७ वैशाख २०८१ शुक्रबार
समाज

ओलाङचुङसँग जोडिँदै सिगात्से

दुई वर्षअघि स्थानीय र नेपाल सरकारको लगानीमा ओलाङचुङगोलाबाट रिउतर्फ सडकको ट्र्याक खोल्दै रिउ बजारका निर्माण व्यावसायी र निर्माण उपकरण। फाइल तस्बिर: खगेन्द्र/नागरिक

ताप्लेजुङ - उत्तरी छिमेकी देश चीनको प्रमुख व्यापारिक केन्द्र सिगात्सेसँग ताप्लेजुङको ओलाङचुङगोला नाका सडक सञ्जालले जोडिने भएको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका ६ सुकेटारबाट विस्तार भइरहेको उत्तर–दक्षिण लोकमार्गको रानीपुल–ओलाङचुङगोला खण्ड निर्माणको जिम्मा पाएको एसडी एलाइट जेभीले सडकको ट्र्याक खोल्ने कार्यलाई गोला र लेलेप दुवै खण्डबाट अघि बढाउन ऐतिहासिक सहमति जुटाएको छ। अहिले लेलपको लुङथुङसम्म ट्र्याक खुलेको छ।

‘अब दुवैतर्फबाट ट्र्याक खोल्ने कार्य अघि बढ्ने छ’, एसडी एलाइट जेभी निर्माण कम्पनीका मुख्य प्रतिनिधि पेम्बा शेर्पाले भने। लुङथुङबाट गोलासम्मको करिब २२ किलोमिटर ट्र्याक खोज्न बाँकी छ। सुकेटारबाट–ओलाङचुङगोला ९२ किलोमिटरमध्ये ७० किलोमिटरको ट्र्याक खुलिसकेको छ। यो सडकखण्डको नियमन गर्ने सडक योजना कार्यालयका डिभिजनल इन्जिनियर रामबहादुर गुरुङले गोला र लेलेप दुवैतर्फबाट ट्र्याक खोल्ने निश्चित भएकाले अब पूर्वको समृद्धिको ढोका खुल्न लागेको जानकारी दिए। उनका अनुसार गोलाबाट लुङथुङतर्फ १० किलोमिटर र लुङथुङबाट गोलातर्फ १२ किलोमिटर सडकको ट्रयाक खोल्ने काम अघि बढाउने गरी योजना तयार भएको छ। ‘गोलाबाट लुङथुङतर्फको सडकको ट्र्याक खोल्न चीनको स्वशासित क्षेत्र तिब्बतको रिउ बजारस्थित तिउकान्टीका स्थानीयसँग भएका निर्माण उपकरण प्रयोग गरिनेछ। त्यसका लागि रिउ प्रशासनको संयोजनमा तिउकान्टीका स्थानीयसँग समझदारी बनिसकेको छ’, इन्जिनियर गुरुङले भने।

एसडी एलाईट जेभीले तीन वर्षभित्र काम सक्ने गरी ट्र्याक खोल्न ठेक्का पाएकोमा अब दुई वर्ष बाँकी छ। समयअघि नै काम सक्ने सोच रहेको निर्माण कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेले बताए। यो लोकमार्ग राष्ट्रिय गौरवको आयोजनामा समावेश भएकाले बजेटको कमी पनि हुनेछैन। पहिले ट्र्याक खोल्ने र पछि स्तरोन्नति गर्ने निर्माण कम्पनीको योजना छ।

सडक निर्माण सम्पन्न भएपछि पूर्वको समृद्धिको ढोको खोलिने विश्वास स्थानीयले गरेका छन्।

