परिवार नै बैरी

बिहिबार, १६ साउन २०७६, १५ : ४४ टपेन्द्र कार्की

पछिल्लो समय पारिवारिक अपराधको संख्या आश्चर्यजनक तरिकाले बढिरहेको छ र शान्तिसुरक्षामा चुनौती थपिएको छ।

१) असार १९ गते बिमाको रकम हात पार्न आफ्नै बाबुले ४ वर्षीया छोरीको हत्या गरेका गरे।  रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेका हुन्।

२) असार १५ गते भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा ६१ वर्षीया सावित्री भट्टराईको उनकै छोरी ईश्वरी भट्टराईका  योजनाअनुसार हत्या भयो। विवाहेत्तर सम्बन्धमा आमा बाधक भएपछि छोरीको योजनामा आमाको हत्या भएको हो।

३) जेठ ६ गते राति पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या भयो। धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी ज्वाईले हत्या गरेका थिए।

४) वैशाख २० गते सिरहा नपा–१४ खिरौनाका २१ वर्षीय मनिषा कुमारी मण्डलको पनि हत्या भयो। दाइजोको कारण मनिषाको हत्या भएको थियो। सिरहाकै गोलबजार नगरपालिका–८ भाइजीटोल माइती रहेको मनिषाको गत फागुनमा मात्र रामनरेशसँग विवाह भए पनि छोटो समयमै मनिषाको ईहलीला समाप्त भयो।

पारिवारिक अपराध बढ्दै गएका यी प्रतिनिधि उदाहरण मात्रै हुन्। मानिसलाई जुन परिवार र सम्बन्धको भरथेग चाहिन्छ, तिनै सम्बन्ध र भरथेग हल्लाउने घटनाका रुपमा यसलाई लिन थालिएको छ।

२०७३ पुस ९ गते विवाह गरेर २३ वर्ष लामो जीवन बिताएका चाँगुनारायण नगरपालिका–३ छालिङ थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमती बुना थापाको हत्या गरी आत्महत्या गरे। ४० वर्षीया श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि विष सेवन गरी आत्महत्या गरेका थिए।

पारिवारिक अपराध बढ्दै जान थालेपछि पारिवारक सम्बन्धमा समेत शंका उपशंका बढ्दै जान थालेको छ। पारिवारिक द्वन्द्व, आर्थिक समस्या र आवेगले यस्ता घटना हुने गरेको जानकारहरूको भनाइ छ। बेमेल, वैदेशिक रोजगारी, व्यक्तिगत स्वार्थ, आर्थिक मामिलाले पनि परिवारभित्रै आपराधिक घटना हुने गरेको प्रहरी अधिकारी बताउँछन्। परिवारका सदस्यहरू एकअर्काको व्यक्तिगत चरित्रमा हावी हुन खोज्ने प्रवृत्तिका कारणसमेत बेमेल र झगडा बढिरहेको छ। पति–पत्नीले एकअर्काको चरित्रमाथि आशंका गर्दा त्यसले हत्या र आत्महत्यासम्म निम्त्याउने गरेको छ।

१६ वर्ष अघि २०६० सालमा परिवार नै सखाप हुनेगरी दशैँको अष्टमीको दिन ललितपुरको बडिखेलमा ५ जनाको हत्या भएको थियो। नातामा जेठान नाता पर्ने चन्द्रबहादुर नगरकोटीले हत्या गरेका थिए। त्यतिमात्र होइन, सशस्त्र प्रहरीका डिआइजी  रञ्जन कोइरालाले आफ्नै श्रीमती गीता ढकालको हत्या गरेका थिए।

आर्थिक वर्ष २०७२/७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६ सय ८४ जनाको हत्या भएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२÷७३ देखि २०७५÷७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६ सय ८४ जनाको हत्या भएको हो। प्रहरी दिएको तथ्यांकलाई हेर्ने हो भने श्रीमानले श्रीमतीको हत्या, श्रीमतीले श्रीमान्को, बाबुआमाले छोराछोरी, छोराछोरीले बाबुआमा,छोराबुहारीले आमाबाबु तथा सासू ससुरा ज्वाईछोरीसम्मको हत्या गरेका छन्।

