७ वैशाख २०८१ शुक्रबार
समाज

लागुपदार्थ कारोबारमा नयाँ प्रयोग

चितवन - इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले गत सोमबार राति रत्ननगर नगरपालिका–२ बाट ४३ किलो चरेस नियन्त्रणमा लियो। चरेससहित ७० वर्षीया भारतीय महिला पक्राउ परिन्। छोरीको घरमा बस्दै आएकी भारत मोतीहारी घर भएकी नुातुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ७० वर्षीय महिला चरेससहित पक्राउ पर्दा प्रहरीसमेत अचम्मित भए । चरेस राखिएको भाँडा र कारोबारका लागि लैजाने तरिकाले समेत प्रहरीलाई चकित बनायो।

७० वर्षकी महिला चरेस कारोबारमा संलग्न छिन् भनेर शंका गर्न नै नसकिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एक नारायण कोइराला बताउँछन्। यसअघि चरेस प्याकेट बनाएर, चक्लाको रूपमा चरेस फेला पर्ने गरेकोमा यो पटक जर्किनमा भेटिएको कोइरालाले बताए।

‘चरेसलाई बाक्लो लेदो बनाएर चारवटा जर्किनमा राखेको भेटियो। यसरी कसैले जर्किनमा चरेस ओसारपसार गर्छ भनेर सोचिएको थिएन,’ कोइरालाले भने, ‘यो लागुपदार्थ ओसारपसार गर्ने नयाँ तरिका हो ।’ प्रायः प्याकेट बनाएर भारत लैजादै गर्दा चरेस फेला पर्ने गथ्र्यो। तस्करी गर्ने यो नयाँ तरिका र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत असार १७ गते प्रहरीले राप्ती नगरपालिका–४ बाट दुई सय २० किलो गाँजा बरामद गरेको थियो। टिपरमा गाँजा ल्याउँदै गरेको अवस्थामा प्रहरीले टिपर र चालकलाई समेत नियन्त्रणमा लियो। यसअघि मोटरसाइकल, स्कुटर, बोलेरो, अटो रिक्सामा लागुपदार्थ ओसारपसार हुने गरेको भेटिए पनि टिपरमा भेटिएको थिएन।

चितवन प्रहरीले गत मंसिर ९ गते लागुऔषध र लागुऔषध बिक्री गरेर आर्जन गरेको पाँच लाख ८० हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको थियो। भरतपुर महानगरपालिका–२ को समीचोकबाट पक्राउ परेका उनीहरूका साथबाट प्रहरीले डाइजिपाम दुई सय ७१ एम्पुल, सोही परिमाणमा ब्युप्रिनर्फिन र फेनारगन बरामद भएको थियो। त्यसैगरी, प्रहरीले नारायणगढको न्युरोडमा जाँच गर्दा स्कुटरमा सवार दुईजनाको साथबाट एक सय ९५ ट्याब्लेट नाइट्रोजेपाम बरामद ग-यो। पक्राउ परेकाले दिएको जानकारीपछि प्रहरीले गैंडाकोटको एक घरमा लुकाइराखेको डाइजिपाम एक सय १५ एम्पुल, सोही परिमाणको ब्युप्रिनफिन र फेनारगन, नाइट्रोजेपाम एक हजार पाँच सय ट्याबलेट, स्पास्मो प्रोक्सिभन ४८ क्याप्सुल, फेन्सिडिल ११ बोतल र रिफ सिरप चार बोतल फेला पारेको थियो। कारोबारमा संलग्न थप तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो। कपडामा फल्स पकेट बनाएर, शरीरमा टेपले बेरेर, झोला, गाडीमा भित्र लुकाएरसमेत लागुऔषधको ओसारपसार हुँदै आएको प्रवक्ता कोइराला बताउँछन्।

आर्थिक वर्ष २०७५÷०७६ मा चितवन प्रहरीले लागुऔषधसम्बन्धी ८८ वटा मुद्दा चलाएको छ। त्यसमा संलग्न अभियुक्त एक सय ७१ जनामध्ये एक सय ५९ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। एक वर्षको यस अवधिमा प्रहरीले डाइजिपाम एक हजार दुई सय ७० एम्पुल, ब्युप्रिनफिन एक हजार दुई सय ५४ एम्पुल, फेनारगन एक हजार दुई सय ६९ एम्पुल, नाइट्राजेपाम चार हजार आठ सय २९ ट्याबलेट, खैरो हेरोइन ५९ ग्राम, पाँच सय ३७ किलो गाँजा, ४४ किलो चरेस, स्पास्मो प्रोक्सिभन ४८ क्याप्सुल, फेन्सिडिल एक हजार पाँच सय एमएल बरामद गरेको छ। यो अवधिमा प्रहरीले राप्ती नगरपालिकाका विभिन्न स्थानका १३ बिघामा लगाइएको गाँजासमेत नष्ट गरेको थियो।

आर्थिक वर्ष २०७४/०७५ मा चितवनमा लागुऔषधसम्बन्धी ६२ वटा मुद्दा दर्ता भएका थिए। प्रहरीले ती घटनामा संलग्न ९६ मध्ये ९० जनालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो। सो आर्थिक वर्षमा प्रहरीले डाइजिपाम आठ सय ९९ एम्पुल, ब्युप्रिनफिन नौ सय चार एम्पुल, फेनारगन नौ सय २३ एम्पुल, नाइट्रोजेपाम दुई हजार नौ सय ८४ ट्याबलेट, खैरो हेरोइन ४५ ग्राम, गाँजा दुई सय ७२ किलो, स्पास्मो प्रोक्सिभन एक सय २२ क्याप्सुल, फेन्सिडिल आठ सय एमएल बरामद गरेको थियो।

बरामद हुने लागुऔषधको परिमाण पछिल्ला वर्षहरूमा बढ्दै गएको प्रहरी प्रवक्ता कोइराला बताउँछन्। यति धेरै परिमाणमा लागुऔषध बरामद हुने र मुद्दा चल्नेमा चितवन अग्रपंक्तिमै पर्ने उनले बताए। जिल्लामा लागुऔषध कारोबार र प्रयोगलाई न्यूनीकरण गर्न सेवनकर्ता र कारोबारीलाई कारबाहीको दायरामा ल्याउन चितवन प्रहरीले जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिएको छ।
 

१. प्रहरीले बरामद गरेको चरेस रहेको जर्किन ।
२. प्रहरीले गएको मंसिर ९ गते बरामद गरेको लागुऔषध र नगद। तस्बिरः जिल्ला प्रहरी कार्यालय चितवन ।

प्रकाशित: १६ श्रावण २०७६ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App