५ वैशाख २०८१ बुधबार
समाज

राप्रपा र राप्रपा संयुक्त एक हुँदै

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच पार्टी प्रक्रिया अघि बढेको छ।पार्टी एकीकरणका लागि दुवै पार्टीले आन्तरिक तयारी र छलफल अघि बढाएका छन्। राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आगामी दसैंसम्म पार्टी एकीकरण गर्नेगरी दुवै पार्टीबीच छलफल भइरहेको बताए।

राप्रपाले पार्टी एकीकरणसम्बन्धी निर्णय गर्न पार्टी अध्यक्ष कमल थापालाई अधिकार दिएको छ भने राप्रपा (संयुक्त)ले संयुक्त रूपमा पशुपतिशमसेर राणा र प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी दिएको छ। एकीकरणको जिम्मेवारी पाएका थापा, राणा र लोहनीले एक/दुईपटक अनौपचारिक छलफल गरेका छन् भने दोस्रो तहका नेताहरूले एकताको विषययमा छुट्टै छलफल गरेका छन्।

एकताको आधार राजसंस्था र हिन्दु राष्ट्र मान्न दुवै पार्टी तयार रहेको श्रेष्ठले बताए। उनले भने, ‘राजसंस्था र हिन्दु राष्ट्रलाई पार्टी एकताको आधार मान्नेगरी दुई पार्टीबीच एकीकरण प्रक्रिया सुरु भएको छ।’ स्रोतका अनुसार एकीकृत पार्टीमा ३ जना अध्यक्ष राख्नेमा करिब सहमति भएको छ। जसअनुसार थापा, राणा र लोहनी अध्यक्ष हुनेछन्। राप्रपाका सहयाक महामन्त्री राजेन्द्रवीर रायले दुई पार्टीवीच पार्टी एकताका लागि सैद्धान्तिक सहमति भएको बताउँदै एकतामा अब कुनै समस्या नरहेको दाबी गरे। उनले भने, ‘दुई पार्टीबीच एकीकरण आवश्यक छ भन्ने महसुस सबैलाई भएको छ। त्यसैले तत्काल एकतको सम्भावना छ।’

असार ६,७ र ८ गते बसेको राप्रपा केन्द्रीय समितिको बैठकले समान विचार राख्ने पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको थियो। यो निर्णयसँगै राप्रपा (संयुक्त)सँग पार्टी एकीकरण गर्न राप्रपाले बाटो खुला गरेको थियो। राप्रपाकोका निर्णयपछि राप्रपा(संयुक्त)को साउन ९ गते बसेको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले समान विचार राख्ने पार्टीसँग पार्टी एकता गर्ने राप्रपाको निर्णयलाई स्वागत गरको थियो। त्यसपछि साउन १३गते बसेको राप्रपाको कार्यसम्पादन समतिकिोे बैठकले राप्रपा (संयुक्त)को निर्णयलाई स्वागत गरेको थियो ।‘अहिले दुई पार्टीबीच एकअर्कोले गरेको निर्णयलाई स्वागत गर्ने काम भइरहेको छ। योसँगै अन्य विषयमा सहमति जुटाउने काम पनि अनौपचारिक रूपमा भइरहेको छ,’ श्रेष्ठले भने।

राप्रपामा एकता र फुट भने नयाँ विषय होइन। यसअघि पनि राप्रपा पटकपटक फुटेको छ भने पटक पटक जुटेको पनि छ। हरेक पटक राप्रपाका नेताहरू अब कहिले नफुट्ने गरी एकता गर्दै छौं भन्ने गर्छन् तर त्यसको केही समयपछि नै पार्टी फुटाउने पनि गरेका छन्। यसपटक पनि राप्रपा र राप्रपा (संयुक्त)का नेताहरूले फेरि नफुट्नेगरी एकता गर्छौ भनेका छन्। राप्रपाका एक नेता भन्छन्, ‘यसपटक राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण भयो भने यो एकीकरण पाँचौ एकीकरण हो ।’ केही समयअघि मात्र राणाले नेतृत्व गरेको तत्कालीन राप्रपा (प्रजातान्त्रिक ) र लोहनीले नेतृत्व गरेको राप्रपा (राष्ट्रवादी)बीच एकीकरण भई राप्रपा (संयुक्त) गठन गरिएको थियो।

प्रकाशित: १६ श्रावण २०७६ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App