सबैभन्दा बढी श्रीमान्बाट २ सय ७५ जना श्रीमतीको हत्या भएको छ। श्रीमतीबाट ५८ जना श्रीमान् मारिएका छन् भने बाबुआमा मिलेर १५ जना सन्तानको हत्या गरेका छन्। यस्तै छोराले मात्रै चार वर्षका बीचमा ५३ जना आमाबाबुको हत्या गरेको भेटिन्छ। यो पारिवारिक अपराधमा आफन्तहरु संलग्न रहेको र उनीहरुले विभन्न बहानामा आफन्तहरुको हत्या गरेको प्रहरीले जनाएको छ।

छोराबुहारी मिलेर विगत चार वर्षका बीचमा ११ जना आमाबाबुको हत्या गरेको, छोरीले एक जनाको हत्या गरेको, आमाले ६२ जना नवजात शिुशुको हत्या गरेको तथा आमाबाट २४ जना वयस्क छोराछोरीको हत्या भएको तथ्यांक छ।

पछिल्लो चार वर्षको अवधिमा  सौतेनी आमा र बाबुले चार जना सन्तानको हत्या गरेका छन्। तीन जना ज्वाइँजेठानको हत्या गरेको, बाबुले एक्लै २३ जना छोराछोरीको हत्या गरेको तथा अन्य घरपरिवारका सदस्यअन्तर्गत ५१ जनाको हत्या भएको प्रहरी जनाएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलका अनुसार पारिवारिक अपराधको कुनै एउटा कारण नभई विभिन्न कारणले हुने गरेको छ। ‘खासगरी आफन्तबाटै आफन्तको हत्या हुनुमा आपसी असमझदारी, चरित्रमा शंका, दाइजो विवाद, सम्पत्ति विवादका कारण हुने देखिएको छ,’ डिआइजी पोखरेलले भने। उनका अनुसार आपसी मनमुटाव तथा बेमेल, सम्पत्तिका विषय तथा परिवारका एक सदस्यबाट भएको गलत क्रियाकलाप अर्को सदस्यले थाहा पाएपछि सो व्यक्तिमार्फत् घटना बाहिर आउने भयका कारण प्रमाण नष्ट गर्नसमेत आफन्तबाट आफन्तकै हत्या हुने गरेको छ।

कुन वर्ष कतिको हत्या ?
२०७२/७३ १५७ जना
२०७३/७४ १७७ जना
२०७४/७५ २०६ जना
चालू आर्थिक वर्षको हालसम्म १४५ जना

सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ। प्रहरीका अनुसार हत्याका घटनामध्ये झन्डै ४० प्रतिशत आफन्तबाटै भएका छन्।

समाजका मूल्य–मान्यता फेरिँदै गएको र विचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल बताउँछन् । ‘सामान्य विषयमा समाज र घरभित्रै हुने घटना निकै बढेका छन,’ उनी भन्छन, ‘यस्ता घटना रोक्न प्रहरीले पनि सामुदायिक पुलिसिङको अवधारणा अघि बढाइएको हो।’

पछिल्लो चार वर्षको तथ्यांक हेर्ने हो भने औसतमा दिनमा कर्तव्य ज्यानका दुई घटना भइरहेको देखिन्छ। पेसेवर अपराधीबाट तथा संगठित समूहबाट भन्दा पनि समाजमा हुने सानातिना झैँ–झगडा, परिवारमा हुने विवाद, सामान्य रिसइबी, आर्थिक लेनदेन तथा चरित्रका विषयलाई लिएर धेरै हत्या हुने गरेका छन्। अपराधशास्त्री माधव आचार्यका अनुसार १६ देखि २५ वर्ष उमेर समूहका व्यक्तिहरुबाट बढी अपराध हुने गरेको छ। ‘त्यसमाथिका मानिसहरुबाट अपराध हुँदैन भन्ने होइन, १६ देखि २५ वर्षको उमेर समूह भनेको निकै चञ्चले र अपरिपक्व समय हो यसबेला मानिसका मनमा विभिन्न खाले संवेगहरु उत्पन्न हुने गर्छन्। त्यतिबेला परिवार सदस्यपनि त्यसको शिकार बन्न सक्छन,’ अपराधशास्त्री आचार्यले भने।

