७ वैशाख २०८१ शुक्रबार
समाज

नर्सिङ भर्ना कोटामा भागबन्डा

ओखलढुंगा - ओखलढुंगा स्कुल अफ हेल्थ साइन्सका सञ्चालकले भर्ना कोटामा भागबन्डा गरेका छन्।  सञ्चालकहरूले ६० प्रतिशत कोटा छुट्टाएर बाँकी प्रतिस्पर्धाका लागि राखेको पाइएको छ।  यो संस्थामा नर्सिङ अध्ययनका लागि २० जनाको कोटा छ।  जसमध्ये १२ कोटा बिनाप्रतिस्पर्धा भर्ना गर्न छुट्टाइएको छ।  सञ्चालक समितिका सदस्यहरुले कोटा निर्धारण गरेका हुन्।  बाँकी आठ कोटामा भर्नाका लागि प्रतिस्पर्धा गराइनेछ।

ओखलढुंगा सामुदायिक अस्पतालले सञ्चालन गरेको स्कुल अफ हेल्थ साइन्सका सञ्चालक समितिको साउन ८ गते बसेको बैठकले कोटा निर्धारण गरेको हो।  बैठकको निर्णय अनुसार सिटिइभिटी कर्मचारी १, अस्पतालमा कार्यरत कर्मचारी अपग्रेड १, सिद्धिचरण नगरपालिका २, उद्योग वाणिज्य संघ ओखलढुंगा २, छात्रावृत्ति २, अनमी १ र पुरुषतर्फ ३ वटा कोटा भागबन्डा गरिएको छ।  बाँडफाँट कोटामा सिटिइभिटी र सिद्धिचरण नगरपालिकाको कोटा रिक्त रहेमा सामुदायिक अस्पतालमा कार्यरत कर्मचारीका छोराछोरीलाई भर्नामा प्राथमिकता दिने निर्णय समितिले गरेको छ।

ओखलढुंगा स्कुल अफ हेल्थ साइन्सका अध्यक्ष विनयकुमार मिश्र, सिद्धिचरण नगरपालिकाका मेयर तथा समिति सदस्य मोहनकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष तथा समितिका सदस्य ज्ञानेन्द्रकुमार श्रेष्ठ, सामुदायिक अस्पताल ओखलढुंगाका निर्देशक तथा समित सदस्य डा. रोशन खरेलले कोटा भागबन्डा गरेका हुन्।

सञ्चालक समितिको यो निर्णयले गाउँठाउँमै नर्सिङ शिक्षा पढ्न पाउने सपना बुनेका सर्वसाधारण् विद्यार्थी मारमा पर्ने भएका छन्।  सञ्चालक समितिको निर्णयबाट पहुँच नभएका साधारण विद्यार्थीले नर्सिङ पढ्न नपाउने देखिएको गुनासो एक स्थानीयले गरे।  सञ्चालक समितिले मनोमानी रुपमा आफू अनुकूल कोटा भागबन्डा गरेर सर्वसाधारणलाई नर्सिङ पढ्नबाट वञ्चित गर्ने निर्णय गरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन्।  सबै कोटामा प्रतिस्पर्धाका आधारमा भर्ना हुने व्यवस्था हुनुपर्ने स्थानीय सूर्यप्रकाश राइले बताए।

समितिका सदस्यले काडमाडौंमा बसेर यस्तो निर्णय गरेको बुझिएको छ।  योग्यता पुगेका सबैले प्रतिस्पर्धाका आधारमा भर्ना पााउने वातावरण बनाउन जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठले समितिलाई सुझाव दिएका छन्।  कोटा कसकसलाई दिने भन्ने विषयमा सञ्चालक समितिले निर्णय गर्ने विषय भएकाले भागबन्डा गरिएको ओखलढुंगा स्कुल अफ हेल्थ साइन्स सञ्चालक समिति अध्यक्ष मिश्रले बताए।

प्रकाशित: १६ श्रावण २०७६ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App