८ वैशाख २०८१ शनिबार
खेल

ब्रुनाईलाई जिते नेपाल समूह विजेता

काठमाडौं-विजय सुरुआत गर्न सकेको भए नेपाली टोली पहिलो खेलबाटै एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनल पुग्ने थियो। तर, नेपालले चाहेको नतिजा निस्केन।

पाँच वर्षअघि नेपालले लगातार दुई खेलमा हराएको टिमोर लिस्टेसँग शनिबार गोलरहित बराबरीमा चित्त बुझाउनुपर्‍यौ। त्यो बराबरीले नेपाललाई अब अर्को चरण पुग्न समीकरणतर्फ पनि सोच्नुपर्ने अवस्थामा पुर्‍योइदियो । यद्यपि नेपालले मंगलबार साझ (सवा ५ बजे)  हुने खेलमा ब्रुनाईलाई हराउन सके अरु समीकरणबारे बुझ्नुपर्ने छैन । तर ब्रुनाई र नेपालले जसरी प्रतियोगिताको सुरुआत गरेका छन्, त्यसका आधारमा नेपालले समीकरणलाई पुरै बेवास्ता गर्न सक्दैन ।

मंगलबार हुने दुईखाले नतिजाले नेपाललाई सेमिफाइनल पुग्न सहज हुनेछ । त्यसबाहेक खराब नतिजाबारे आँकलन गर्दा कमभन्दा कम गोल खाएर खेल सक्याउनु हुनेछ । पहिलो खेलमा टिमोर लिस्टेलाई ४–० ले हराएको ब्रुनाई अर्को नतिजालगत्तै सेमिफाइनल प्रवेश गरेको थियो । नेपाल र टिमोर लिस्टेको बराबरीको नतिजाले ब्रुनाईलाई अन्तिम खेलअघि नै सेमिफाइनल पु¥याइएको थियो । त्यस अर्थमा नेपालको दाँजोमा ब्रुनाईमाथि दबाब कम छ । उनीहरूसँग अबको एउटा लक्ष्य भनेको समूह विजेता बन्नु हुनेछ । नेपाललाई जित्न सकेन भने पनि बराबरीले ब्रुनाई समूह ‘ए’ को विजेता हुँदै सेमिफाइनल भिड्नेछ ।

नेपालको हकमा भने ब्रुनाईलाई हराउन सके समूह विजेता र बराबरी हुँदा समूह उपविजेता भएर सेमिफाइनल पुग्नेछ । तर, टिमोर लिस्टेले भन्दा बढी अन्तरमा ब्रनाईलाई नतिजा सुम्पेमा भने नेपाल प्रतियोगिताबाट बाहिरिने छ । ३ गोलअन्तरको हारले नेपाल अगाडि बढ्न सक्दछ ।

नेपालले टिमोरसँग जुन खालको प्रदर्शन ग¥यो त्यसमा सन्तोष गर्ने कुनै ठाउँ छैन । नवयुग श्रेष्ठ अपेक्षाअनुसार चल्न नसक्दा नेपालको फरवार्ड लाइन निकै फितलो देखियो । जापानी प्रशिक्षक ग्याटुको कोजीको भनाइ मान्ने हो भने मिडफिल्डले पनि खासै राम्रो साथ दिन सकेन ।

पहिलो खेलको प्रदर्शनमा सुधार गर्न नसके ब्रुनाईसँग नेपाल निकै दबाबमा रहनेछ । मंगलबारको खेलमा भने सबैभन्दा बढी दबाब नेपाली टोलीमा हुनेछ । छनोट भइसकेको भन्दा छनोट हुन बाँकी टोलीमा नै बढी दबाब हुने हो ।

प्रशिक्षक कोजीले ब्रुनाईसँगको खेलअघि सम्हालिएर प्रतिक्रिया दिएका छन् । उनले खेलाडीको भन्दा पनि मैदानको अवस्थाले प्रदर्शनमा फरक पार्ने बताएका छन् । ‘मैदानमा धेरै कुरा निर्भर हुन्छ । टिमोर लिस्टेसँगको खेलमा मैदान भिजेको थियो,’ उनले भने, ‘त्यसैले हाम्रो प्रदर्शन धेरै त मैदानमा निर्भर गर्दछ । तर हामीले जुनसुकै परिस्थितिमा पनि खेल्नुको विकल्प छैन । हामीले सुधारिएको प्रदर्शन गर्नै पर्दछ ।’

उनले लामो समय खेलाडीले सँगै नखेलेका कारण टिमोरसँगको खेलमा टोली सेट हुन नसकेको बताए । ‘यहाँ आएर अभ्यास गरेका छौं । एउटा खेल पनि खेल्यौं । आशा गरौं सेट मिल्नेछ । हाम्रो समस्या मिडफिल्डर र स्कोरिङमा छ,’ उनले थपे, ‘हाम्रो मुख्य लक्ष्य भनेको प्रदर्शनमा सुधार गर्नु नै हो । पहिलो खेलमा भन्दा दोस्रो र दोस्रोभन्दा तेस्रोमा प्रदर्शनमा उत्कृष्ट हुनुपर्दछ।’

प्रशिक्षक कोजीले ब्रुनाईलाई केही फाइदा रहेको औंल्याए । ‘उनीहरूलाई पाँच दिनको आराम मिल्यो । हामीले दुई दिनपछि नै खेल्नुपर्नेछ,’ उनले भने, ‘हामीलाई अर्को खेलको तयारी गर्न  समय कम भयो ।’

ब्रुनाईका कोरियाली प्रशिक्षक क्वानले नेपालविरुद्ध क्षमताअनुसार प्रदर्शन गर्न प्रयास गर्ने बताए । ‘नेपाल बलियो टोली हो । उपाधि दाबेदारमध्ये एक हो । तर हामी ती सबै खासै चासो राख्दैनौं,’ उनले भने, ‘अर्को समूहमा निस्केको अप्रत्याशित नतिजा जस्तो निस्कन नदिने हाम्रो लक्ष्य हो ।’

उनले पहिलो रोजाइका खेलाडी उतार्नेमा भने शंका रहेको संकेत गरे । उनका अनुसार पहिलो खेलमा मैदान भिजेका कारण धेरै खेलाडीको गोलीगाँठामा समस्या देखियो ।

‘सम्भव भएसम्म हामी पूरा तयारी साथ उत्रन्छौं । हाम्रा धेरै खेलाडीको गोलीगाँठामा समस्या भएको छ। उनीहरूको चोट ठिक हुन समय लाग्छ । हामी सेमिफाइन पुगिसकेका छौं,’ उनले थपे, ‘त्यसैले धेरै जोखिम उठाउन ठिक हँुदैन । हामी खेलाडी पूर्ण रूपमा फिट भएको चाहन्छौं । हाम्रो अर्को उद्देश्य भनेको खेलाडीलाई जोगाउनु पनि हुनेछ ।’

नेपाल र ब्रुनाईबीच अहिलेसम्म एकपटक भेट भएको छ । सन् २००६ मा एएफसी च्यालेन्ज कपको समूह चरणमा नेपाल २–१ ले पराजित भएको थियो । ब्रुनाईसँग पुरानै नतिजालाई निरन्तरता दिन बाध्य हुने कि नयाँ इतिहास रच्ने त्यो वर्तमान नेपाली टोलीको प्रदर्शनमा निर्भर गर्नेछ ।

प्रकाशित: २३ कार्तिक २०७३ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App