नेपालगन्जका दीपक हेमकरसहित उनका परिवारका पाँच सदस्य र एक कामदारको २३ फागुन ०६२ मा रहस्यमय तरिकाले हत्या भएको थियो । घटनाको १३ वर्षपछि गत असोजमा हत्याकाण्डको पर्दाफास भयो । दीपकको ससुरालीबाटै सम्पत्ति हत्याउन सो हत्याकाण्ड गराइएको खुल्यो । दीपकको नामको सम्पत्ति श्रीमतीको नाममा नामसारी गरिएको थियो । हत्याका बेला श्रीमती भारत गएकी थिइन । मनोविद गोपाल ढकाल भन्छन्, ‘यस्तो हत्या सम्पत्तिको लोभमा हुने गरेका छन्। छिटो पैसा कमाउने धन्दाको रुपले अपराध जन्माउने गरेको अर्काको देखासिकी गर्दा अपराधले स्थान पाउछ।’

ढकालका अनुसार सामाजिक सञ्जालको प्रयोग, शहरीकरण, वैदेशिक रोजगारीजस्ता कुराले मान्छेका आवश्कताहरु बढ्दै गएका छन्। समाजमा तीव्र प्रतिस्पर्धा बढेको छ। सँगसँगै मान्छेमा इच्छा आकांक्षा, निराशा लगायतका मानसिक समस्याहरु पनि बढ्दै गएका छन्। मानिसहरु भौतिकवादी बन्दै गएका छन्। जसरी पनि आफ्ना आवश्यकता पूरा गर्न मानिसहरु लागिपरेका छन्। मानिस घर परिवार र समाजबाट एक्लिदै गएको छ। ‘मानिस जसरी पनि आफ्ना आवश्यकता  पूरा गर्नुपर्छ भन्ने मानसिकताबाट ग्रसित छन्,’ ढकाल भन्छन्, ‘समाजमा यस किसिमको तीव्र प्रतिस्पर्धाका कारण र आवश्यकता पूरा गर्न अपराधतर्फ आकर्षित भइरहेको छ। उसले अपराध गर्न सकेन भने ऊ डिप्रेसनको शिकार हुन्छ।’ दुवै हिसाबले समाजलाई घाटा भएको मनोविद ढकाल बताउँछन्।

सप्तरीको राजविराजमा गत वर्ष जेठमा सामान्य विवादमा परिवारकै हत्या भयो। राजविराज बस्ने सूर्यनारायण साह, उनकी श्रीमती बेचनीदेवी र छोरी प्रतिभाको हत्या भएको थियो। सूर्यनारायणकै सहोदर भाइ पञ्चदेवले हत्या गरेका थिए। दाइले नागरिकता बनाउन सहयोग नगरेको बहानामा छिमेकीको सहयोगमा उनले हत्या गरेका थिए। यसबाट के देखिन्छ भने दाइको सम्पत्ति हात पार्नसमेत परिवारकै हत्या गरेका थिए।

गत बैशाखमा सिरहामा छोरा नपाएको भन्दै एक महिलाको हत्या भएको थियो। कर्जन्हा नगरपालिका–११ हटलेटवाका चन्देश्वर यादवले छोरा नपाएको निहुँमा आफ्नै श्रीमती ३१ वर्षीया रितु यादवको घाँटी थिचेर हत्या गरेको थिए।  प्रहरी प्रवक्ता डिआइजी पोखरेलका अनुसार तराईमा दाइजो नपाएको र छोरा नपाएको निहँुँमा अधिकांश पारिवारिक अपराध हुने गरेको छ। ‘तराईमा दाइजो नपाउँदा शिक्षित व्यक्तिहरुले पनि श्रीमतीको हत्या गर्ने, बुहारीको हत्या गर्ने प्रवृत्तिले अपराधलाई प्रश्रय दिएको छ,’ डिआइजी पोखरेलले भने।


डिआइजी विश्वराज पोखरेल
प्रहरी प्रवक्ता

प्रहरीका आएका पछिल्ला उजुरीलाई विश्लेषण गर्ने हो पारिवारि अपराधहरु बढेको देखिन्छ। पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने औसतमा दिनमा कर्तव्य ज्यानका दुई घटना भइरहेको देखिन्छन। पेसेवर अपराधीबाट तथा संगठित समूहबाट भन्दा पनि समाजमा हुने सानातिना झै–झगडा, परिवारमा हुने विवाद, सामान्य रिसइबी, आर्थिक लेनदेन तथा चरित्रका विषयलाई लिएर धेरै हत्या हुने गरेका छन्। पाँचथरको घटना नसेलाउदै भक्तपुर तथा अन्य क्षेत्रमा पनि पारिवारिक अपराधको श्रृंखला आएको छ। जुन नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ।

