coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भत्केको तटबन्ध मर्मत नहुँदा स्थानीय त्रसित

रौतहट - बाढीले बागमती र लालबकैया नदीको तटबन्ध भत्काएको दुई साताभन्दा बढी भइसकेको छ। भत्केको तटबन्धको मर्मत कतैबाट नहुँदा स्थानीय त्रसित देखिएका छन्। पुनः बाढी आउँदा गाउँ नै बगाउने त्रासले स्थानीय चिन्तित देखिएका हुन्।

गत असार २७ र २८ गतेको बाढीले लालबकैया नदीको पूर्वी–पश्चिमी तटबन्ध ९ स्थानमा भत्काएको थियो। स्थानीयले पटकपटक तटबन्ध मर्मत गरी बाढीको त्रासबाट जोगाउन सम्बन्धित निकायसँग आग्रह गरे पनि बजेटको अभाव देखाई चासो नदिँदा स्थानीयमा पुनः बाढीको त्रास देखिएको हो। लालबकैया नदीमा आएको ठूलो बाढीले गौर नगरपालिकाको महादेवपटीमा ३२ मिटर, देवाही गोनाही नगरपालिकाको दोहरटोलमा २ सय २५ मिटर, करुनियामा ४२ मिटर, कटहरियामा १ सय ५५ मिटर, बुनियादमा ३७ मिटर, लक्ष्मीपुरमा २७ मिटर तेजापाकडमा ४ सय ४२ मिटर, इनर्वामा ६० मिटर र वैरियामा २ सय मिटर गरी ९ स्थानमा तटबन्ध पूर्ण रूपमा बगाएको थियो।

नदीको दुईतर्फी बाँध भत्किँदा सो भेगका बासिन्दा बाढी र डुबानको चपेटामा परी जनधनको ठूलो क्षति बेहोर्न बाध्य भए पनि भत्किएका बाँध मर्मत गर्नेतर्फ राज्यबाट ध्यान नदिएको गुनासो परोहाका शिक्षक शेख जमिल अख्तरको रहेको छ।

यसैगरी इनर्वाका बासिन्दा दिलीप यादवले संघीय सरकारले रौतहटका बाढीपीडितका लागि खासै ध्यान नदिएको आरोप लगाए। उनले भने, ‘लालबकैया र बागमती नदी दुवै संघीय सरकारको मातहतमा रहेको तर मर्मत गर्न बजेट नपुगेको बहाना संघीय सरकारले बनाएको छ।’ तेजापाकड, इनर्वा, लक्ष्मीपुर, समनपुरसहितका केही स्थानमा सम्बन्धित नगरपालिकाको लगानीमा मर्मत कार्य भइरहेको छ। उक्त कार्यका लागि बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालयबाट प्लास्टिकको डोरी र बोरा उपलब्ध गराउँदा भत्किएका उक्त स्थानमा स्पर बनाई मर्मत भइरहेको बौधिमाई नगरपालिकाका मेयर रविरञ्जन यादवले जानकारी दिए।

बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालयका प्रमुख राजकुमार श्रीवास्तवले गत आवमा नयाँ कार्यालय स्थापना भएको हुँदा बजेट विनियोजित नभएकाले बजेटको अभाव रहेको बताएका छन्। उनले बाँधको मर्मत गर्न माथिल्लो निकायमा पत्राचार गर्दा पनि बजेटको अभावमा मर्मतसम्भार हुन नसकेको दाबी गरेका छन्। बाढीबाट लालबकैया र बागमती नदीमा भएको क्षतिबाट तटबन्धको संरचना ध्वस्त हुँदा करिब ५ करोडको स्टिमेट ऊर्जा तथा सिँचाइ मन्त्रालयमा पठाए पनि दुवै नदीको बाँध मर्मत गर्न १३ करोडभन्दा बढी रकम खर्च हुने प्राविधिक रिपोर्ट आएको प्रमुख श्रीवास्तवले जानकारी दिएका छन्। प्रमुख जिल्ला अधिकारी किरण थापाले बकैया र बागमती नदीको भत्किएको संरचना अविलम्ब मर्मत गराई स्थानीयलाई बाढी र कटानको त्रासबाट मुक्ति दिलाउन स्थानीय तहका मेयरहरूसँग आग्रह गर्दा केही नगरपालिका अग्रसर भएर बाँध मर्मत र बाँस पाइलिङ गरी स्पर बनाउने कार्य भइरहेको र स्थानीयको सहयोग पनि भइरहेको जानकारी दिएका छन्।

प्रकाशित: १६ श्रावण २०७६ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App