रौतहट - चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को कार्यालयमा भएको आगजनी र वडाध्यक्ष बोधनाथ देवकोटाको घरमा ढुंगामुढा प्रहारमा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रेव प्रसाद मैनाली, रामबहादुर घिसिङ र मान बहादुर वाइवा छन्।
एक जनाको भने नाम खुलेको छैन। एक जनालाई बिहीबार दिउँसो पक्राउ गरिएको थियो भने तीन जना गए राति पक्राउ परेका हुन्। उनीहरु विप्लवको नेकपा जिल्ला तहका नेता हुन्। पक्राउ परेका उनीहरुको साथबाट हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्किका अनुसार उनीहरुको साथबाट मेड इन चाइना लेखिएको पेस्टोल, पेस्तोलमा लाग्ने नाइन एम एम को पाच राउन्ड गोली, एक थान कटुवा पेस्तोल, तीन राउन्ड गोली र बम बनाउन प्रयोग हुने सकेट लगायतका दस्तावेज बरामद गरिएको छ।
बुधबार बागमतीसहितका जिल्लामा आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा वडा कार्यालयमा आगजनी गरिएको थियो भने वडाध्यक्ष देवकोटाको घरमा ढुंगामुढा प्रहार गरिएको थियो। साथै वडा कार्यालय नजिकै बम समेत राखिएको थियो।
वडा कार्यालयमा आगजनी भएपछि उनीहरुको खोजी तीब्र पारिएको थियो। रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले भने, हामीले हिजैबाट ठूलो संख्यामा प्रहरी परिचालन गरेका थियौं। हिजो र आज गरी चार जनालाइृ पक्राउ गरेका छौं।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ। एसपी खत्रीका अनुसार उनीहरुलाई केही बेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने छ।
प्रकाशित: १६ श्रावण २०७६ ०४:१९ बिहीबार