coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तीन सम्पदा पुनर्निर्माण पूरा

भक्तपुर-गत वर्षको भूकम्पमा ध्वस्त ऐतिहासिक तीन सम्पदा पुनर्निर्माण सकिएको छ। भक्तपुर नगरपालिका र पुरातत्व विभाग दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरले ध्वस्त तीन सम्पदा पुनर्निर्माण सम्पन्न गरेका हुन्। भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने ऐतिहासिक मुख्यद्वार खौमा द्वार र ५५ झ्याले दरबारको दक्षिण पूर्वी कुनामा रहेको नारायण मन्दिर पुनर्निर्माण सम्पन्न गरेको हो । पुरातत्व विभाग दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरले नगर प्रवेश गर्नासाथ देखिने अग्लो बद्रीनारायण मन्दिर  पुनर्निर्माण गरेको हो ।

पुरातत्व विभाग दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले दरबार क्षेत्रको अग्लो बद्रीनारायण मन्दिर पुनर्निर्माण सम्पन्न गरेको जनाए । ‘अब केही दिनभित्रै चाँगुनारायण मन्दिर पुनर्निर्माण पनि सुरु हुन्छ,’ उनले नागरिकसँग भने, ‘अहिले पनि भक्तपुर दरबार क्षेत्रस्थित अग्लो फसीदेग, दक्षिणबाराही, सिद्धिलक्ष्मी, अनन्तलिंगेश्वर मन्दिर पुनर्निर्माण भइरहेको छ ।’

भक्तपुर नगरपालिका–१३ का वडा सचिव गणेशराम सुवालले ऐतिहासिक खौमा द्वार करिब ३४ लाख रुपैयाँमा पुनर्निर्माण भएको जानकारी दिए । नाकाबन्दी खुलेसँगै सुरु परियोजना सम्पन्न भएको उनले बताए । 

काठमाडौं महानगरपालिकाले राजधानीको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा पुरातात्विक मान्यता र मापदण्डविपरीत सिमेन्ट र छडलगायत आधुनिक निर्माण सामग्री प्रयोग गरेकोमा सर्वत्र आलोचना भइरहेको बेला यहाँका सम्पदा भने परम्परागत सामग्रीबाटै पुनर्निर्माण गरिएका छन् । राणाशासन कालमा निर्माण भएका अन्य सम्पदाजस्तै सुर्खी चुनको प्रयोग गरी सम्पदा पुनर्निर्माण गरिएको छ ।

भूकम्पमा भक्तपुरका ८ सय ६० वटा सम्पदा क्षतिग्रस्त भएका थिए । भक्तपुर नगरपालिकाका अनुसार १ सय ७२ वटा मन्दिर, १९ मठ, ३७ सत्तल, २ सय ५६ पाटी, ८८ ढुंगेधारा, २ सय ५२ इनार र ३६ वटा पोखरीमध्ये १ सय १६ वटा क्षतिग्रस्त भएका थिए । भूकम्पबाट विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्रका अधिकांश सम्पदा क्षतिग्रस्त भएका थिए ।

प्रकाशित: २३ कार्तिक २०७३ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App