७ वैशाख २०८१ शुक्रबार
अर्थ

सशस्त्र प्रहरीलाई अत्याधुनिक उपकरण दिएर सीमानामा खटाइने

काठमाडाैं– अर्थमन्त्री डा. युवराज खतिवडाले सीमा निरीक्षण र सुरक्षालाई अझ राम्रो बनाउन टाढा टाढासम्म निगरानी गर्न सक्ने उपकरण शसस्त्र प्रहरीलाई उपलब्ध गराउने बताएका छन्।  एक ठाउँमा बसेर केही किलोमिटर परसम्मको गतिविधि निरीक्षण गर्नसक्ने अवस्था सिर्जना हुने खतिवडाले बताए। 'सीमानामा आवागमन सहज र निर्वाध भए पनि सामानको आवतजावत भने निर्वाध होइन।' उनले भने।

त्यस्तै, अर्थमन्त्री खतिवडाले राष्ट्रिय पूँजी निर्माणका लागि उद्योग विस्तार गर्नेगरी सरकारले भन्सार सम्बन्धी नीति ल्याएको दावी गर्दै त्यसले उपलब्ध गराएको सुविधाको सदुपयोग गरेर अघि बढन पनि निजी क्षेत्रको ध्यानाकर्षण गराए। बिहीबारबाट काठमाडौंमा सुरु भएको 'भन्सार व्यवस्थापन’ सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै उनले उद्योग विस्तारका लागि आयात गर्ने बस्तुहरुको करमा छुट दिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे। अर्थमन्त्री खतिवडाले राष्ट्रिय उद्योगको संरक्षणका लागि सरकारले कर छुटसम्बन्धी थुप्रै नीति लिएको उल्लेख गर्दै त्यसको उपयोग गरेर अघि बढन पनि निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे। उनले मुलुकमा औद्योगिक क्षेत्रको विस्तारका लागि सरकारले भन्सार प्रणालीमा पनि सुधारको प्रयासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले चोरी, पैठारी नियन्त्रण गर्न पनि सम्वद्ध सबै पक्षलाई सचेत गराए। कार्यक्रममा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले खुला सीमा भएको क्षेत्रमा चोरी, पैठारी नियन्त्रण गर्न चुनौती रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सुरक्षा निकायको उचित व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए। उनले भन्सार प्रशासनमा सुधार ल्याउने काममा सुधार हुँदै गएको दाबी पनि गरे।

महानिर्देशक दंगालले देशका मुख्यमुख्य नाकासहित २४ वटा भन्सार कार्यालयको आर्थिक गतिविधि बैंकिङ कारोबारबाट सुरु गरिएको पनि जानकारी दिए।

प्रकाशित: १६ श्रावण २०७६ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App