४ वैशाख २०८१ मंगलबार
समाज

मध्यरातमा एनटिसी र एनसेलका टावरमा आगजनी

बुटवल— गयराति रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र पूर्वी नवलपरासीमा एनसेल र एनटिसीको टावरमा आगजनी गरिएको छ। रुपन्देहीको गैडहवा गाउँपालिका–२ को सानो धुपहीमा रहेको एनसेल टावरमाथि अज्ञात समूहले आगजनी गरी क्षति पु-याएको छ।

राति करिब १२ बजेको समयमा टावरमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्चार्ज ईश्वर कार्कीले बताए। आगजनीबाट तारहरु जलेर क्षति पुगेको उनको भनाइ छ। उनका अनुसार  टावरको अन्य भागमा क्षति पुगेको छैन। टावरनजिकको बस्तीका स्थानीयले आगो दन्किएको देखेपछि राति प्रहरीलाई खबर गरेका थिए।

अर्घाखाँचीमा भने एनटिसीको टावरमा आगजनी गरिएको छ।  पाणिनी गाउँपालिका–५ मा रहेको एनटिसी  टावरमा  अज्ञात समूहले आगजनी गरी क्षति पु¥याएको अर्घाखाँची प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका अनुसार मट्टीतेल प्रयोग गरी आगजनी गरिएको र आगजनीबाट बिटिएस बक्समा क्षति पुगेको छ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८, हरिहरपुरको एनसेल टावरमा पनि आगजनी भएको छ। सुतलीको बोरा र घुर जम्मा गरेर टावरको तारहरु भएको स्थानमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी देवेन्द्र पाण्डेले बताए।

पूर्वी नवलपरासीको कावासोती नगरपालिकास्थित मगरटोलमा रहेको एनसेल टावरमा पनि गयराति आगजनी गरिएको छ। नवलपरासीमा पनि मट्टितेल बोरा र घुर जम्मा गरेर आगजनी गरिएको प्रहरीले जनाएको छ।

आगजनीबाट टावर नजिकै रहेको जेनेरेटरमा पूर्णरूपमा क्षति पुगेको छ। बस्ती नजिकै रहेको टावरमा आगजनी भएलगत्तै स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणामा लिइएकाले ठूलो क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी अर्जुन रानाभाटले बताए।

यी सबै घटना रातको साढे ११ देखि साढे १२ बजेभित्रको समयमा भएको प्रहरीले जनाएको छ। एनसेलले सरकारलाई तिर्नुपर्ने कर नतिरेको भन्दै केही महिना अघि विप्लव समूहले यसै गरी एनसेल टावरमा आगजनी गरेको थियो। गयराति गरिएका आगजनी पनि विप्लव समूहले नै गरेको हुन सक्ने बताइएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ श्रावण २०७६ ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App