७ वैशाख २०८१ शुक्रबार
समाज

सडकमा हिँड्नै मुस्किल

धादिङ - छिनमै टन्टलापुर घाम र छिनमै मुसलधारे पानी।  कतै खाल्डाखुल्डी कतै भाँसिएको सडक।  बर्खा लागेसँगै ग्रामीण सडकमा यस्तै अवस्था देख्न सकिन्छ।  एकातिर जथाभावी खोलिएका शाखा सडकले संरचना नै कुरूप बनाएको छ भने अर्कातिर यात्रामा कठिनाइँ भएको छ।  सदरमुकाम धादिङबेंसीदेखि ग्रामीण भेगतर्फ जाने सडकमा यात्रा गर्न सकस हुन थालेको छ।

धादिङका प्रत्येक स्थानीय तहले सडकलाई नै पहिलो प्राथमिकतामा राखी बजेट विनियोजन गरेका छन्।  अघिल्लो वर्ष पनि सडक निर्माण तथा स्तरोन्नतिमा करोडौं लगानी गरेका थिए तर त्यो माटोमा मिसिएको गंगाजमुना गाउँपालिकाका स्थानीय सुशीला श्रेष्ठले बताइन्।  ‘करोडौं लगानी गरेर हिउँदमा ट्र्याक खोल्यो, स्तरोन्नति ग¥यो।  बलियो र दिगो नहुँदा बर्खाले लैजाने गरेको छ,’ उनले भनिन्, ‘बर्खाको भेलले सडकको संरचना नै ध्वस्त बनाइदिन्छ। ’

भिरालो जमिनमा एक्साभेटर, ब्याकलोडर जस्ता उपकरण प्रयोग गरेर जथाभावी खनिएका सडकमा बाढीपहिरोको जोखिम बढेको छ।  सडक निर्माण गर्ने नाममा जथाभावी डोजर चलाउँदा पहिरोको जोखिम बढेको श्रेष्ठले बताइन्।  ‘सबैको आवश्यकता सडक हुन्छ, आफ्नो गाउँमा सडक आयो, खुसी हुन्छन्,’ उनले भनिन्, ‘भविष्यको सोच गर्दैनन्, अनि गाडी होइन, पैदल हिँड्न पनि समस्या हुने गरेको छ। ’

जिल्लाका अधिकांश ग्रामीण बस्ती कच्ची सडक पार गरेर जानुपर्ने हुन्छ।  यी बस्तीमा जान वर्षा लागेदेखि नै सवारी आवतजावत बन्द भएको छ।  धादिङबेंसी–सांकोष–तिप्लिङ सडकखण्ड, आदामघाट–किरान्चोक सडक, धार्के–सीतापाइला सडक, बैरेनी–सुत्केरीढुंगा–कार्की डाँडालगायत ठाउँमा निर्माण सुरु हुँदै गरेको बाटो पानीले बिगारेको छ।  बाटो बिग्रिएका कारण सवारीसाधन चल्न सकेका छैनन्।  सामान्य वर्षा सुरु हुँदादेखि नै सडकमा सवारी चल्न नसक्दा ग्रामीण भेगमा खाद्यान्नलगायत सामान लैजान कठिन भएको छ।

प्राविधिक दृष्टिले उच्चजोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजीले एकातिर गाउँलाई कुरूप बनाएको छ भने जोखिम पनि उत्तिकै बढाएको छ।  गाउँगाउँमा सडकको पहुँच पु¥याउने होडबाजीका साथ निर्माण भएका सडक न त प्राविधिक रूपमा मापदण्ड पूरा गरेका छन् न त स्तरीय नै।  तापनि ग्रामीण तथा कृषि सडकका नामले सडक विस्तार गर्ने काम रोकएको छैन।

मापदण्ड पूरा गर्दै स्तरीय सडक निर्माण गर्नुको सट्टा गाउँमा बाटो पु¥याउने प्रतिस्पर्धा हुँदा जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको नीलकण्ठ नगरपालिकाका नरबहादुर लम्सालले बताए।  सडक निर्माणका लागि सरकारी निकाय तथा सडक विभागले लाखौं खर्च गरेको भए पनि सडक भने हिलाम्मे हुने गरेको छ।  हिउँद महिनामै सडकको स्तरोन्नति गर्नुपर्ने भए पनि बर्खा लागेपछि मात्रै काम सुरु गर्नाले पनि सडकको अवस्था झन् बिग्रिने गरेको उनले बताए।  ‘हिउँदभर जथाभावी भित्तो भत्काइयो, माटोको व्यवस्थापन र संरक्षण गर्न ध्यान दिएनन्,’ उनले भने, ‘लाखौं खर्च गरेर बनाइएका सडक बर्खा लागेपछि हिलाम्मे बनेर गाडी त परै जाओस् पैदल हिँड्नसमेत समस्या छ। ’

दैनिक सयभन्दा बढी सवारीसाधन चल्ने जिल्लाका ग्रामीण क्षेत्रमा अहिले सवारीसाधन सञ्चालन ठप्प हुन पुगेको छ।  यातायात सञ्चालनमा आउन नसक्दा यात्रु समस्यामा परेका छन्।  यातायात सेवा सञ्चालन भएका ठाउँमा पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

वर्षा लागेपछि गन्तव्यमै नपुगिएला कि भन्ने डर हुने गरेको स्थानीयको भनाइ छ।  दक्ष प्राविधिक जनशक्तिको कमी, कमजोर भूगोल, जनदबाबका कारण सडक आयोजनालाई व्यवस्थित बनाउन चुनौती भएको जनप्रतिनिधिहरूको भनाइ छ।

प्रकाशित: १६ श्रावण २०७६ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App