सात महिनामै नेपाल–तिब्बत सीमानाका टिपतालाबाट करिब २५ किलोमिटर दूरीमा रहेको ओलाङचुङगोलासम्मको ट्र्याक खोलेर ख्याति कमाएका तिउकान्टीका स्थानीय निर्माण व्यवसायीलाई नै गोलाबाट लुङथुङतर्फको ट्र्याक खोल्न जिम्मा दिइएको छ। ‘उनीहरुले यो जिम्मेवारी स्वीकार गरिसकेका छन्’, डिभिजनल इन्जिनियर गुरुङले भने। सुरुमै टिपतालापास सडक खण्ड, लेलेप–गोलाको बीच भाग र लेलेपबाट गोलातर्फको सडकखण्ड खण्डीकरण गरी लेलेप–टिपतालापास सडक खण्डलाइ तीन भागमा विभाजन गरेर ट्र्याक ओपन तथा स्तरोन्नति अघि बढाउने योजना थियो। प्रकृयागत ढिलासुस्ती र देशको शासकीय स्वरुपका कारण यो लोकमार्ग कहिले १ नं. प्रदेश सरकार त कहिले संघीय सरकारमातहत पुगेपछि अन्योल उत्पन्न भएको थियो। संघीय मन्त्रिपरिषद्को गत माघ दोस्रो साताको बैठकले यो लोकमार्गलाई प्रदेश सरकारबाट संघीय सरकारमातहत ल्याएपछि अन्योल अन्त्य भएको थियो।

टिपतालाबाट तिब्बती बजार रिउसम्मको ८ किलोमिटर सडक तिब्बतले बनाइसकेको छ। टिपताला–गोला सडकखण्डको करिब २५ किलोमिटर दूरीमा पनि ट्र्याक खुलिसकेको छ। लुङथुङबाट गोलासम्म सडक सञ्जाल जोडिनेबित्तिकै नेपाली भूमिबाट सबैभन्दा छोटो दूरीमै दक्षिण एसियाकै प्रमुख व्यापरिक सहर सिगात्सेसँग व्यावसायिक सम्बन्ध स्थापित हुने फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङ बताउँछन्। उनका अनुसार सिगात्से रिउ बजारबाट ६५ किलोमिटर टाढा पर्छ। रिउको अञ्चल प्रशासनिक एकाइ नै सिगात्से हो, जसलाई तिब्बतीले तोन्छी भन्छन्। यस्तो अवस्थामा सिगात्सेबाट रिउ ६५ किमि, रिउबाट टिपताला ८ किमि, टिपतालाबाट गोला २५ किमि र गोलाबाट ताप्लेजुङ ९२ किमि गरी जम्मा १ सय ९० किमि दूरी पर्छ। ताप्लेजुङबाट विराटनगरसम्मको दूरी १ सय १४ किलोमिटर छ। यो मदन भण्डारी मार्ग नाम दिइएको बहानन्दे–दोभान–साँघु–गुफा–वसन्तपुर–हिले–धनकुटा हुँदै जाने रुट हो। विराटनगर–धरान–मूलघाट हुँदै दोभानसम्म पुग्ने तमोर करिडोरको बाटो योभन्दा छोटो पर्छ। तमोर करिडोरमार्फत सिगात्से पुग्न ३ सय ३१ किलोमिटर र मदन भण्डारी मार्ग हुँदै सिगात्से पुग्न ३ सय ७७ किलोमिटर दूरी छिचोल्नुपर्नेछ। अहिले दुवै सडक सरकारको उच्च प्राथमिकतामा परेर निर्माण भइरहेका छन्।

हुम्दिमामा नेपालीलाई व्यावसायिक अवसर

तिब्बतको रिउ प्रशासन हरेक बस्तीमा व्यावसायिक बजार विस्तारको योजना बुनिरहेको छ। हुम्दिमा यस्तै दृष्टिकोणबाट विकास गरिएको एउटा बजार हो। ताप्लेजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दावा शेर्पा र कोषाध्यक्ष विकास गौतमसहितको टोलीसँग रिउ पुगेर फर्किएका वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीका अनुसार तिब्बतको रिउ प्रशासनले हुम्दिमामा नेपाली व्यापारीको लागि २ सय घर व्यवस्थापन गरिदिनेछ। निर्माण हँुदै गरेका ती भवनमा व्यापार गर्न चाहने नेपालीलाई ती वर्षका लागि निःशुल्क खाने–बस्ने र पसल गर्ने ठाउँ व्यवस्था गरिएको जानकारी रिउ प्रशासनले गराएको अधिकारीले बताए। हुम्दिमा ताप्लेजुङ–रिउ सीमानाका टिपतालाबाट र संखुवासभाको किमाथाङ्का नाकाबाट करिब ४० किलोमिटर टाढाको बस्ती हो।

प्रकाशित: १६ श्रावण २०७६ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App