तराईतिर हेर्ने हो भने दाइजोका कारण समेत हत्या भएका छन्। सामाजिक परिवेशभित्रको विचलनबाट सिर्जित हत्याका घटना बढेका छन्। परिवारभित्र र नातेदारभित्र हत्या भएका छन्। हाम्रो संस्कृतिमा आएको विचलन नै यसको मुख्य कारण हो जस्तो लाग्छ। सामाजिक मूल्य–मान्यता फेरिँदै गएका छन्। एउटा विषयमा परिवारका सदस्यभित्रै हेर्ने दृष्टिकोण फरक हुने गरेको छ। आफू केन्द्रित भएर सोच्ने प्रवृत्ति समाजमा बढ्दै गएको छ। यस्तो सोच र मान्यताले हत्या घटना बढेका जसले गर्दा समाजमा अपराध वृद्धि भएको तथ्यलाई लुकाउन सकिदैन तर अपराध गर्नेहरुपनि कानुनी दायरामा आएका छन्। समाज रहेसम्म अपराध हुन्छ भन्ने मान्यता भएपनि त्यसलाई नियन्त्रण गर्नु प्रहरीको दायित्व हो जो गरिरहेको छ।  

प्रहरीले पनि त्यस्ता घटना रोक्न नयाँ कार्यशैली अवलम्बन सुरु गरेको छ। अहिले हामीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा गाउँ–गाउँमा लिएर गएका छौँ। सायद यो कार्यक्रमले यस्ता घटनामा कमी आउनेछ।

समाजमा तीव्र प्रतिस्पर्धा बढेको छ
मनोविद्
गोपाल ढकाल

परिवारिक अपराधिक घट्नाको पछाडि तीन चार वटा कारण हुनसक्छन।
हामो नेपाली समाज संक्रमणकालमा छ। त्यसको पुराना मूल्य मान्यताहरु भत्केर नयाँ मूल्य मान्यता स्थापित हुने क्रममा छन। हिजो संयुक्त परिवार थियो, आज एकल परिवारमा समाज रुपान्तरित हुदैछ। आधुनिकता,सामाजिक सञ्जालको प्रयोग, शहरीकरण, वैदेशिक रोजगार र मान्छेका असीति आवश्कताहरु बढ्दै गएका छन्। समाजमा तीव्र प्रतिस्पर्धा बढेको छ। सँगसगै मान्छेमा इच्छा आकांशा, निराशा (डिप्रेसन) लगायतका मानसिक समस्याहरु बढ्दै गएका छन्। मानिसहरु भौतिवादी बन्दै गएका छन्। जसरी पनि आफ्ना आवश्यकता पूरा गर्न मानिसहरु लागिपरेका छन् त्यसरी नै आवश्यकता पूरा गर्ने बहानामा अपराधका घटनाहरु दिनदिनै बढिरहेको आभाष हुन्छ।

पारिवारिक अपराधका कारण मानिस घर परिवार र समाजबाट एक्लिदै गएको छ। हिजो अपराधका घटना हुँदा ग्याङ फाइटजस्ता घटनामा टाढाका मानिसहरु संलग्न हुन्थे भने अहिले भने यस्ता घटनामा नजिककै मानिसहरु संलग्न हुन थालेका छन्। यसो हनुका पछाडिको कारण परिवारबीचमै खटपट हुनु, सम्बन्ध बिग्रनु, एकले अर्कालाई शंका उपशंका गर्नु जस्ता कारणले पारिवारिक कलह र अपराधका घट्नाहरु शंकको भर मा क्रम बढ्दो छ।

मानसिक समस्या बढ्दै जाँदा लागुपदार्थको कुलतमा परेको व्यक्तिबाट मानसिक समस्यासमेत हुँदा अञ्जानवश पनि अपराध गर्न सक्छ। तर यस्ता अपराध कानुनको दृष्टिमा क्षम्य हुँदैन। पाँचथर, ललितपुर तथा भक्तपुरमा भएको  पाविारिक अपराधमा कुलतमा लागेर मानसिक समस्याका कारण घटेको देखिन्छ।

