७ वैशाख २०८१ शुक्रबार
अर्थ

कृषिको १३ करोड फिर्ता

सर्लाही सदरमुकाम मलंगवास्थित कृषि ज्ञान केन्द्र। तस्बिर : टंक/नागरिक

सर्लाही - नेपाललाई कृषि प्रधान देशको रुपमा चिनिन्छ। त्यसमाथि तराई त झन मुलुककै अन्न भण्डार तथा विभिन्न नगदेबाली उत्पादनका लागि उर्वर भूमि नै हो। तराईभित्रै पर्ने सर्लाहीमा धान, गहुँलगायत खाद्यबाली तथा उखु, गोलभेंडा, आलुलगायत नगदे बाली उत्पादनमा उर्वर छ। त्यस्तै महोत्तरी पनि खाद्यबाली एवं उखु उत्पादनमा अग्रणी छ।

प्रदेश २ सरकारले कृषि क्षेत्रमार्फत नै प्रदेशको समृद्धि प्राप्त गर्न सकिने बताउँदै आएको छ। विडम्बना प्रदेश सरकारबाटै कृषि उत्पादनमा अब्बल मानिएका दुवै जिल्लाका लागि आएको करोडौं बजेट भने खर्च हुन नसकीफिर्ता भएको छ। दुवै जिल्लामा कृषि, पशुपालनलगायत क्षेत्रमा विभिन्न कार्यक्रम गर्न आर्थिक वर्ष ०७५÷७६ मा आएको झन्डै १३ करोड रकम फिर्ता भएको हो।

सर्लाही र महोत्तरी हेर्ने कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख राजिव यादवले १५ करोडभन्दा बढी बजेटको अख्तियारी आए पनि कार्यक्रम गर्न नसकिएकाले १३ करोड हाराहारी रकम फिर्ता भएको जानकारी दिए। ‘अहिले नै यकिन हिसाब त निस्किसकेको छैन,’ उनले भने, ‘कर्मचारीको तलब भत्ता र केही सानातिना कार्यक्रमबापत साढे दुई करोड हाराहारी मात्र खर्च गर्न सक्यौं।’

गत वैशाखदेखि कार्यालय प्रमखविहीन हुँदा र कार्यालयमा जनशक्ति अभावले कार्यक्रम गर्न नसकिएको निमित्त प्रमुख यादवको कथन छ। ‘गत वैशाखमा कार्यालय प्रमुख प्रदिप ठाकुर सरुवा भएर जानुभयो, त्यसपछि प्रदेश सरकारबाट अर्को कार्यालय प्रमुख पनि पठाइएन र आर्थिक अधिकारसहितको निमित्त प्रमुखको जिम्मेवारीसमेत दिन ढिलाइ भयो,’ यादवले भने, ‘जेठ अन्तिमतिर मात्र मैले आर्थिक अधिकारसहितको निमित्त प्रमुखको जिम्मेवारी पाएँ, त्यसैले ठूलाखाले कार्यक्रम गर्नै सकिएन।’

दुईवटा जिल्ला हेर्ने कार्यालयमा आफूसहित तीनजना प्राविधिक सहायक, तीनजना कार्यालय सहयोगी मात्र रहेकाले छोटो समयमा ठूलाखाले कार्यक्रम गर्न नसकिएको निमित्त प्रमुख यादवले बताए। यादवका अनुसार कार्यालयले अनुदानमा बिउ वितरण, साना सिँचाइअन्तर्गत दुई सय १२ थान विद्युतीय मोटर वितरण, किसानलाई तालिम गोष्ठीलगायत केही सानाखाले कार्यक्रम मात्र गरेको छ।

साना सिँचाइअन्तर्गत कृषि उपकरण वितरण, सहकारी सिँचाइ कार्यक्रम, बजार सेड निर्माण, बगर खेती, कृषि मेला एवं महोत्सव आयोजनालगायत किसान लाभान्वित हुने ठूला कार्यक्रम हुन नसकेको कार्यालयले जनायो। प्रदेश सरकारको कृषि मन्त्रालयबाट माघतिरै बजेटको अख्तियारी आए पनि कार्यालय प्रमुखको स्थायित्व नहुँदा र कार्यालयमा काम गर्ने दक्ष एवं पर्याप्त जनशक्ति नहुँदा बजेट खर्च गर्न नसकिएको निमित्त प्रमुख यादवले बताए।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले मुलुकको समृद्धिका लागि अग्रणी भूमिका निर्वाह गर्ने कृषि क्षेत्र तथा कर्मठ किसान सधैं मारमा परिरहेको बताउँछन्। सिँचाइ सुविधाबाट वञ्चित हुनुपर्ने, मलखाद नपाउने, बिउविजन नपाउने, उचित मूल्य नपाउने, बिक्री गरिएको नगदे बालीको समेत वर्षौंसम्म भुक्तानी नपाउने लगायत समस्या झेल्दै आएका किसानका लागि आएको करोडौं बजेटसमेत कार्यक्रम नै हुन नसकी फिर्ता हुनु विडम्बना भएको अध्यक्ष मैनालीले गुनासो गरे।

‘प्रदेश २ को समृद्धिका लागि पहिलो विकल्प कृषि उत्पादन नै हो,’ मैनालीले भने, ‘तर कृषि क्षेत्रमा कार्यक्रम गर्न आएको प्रदेश सरकारकै यति धेरै बजेट त्यसै फिर्ता हुन्छ भने प्रदेशले कसरी समृद्धि प्राप्त गर्न सक्छ ?’ सधैं संघीय सरकारलाई यावत आरोप लगाउने प्रदेश सरकारले समेत कृषि क्षेत्र र किसानको हितमा गम्भीर भएर नलागेको मैनालीको आरोप छ।

प्रकाशित: १६ श्रावण २०७६ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App