्तामा पर्खाल ठड्याउनका लागि ३१ लाख २२ हजार ९ सय ८४ रुपैयाँ बजेट भए पनि शुभ एण्ड धु्रव कन्स्ट्रक्सनले २७ लाख एक हजार पाँच सय ५८ रुपैयाँमा ठेक्का लिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका लेखा अधिकृत सुदीप ढकालले बताए।

साविकको सदरमुकाम तथा सबैको नजर पर्ने ठाउँकै संरचना ढल्नुले कामको गुणस्तरका विषयमा प्रश्न उठेको छ। जिल्लाका अधिकांश खेलकुदका कार्यक्रम सञ्चालन हुँदै आएको खेलमैदानको पर्खाल ठडिएको केही समयपछि नै चर्किन थालेको थियो। खेलमैदानमा निर्माण गरिने पर्खाल दर्शक बस्न मिल्ने गरी स्टेप राखेर बनाउन भनिए पनि आफुखुसी बनाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले बताए।

निर्माण कम्पनीले कमसल सामग्री प्रयोग र गुणस्तरहीन काम गर्दा राज्यको रकम झ्वाम भएको स्थानीयको गुनासो छ। पर्खाल भत्किएर खेल मैदानमा थुप्रिएपछि खेलकुदका गतिविधि सञ्चालनमा समेत असहज भएको छ। ढलेका पर्खाल पन्छाउन र पुनः ठड्याउन राज्यको उत्तिकै रकम खर्च हुने देखिएको छ।

प्रकाशित: १६ श्रावण २०७६ १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App