व्यक्तित्वसँग जोडिएको समस्या, साइकोपाथको समस्या भएको व्यक्तिले पनि घरपरिवारमै अपराध गर्न सक्छ। साइकोपाथ एक प्रकारको समस्या हो
वैदेशिक रोजगारीको कारणले अहिले हाम्रा समाजमा पारिवारक फाटो बढाएको छ। सँसगै श्रीमान श्रीमतीवीच शंका उपशंका, परपुरुष  र परस्त्री गमनका जटील विषयमा घरपरिवारभित्र शंका उपशंका उत्पन्न हुँदा यस्ता अपराधहरु जन्मने गरेका छन्।

प्रतिशोधले अपराधलाई जन्माउँछ
माधव आचार्य
अपराधशास्त्री

१६ देखि २५ वर्ष उमेर समूहका व्यक्तिहरुबाट बढी अपराध हुने गरेको छ। त्यसमाथिका मानिसहरुबाट अपराध हुँदैन भन्ने होइन। १६ देखि २५ बर्षको उमेर समूह भनेको निकै चञ्चले र अपरिपक्व समय हो यसबेला मानिसका मनमा विभिन्न खाले संवेगहरु उत्पन्न हुने गर्छन्।

सिलसिलेवार अपराधको कारण हुन्छन्। त्यसकै एकै कारण अपराध ग-यो होला भन्ने हुँदैन। लामो द्वन्द्वबाट आएका हामीले अपराधको विविध पक्षलाई नियाल्नु पर्ने हुन्छ। संक्रमणकालमै छौँ, त्यसले जे जति उथलपुल ल्यायो, कानुन भंग गर्ने, अलिअलि मनोमानी गर्ने, छाडापन देखाउने जस्ता विकृतिलाई मद्दत ग-यो। साथसाथै मानिसमा एक प्रकारको अहंम पनि बढ्यो। जसका कारण लामो समयसम्म संयमता अपनाउन सकिएन वा धैर्य गर्न नसक्दा र प्रतिशोधको भावाना पनि यससँगै जोडिएर आएका छन्। प्रतिशोधले अपराधलाई जन्माउँछ।

यौन हिंसामा प्रविधिको धेर थोर प्रभाव रहेको छ। घरेलु हिंसा भन्नाले कुटपिट, अमर्यादित व्यवहार, यौनहिंसा सबै पर्छन्। यसमा धेरैजसो पीडित महिला नै हुने गरेका छन्। महिलाहरु आर्थिक रुपमा सक्षम नहुनु, शैक्षिक चेतनास्तर कमजोर हुनु, त्यो अवस्थामा यो हिंसा सहनयोग्य होइन। महिलामाथि पारिवारिक शोषण हुने हुँदा राज्यले सेक्टर हाउसको व्यवस्था गर्नुपर्छ जसका कारण उनीहरु सुरक्षित हुन सकून्। तर राज्यले कानुनी प्रक्रियामा लैजाँदा कतिपय अवस्थामा प्रतिशोधको भावनाले त्यस्ता महिला झन् बढी पीडित हुने अवस्था पनि आएको छ। महिलाहरु आर्थिक रुपमा सक्षम भएको स्थानमा घरेलु हिंसा कम हुने गरेका छन्। यस्तो हिंसा कम गराउन आर्थिक रुपमा सबल र शैक्षिक चेतनाको स्तरमा वृद्धि गरिनुपर्छ। जहाँ अल्पशिक्षा छ, जहाँ आर्थिक परनिर्भता छ, त्यहाँ जुनसुकै कारणले पनि हिंसा हुने गरेको छ। अहिले कञ्चनपुरकै घटना हेर्ने हो भने पनि त्यहाँकही न कही आर्थिक परनिर्भता र चेतनाको स्तर कमजोर भएको परिवारमाथि बज्रपात पारिएको छ। समाजिक अपराधमा वृद्धि भएको सत्य हो। जनतामा चेतनाको स्तर वृद्धि भएका कारण पनि प्रहरीमा यस्ता उजुरी बढ्को छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारलाई हेर्ने हो भने सामाजिक अपराधको वृद्धिदर निकै बढेको छ।

