६ वैशाख २०८१ बिहीबार
समाज

ठग गाइडले पर्यटक मर्कामा

ललितपुर-विभिन्न ऐतिहासिक र पुरातात्विक स्थल भ्रमणमा जानकारी र सूचनासहित पर्यटकलाई सघाउने दक्ष पथ प्रदर्शक (गाइड)को अभावमा आफू ठगिएको पर्यटकले गुनासो गरेका छन्।

सामान्य अध्ययन र अंग्रेजी बोल्न सक्ने मात्र होइन गाइडलाई इतिहास, संस्कृति, राजनीति, जैविक विविधता, पर्यटक घुमाउने क्षेत्रको जनजीवन, रहनसहनलगायत विविध ज्ञान हुनुपर्छ । यतिमात्र होइन उनीहरूले पर्यटकको मनोविज्ञान बुझेर व्यवहार गर्न कुशल हुनुपर्छ । गाइड पर्यटकसँग नम्र व्यवहार गर्ने, नझुक्याउने, गलत सूचना नदिने, बढी रकम नअसुल्ने हुनुपर्छ ।

सहजकर्ताका रुपमा देशका विभिन्न स्थानको अवलोकन गराउने गाइडले विदेशी पर्यटकलाई झुक्याउने र गलत सूचना प्रवाह गरेको पाइएको छ । केही गाइडले जानेर र केहीले नजानेर गलत जानकारी र सूचना दिएका हुन् । एक महिनाअघि ललितपुर पाटनको अवलोकन गराउन पर्यटक लिएर आएका एक गाइड मनोज थपलिया (नाम परिवर्तन)ले पर्यटकलाई गलत जानकारी र सूचना दिएका थिए ।

उनले पाटन दरबारको सुन्दरी चोकलाई सिद्धिनरसिंह चोक, मूल चोकलाई मूर्तिचोक र गरुडको मूर्तिलाई सिद्धिनरसिंहको मूर्ति भन्ने गरेको र दरबारमा जति वटा झ्याल छन् त्यति नै राजा सिद्धिनरसिंहका रानी थिए भन्दै पर्यटकलाई गलत जानकारी दिएका थिए ।

एक साताअघि नागरिक दैनिकका प्रतिनिधिले पाटन दरबार क्षेत्र अवलोकनमा आएका इजरायलका अर्ली केनेथसँग कुराकानी गर्दा गाइडले गलत जानकारी दिएको खुलासा भएको थियो । कुराकानी क्रममा उनले भने, ‘पाटन दरबार क्षेत्रबारे धेरै पहिलादेखि नै जान्दै बुझ्दै आएको छु, तर कहिलेकाहीँ आफैंलाई घुमाउने गाइडले हामीलाई जानकारी भएको विषयमा समेत गलत जानकारी र सूचना दिँदा दुःख लाग्छ ।’

आफूले अवलोकन गरेको क्षेत्रबारे जानकारी बटुल्न पर्यटक गाइडको मात्र भर पर्दैनन् । उनीहरु बाहिरी व्यक्तिसँग पनि जानकारी लिन्छन् । कतिपय पर्यटक आफैं पनि अध्ययन अनुसन्धान गर्ने हुँदा उनीहरू पनि गाइडले ढाँटेको र झुक्याएको सजिलै थाहा पाउँछन् ।

‘सबै गाइड यस्ता छैनन् तर केही गाइड पर्यटकसँग फाइदा लिन अनेकौं झूठ बोल्छन् । शनिबार पाटन संग्रहालयभित्र भेटिएका मंगलबजारका निररत्न शाक्यले भने, ‘ऐतिहासिक क्षेत्रमा पर्यटकलाई अवलोकन गर्न ल्याउँदा गाइड त्यस क्षेत्रको जानकार हुनुपर्ने हो तर हचुवाका भरमा पर्यटक घुमाउन हिँड्छन् । सातादिनअघि एक जना गाइडले पाटनको भीमसेन मन्दिरलाई विश्वेश्वर महादेवको मन्दिर हो भन्दै अवलोकन गराएका रहेछन् । पयर्टकबाट यस्ता गुनासाहरु आइरहेका हुन्छन्।’

पर्यटन विभागका नायब सुब्बा ज्ञानेन्द्र श्रेष्ठका अनुसार अहिले नेपालमा वर्षेनी ३ सयभन्दा बढी व्यक्ति पर्यटक गाइडको लाइसेन्स लिने गरेका छन् ।

गाइड लाइसेन्स लिन नेपाल पर्यटन होटल व्यवस्थापन तालिम केन्द्रबाट तालिम उत्तीर्ण भएपछि मात्र विभागले लाइसेन्स दिन्छ । विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ९ सयले पर्यटन गाइडको अनुमतिपत्र लिएका छन् ।

केही व्यक्तिले अनुमतिपत्र नै नलिई पर्यटक घुमाउने पनि गरेको लामो समयदेखि पथ प्रदर्शन गर्दै आएका शिव मुखिया बताउँछन् । उनी भन्छन्, ‘अनुमतिपत्र नलिई पर्यटक घुमाउनेको संख्या अहिले बढेको छ । उनीहरूबाटै गलत जानकारी र सूचना पाउनुका साथै पर्यटक ठगिएका पनि छन् ।’

यसरी कतिपय व्यक्तिले चिनजानको भरमा पर्यटक घुमाउँदा यस्ताबाट नै पर्यटकले सबैभन्दा बढी दुःख र गलत जानकारी पाउँछन् । पर्यटक ढाँट्ने, ठग्ने प्रवृत्तिले नेपाली पर्यटन क्षेत्रबारे विदेशमा नकारात्मक सन्देश जाने र पयर्टक संख्या घट्दै जाने सम्भावना छ । सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने गाइडले नै पर्यटक ठग्न थालेपछि विदेशमा त्यसको गलत सन्देश जाने बताउँछन् अर्का गाइड सुनिल शर्मा ।

 

प्रकाशित: २३ कार्तिक २०७३ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App