८ वैशाख २०८१ शनिबार
समाज

भत्किएको तटबन्ध मर्मत नहुँदा स्थानीयमा त्रास

रौतहट– बाढीले बागमती र लालबकैया नदीको तटबन्ध भत्किएको दुई हप्ताभन्दा बढी भइसकेको छ। भत्किएको तटबन्धलाई भरपर्दो मर्मत गर्ने कामकतैबाट नहुँदा स्थानीय त्रासमा देखिएका छन्। पुनः बाढी आउँदा गाउँ नै बगाउने त्रासले स्थानीयबासी चिन्तित देखिएका हुन्।

असारको २७ र २८ मा आएको भीषण बाढीले लालबकैया नदीको पूर्वी पश्चिमी तट्बन्ध ९ स्थानमा भत्काएको थियो। स्थानीय बासिन्दाहरु पटकपटक भत्किएको तट्बन्धलाई मर्मत गरेर बाढीको त्रासबाट जोगाउन सम्बन्धित कार्यालय तथानिकायसँग आग्रह गरेपनि बजेटको अभाव देखाएर खासै चासो नदिँदा स्थानीयमा पुनः बाढीको त्रास देखिएको हो। तटबन्धको भरपर्दो मर्मत सम्भारको लागि कतैबाट सकारात्मक पहल नहुँदा स्थानीयमा त्रास बढेको हो।

लालबकैया नदीमा आएको ठूलो बाढीले गौर नगरपालिकाको महादेवपटीमा ३२ मिटर, देवाहीगोनाही नगरपालिकाको दोहरटोलमा २२५ मिटर, करुनियामा ४२ मिटर, कटहरियामा १५५ मिटर, बुनियादमा ३७ मिटर, लक्ष्मिपुरमा २७ मिटर तेजापाकडमा ४४२ मिटर, इनर्वामा ६० मिटर र वैरियामा २०० मिटर गरी ९ स्थानमा १हजार २२० मिटर तट्बन्ध पूर्ण रुपमा बगाएको थियो।

नदीको दुईतर्फी बाँध भत्ँिकदा सो भेगमा बसोबास गर्ने बासिन्दाहरु बाढी र डुवानको चपेटामा परेर जनधनको ठूलो क्षति वेहोर्न बाध्य भएपनि भत्किाएको बाँध मर्मत गर्नेतर्फ राज्यबाट ध्यान नदिएको गुनासो परोहाका शिक्षक शेख जमिल अख्तरको रहेको छ। शिक्षक अख्तर भन्छन्– बाढी कम भएपनि कटान मर्मत नहुँदा पुनः बाढी आउने डरले स्थानीय त्रासमा जोखिमपूर्ण जीवनयापन गर्न बाध्य छन्।

यसैगरी इनर्वाका बासिन्दा दिलिप यादवले संघीय सरकारले रौतहटका बाढी पीडितका लागि खासै ध्यान नदिएको आरोप लगाउँछन्। उनी भन्छन्– लालबकैया र बागमती नदी दुबै संघीय सरकारको मातहतमा रहेको तर मर्मत गर्न बजेट नरहेको बहाना देखाएर रौतहटका जनतालाई थप पीडा संघीय सरकारले दिएको छ। 

तेजापाकड, इनर्वा, लक्ष्मीपुर, समनपुरसहितका केही स्थानहरुमा सम्बन्धित नगरपालिकाको लगानीमा मर्मत कार्य भइरहेको छ। उक्त कार्य गर्नका लागि वागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालयबाट प्लाष्टिकको डोरी र बोरा उपलब्ध गराउँदा भत्किएका उक्त स्थानमा स्पर बनाई मर्मत कार्य भइरहेको बौधीमाई नगरपालिकाको मेयर रवीरंजन यादवले जानकारी दिएका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी किरण थापाको विशेष आग्रहमा बौधीमाईको इनर्वा र परोहाको तेजापाकडमा बाँस पाइलिंग गरेर स्पर निर्माण गरी खोलाको धार फर्काउने कार्य युद्ध स्तरमा भइरहेको छ। नदीमा बाढी आएर कटान सुरु गरेपछि नै आफूले जानकारी गराएको र बाँधलाई बगाएर लैजाँदा पनि नियन्त्रणका प्रमुखलाई फोनबाट जानकारी गराउँदा बजेट अभाव रहेको तर बाँध बचाउन प्लाष्टिकको जाली रबोरा जसरी भएपनि उपलब्ध गराउने आश्वासन दिएलगतै भत्किएको स्थानबाट खोलाको धार फर्काउने कार्य धमाधम गराइ राखेको मेयर यादवले स्पष्ट पारेका छन्।

यसैगरी परोहा नगरपालिकाको तेजापाकडमा भत्किएको ४४२ मिटर बाँधलाई मर्मत गर्ने कार्य तदरुक्ताका साथ भईरहेको बताउँदै सो नगरपालिकाको मेयर शेख वकिलले नदीका डिइसँग कुरा गर्दा बजेट नभएको भन्दा स्थानीय तहकै बजेटबाट बाँस पाइलिंग र स्पर बनाउने कार्य भएको हुँदा खोलाको धार बाहिर आउन नसकेको बताएका छन्। स्पर बनाउन तथा बाँध मर्मत गर्ने कार्यमा स्थानीय बासिन्दाहरुको सहयोगकै कारण धेरै सफलता प्राप्त भएको स्पष्ट पारेका छन्।

बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालयका प्रमुख राजकुमार श्रीवास्तवले गतआर्थिक बर्षमा नयाँ कार्यालय स्थापना भएको हुँदा बजेट विनियोजित नभएको कारण बजेटको अभाव रहेको बताएका छन्। बाँधको मर्मत गर्न माथिल्लो निकायमा पत्राचार गरिँदापनि बजेटको अभावमा मर्मत सम्भार हुननसकेको दाबी गरेका छन्।

बाढीबाट लाल बकैया र बागमती नदीमा भएको क्षतिबाट तट्बन्धको संरचना ध्वस्त हुँदा करिव ५ करोडको स्टिमेट उर्जा तथा सिंचाई मन्त्रालयमा पठाए पनि दुवै नदीको बाँधलाई मर्मत गर्न १३ करोडभन्दा बढी रकम खर्च हुने प्राविधिक रिपोर्ट आएको प्रमुख श्रीवास्तवले जानकारी दिएका छन्। आफनो स्तरबाट जति भएपनि उधारोमा बोरा र प्लाष्टिकको जालि लिएर बाँध जोगाउन पठाएको तर मर्मत गर्न समयमै बजेट आएमा मात्रै केही हुन सक्ने उनले स्पष्ट पारेका छन्।

प्रमुख जिल्ला अधिकारी किरण थापाले बकैया र वागमती नदीको भत्किएका संरचनाहरुलाई अविलम्ब मर्मत गराई जनताहरुलाई बाढी र कटानको त्रासबाट मुक्ति दिलाउन स्थानीय तहका मेयरहरुसँग आग्रह गरिँदा केही नगरपालिका अग्रसर भएर बाँध मर्मत, बाँस पाइलिंग गरी स्पर बनाउने कार्य भईरहेको र त्यस कार्यमा स्थानीय बासिन्दाहरुको सहयोग भईरहेको जानकारी दिएका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App