पहिले यौनसँग सम्बन्धित घटनाहरु आपसमै मिलाइने गरिन्थ्यो। अहिले सामाजिक चेतनास्तरमा वृद्धि भएका कारण प्रहरीमा उजुरी बढेको छ भने सञ्चारमाध्यममा पनि बढी समाचारहरु आउने गरेका छन्। यस्ता अपराध बढ्नु र प्रहरीमा उजुरी आउनुमा विविध कारणहरु रहेका छन्। जस्तो कि प्रहरीको निगरानी कम हुनुले अपराध बढेको र शक्तिका आडमा कानुन हातमा लिन सकिन्छ भन्ने भयो भने अपराधीले प्रश्रय पाएको देखिन्छ।

त्यस्तै कहिलेकाहीँ आवेश प्रेरित अपराध पनि हुने गरेको छ। प्रहरी प्रशासन फितलो छ, राजनीतिक नेतृत्व असफल भयो भने तथा कर्मचारी प्रशासन फेल भयो भने त्यस्तो अवस्थामा अपराध बढी हुन्छ। गरिबी, आर्थिक अभाव, यौन मनोविज्ञान जस्ता कुराले अपराधले प्रश्रय पाएको छ। अहिले देखिएका बलात्कार हत्या, एसिड हान्ने जस्ता जघन्य अपराध यसैको शृंखला हो।

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग
नेपाल प्रहरीले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै आएको छ।

प्रहरीले अपराधमा सबुत परिक्षणलाई थप वैज्ञानिक बनाउनका लागि डिएनए ल्याबको स्थापना गरी सञ्चालनमा ल्याइरहेको छ। त्यस्तै लागु औषध परिक्षणका लागि ग्यास क्रोमाटोग्राफी मास स्पेक्ट्रोमिटर (जिसिएमएस), हाई प्रेसर थिन लेयर क्रोमाटोग्राफी (एचपीटीएलसी), यूभी–स्पेक्ट्रोफोटोमिटर, एफटीआइआर उपकरण जडान गरेको छ।

दश लाख फिंगरप्रिन्ट भण्डार गर्न सक्ने एएफआइए (अटोमेटिड फिंगर प्रिन्ट आइडेन्टिफिकेशन सिस्टम) जडान गरी ३४ वटा मुद्दा हेर्ने इकाइमा लाइभ फिंगरप्रिन्ट इन्रोलमेन्ट स्टेशन जडान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले हाल धरानमा क्षेत्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला स्थापना गरी सञ्चालनमा पनि ल्याइसकेको छ।

मिसिल अभिलेख र अभियोजन प्रणालीलाई सुदृढ गर्न नेपाल प्रहरीका मुद्दा दायर गर्ने २०६ इकाइमा मिसिलको विद्युतिय अभिलेखिकरण (केस फाइल डिजिटलाइजेशन) सफ्टवेयर चरणवद्ध रुपमा सञ्चालनमा ल्याई ५६ जिल्ला प्रहरी कार्यालय, पाँच वटा महानगरीय प्रहरी वृत्त, केन्द्रीय अनुसन्धान ब्युरो तथा लागु औषध ब्युरो समेत गरी ६३ प्रहरी कार्यालयमा सफ्टवेयर पूर्ण रुपमा सञ्चालन गरिरहेको छ। थप पाँच कार्यालयमा यही वैशाखदेखि विद्युतीय अभिलेखीकरण सुरु गरिन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

केन्द्रीय आपराधिक अभिलेख प्रणालीलाई व्यवस्थित गर्न प्रहरीले सिआरएस डाटा इन्ट्री गर्ने कार्यलाई निरन्तरता दिँदै हाल पाँच प्रदेश, ५८ जिल्ला र उपत्यकाका आठ वटा युनिटमा समेत गरी ७१ कार्यालयमा सिआरएस सफ्टवेयर इन्स्टल गरेको छ।  आपराधिक सूचना प्रणालीलाई व्यवस्थित बनाउने नीतिअनुसार छुटेका एक लाख भन्दा बढी मुद्दालाई सेन्टर क्रिमिनल डाटाबेसमा समावेशका लागि २७/५४ परियोजना सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad