coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

अध्यागमन कार्यालय कामविहीन

भारतीय सीमा क्षेत्र पशुपतिनगरमा गत वैशाखमा औपचारिक उद्घाटन भइ अहिलेसम्म कामविहीन रहेको अध्यागमन कार्यालय। तस्बिरः भीम/नागरिक

इलाम– पूर्वीपहाडकै एकमात्र सहज भारतीय नाका मानिएको पशुपतिनगरमा अध्यागमन कार्यालय औपचारिक रूपमै खुलेको बुधबार ठीक ४ महिना भएको छ। तर, यतिका समयसम्म न यहाँ दरबन्दीअनुसार कर्मचारी आएका छन् न कार्यालयले कामै सुरु गरेको छ।

निकै ‘जोड’ गरिए पनि भारतपट्टि अध्यागमन कार्यालय खुल्न नसक्दा पशुपतिनगरमा निकै दबाबका साथ खुलेको अध्यागम कामविहीन भएको हो। सीमामा एकतर्फ मात्र अध्यागमन खुलेकाले ४ महिनासम्म यसले कुनै सुविधा दिन नसकेको हो। गत वैशाख १५ गते गृहमन्त्री रामबहादुर थापाले अध्यागमन कार्यालय उद्घाटन गरेका थिए। हेलिकप्टरमा पशुपतिनगर नै आएर मन्त्रीले तामझामपूर्ण उद्घाटन गर्दा स्थानीयलाई लागेको थियो–वर्षाैंदेखिको सपना अब पूरा हुनेभयो। कार्यालय उद्घाटन गर्दै गृहमन्त्री थापाले भनेका थिए– परराष्ट्र मन्त्रालयसँग कुरा गरेर भारतपट्टि पनि चाँडो अध्यागमन खुलाउन पहल गर्नेछु। भारतपट्टि अध्यागमन खुल्दा नेपाललाई मात्र होइन भारतलाई पनि फाइदा हुन्छ। उनले पूर्वीपहाडको यो ढोका पर्यटकको मात्र नभई मुलुककै विकास र समृद्धिको ढोका भएकाले स्थानीयले अत्यन्तै प्रतीक्षा गरेको अध्यागमन खुलाउन सरकार तयार भएको पनि बताएका थिए।

तर, एक, दुई हुँदै यतिका समय बित्दा पनि अवस्था उही रहेपछि स्थानीय चिन्तित छन्। ‘पशुपतिनगरबासीमात्र होइन, सिंगो इलामबासीले अत्यन्तै दुःख गरेर यो कार्यालय उद्घाटनसम्म हुँदा हामी निकै हर्षित थियौं,’ स्थानीय अगुवा मिलन क्षेत्रीले भने, ‘तर, कार्यालयले आज काम सुरु गर्ला, भोलि गर्ला भन्दाभन्दै ४ महिना बितिसक्यो, कार्यालय खेलिदिएर हाम्रो माग पूरा गरिदिएजस्तो मात्रै गरेको त होइन।’ उनले २०५७ साल असारमा पनि स्थानीय सीमा प्रशासन कार्यालयलाई अध्यागमनको काम गर्ने जिम्मेवारी दिइएको थियो। तर, त्यतिबेला पनि भारतपट्टि अध्यागमन नखुल्दा सीमा प्रशासनले अध्यागमनबारे केही काम गर्न नसकेको उनले बताए।

कार्यालयमा अध्यागमन अधिकृत, २ नायव सुब्बा, २ वरिष्ठ अध्यागमन सहायक, १ सहलेखापाल, १ अध्यागमन सहायक र २ कार्यालय सहयोगीको दरबन्दी छ। तर, अहिले सहायक कम्प्युटर अपरेटर र कार्यालय सहयोगी पनि करारमा मात्रै कार्यरत छन्। पशुपतिनगर अध्यागमनको समेत जिम्मेवारी लिएका झापाको काँकरभिट्टास्थित अध्यागन कार्यालयका अधिकृत जनक कोइरालाले कार्यालयमा सिर्जना गरिएका दरबन्दीमा पदपूर्ति नभएको र कार्यालयले काम सुरु पनि नगरेको बताए। ‘भारतपट्टि अध्यागमन नहुँदा हाम्रो मात्रै कार्यालयको काम हुँदैन,’ उनले भने, ‘काम नभएकैले दरबन्दी रिक्त रहेका हुन्।’ उनले कार्यालयको भौतिक व्यवस्थापनको काम भने गरिरहेको बताए।

कार्यालय उद्घाटन अवसरमा गृहमन्त्री थापाले ‘भिजिट नेपाल–२०२०’ मा २० लाख पर्यटक भिœयाउन पशुपतिनगर अध्यागमनले सघाउने पनि बताएका थिए। यो लक्ष्य हासिल गर्न अध्यागमन विभागले पछिल्लो वर्ष करिब दर्जन स्थानमा अध्यागमन खोलिसकेको पनि उनले उल्लेख गरेका थिए।

पशुपतिनगरको अध्यागमनले इलाम, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह«थुम, संखुवासभालगायत पूर्वी जिल्ला घुम्न आउने पर्यटक लाभान्वित हुनसक्छन्। ठूलो संख्यामा उतापट्टि (दार्जिलिङ, भारत) आएका पर्यटक पशुपतिनगरबाट पूर्वीपहाड भिœयाउन सकिने सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले बताए। ‘यहाँको अध्यागमनले इलामलाई मात्र होइन, पूर्वीपहाडका सबै जिल्लालाई सहयोग पुग्छ। तर, भारतपट्टि खुल्न नसक्दा अहिले कामबिहीन भएको छ,’ उनले भने, ‘भारतीय राजदूतले यहाँ आएका बेला पनि तत्काल भारतपट्टि अध्यागमन कार्यालय राख्न पहल गर्ने आश्वासन दिएर फर्किनुभएको थियो। अहिलेसम्म चाहिँ आश्वासनमै सीमित भएको छ।’

पशुपतिनगरमा अध्यागमन नहुँदा भारत भएर आउने तेस्रो मुलुकका पर्यटकले झापाको काँकडभिट्टा नाका प्रयोग गर्दैछन्। त्यहाँबाट भित्रिने अधिकतर पर्यटक इलाम नघुमी काठमाडौं, चितवन वा पोखरातिर लाग्ने गरेका छन्। नजिकैको दार्जिलिङसम्म पर्यटक घुमाउन ल्याउने त्यहाँका व्यवसायीले आधा घण्टाका लागि ‘नेपाल घुम्ने’ प्याकेजसमेत राखेका हुन्छन्। भारतीय पर्यटकलाई भिसा नलाग्ने भएकाले आधा घण्टाको समय पशुपतिगर आएर उनीहरू साधारण किनमेल गर्छन् र फर्किन्छन्। मुद्रा सस्तो हुने भएकाले भारतभन्दा कम खर्चमा इलामलगायत पहाडी जिल्लाका रमणीय स्थान घुम्ने रहर बोकेका तेस्रो मुलुकका पर्यटक चाहिँ सीमासम्म आएर फर्किने गरेका थिए।

इलामको सबैभन्दा अग्लो डाँडो सन्दकपुर (३ हजार ६ सय ३६ मिटर) पनि पशुपतिनगरबाट नजिकै पर्छ। विश्वको सर्वाेच्च शिखर सगरमाथा देखिने भारतको नेपालसँग जोडिएको एकमात्र द्वार सन्दकपुरमा भारतपट्टिबाट बर्सेनि हजारौं पर्यटक आउँछन्। त्यतिमात्र होइन, यहाँ बर्सेनि तेस्रो मुलुकका पर्यटन व्यवसायी संस्थाले पर्यटकका लागि ‘साइकल रेस कम्पिडिसन’समेत आयोजना गर्छन्। तर, त्यहाँसम्म आएका पर्यटक नेपाल छिर्न भने नपाएर उतै फर्किने गरेका छन्।

पशुपतिनगरमा अध्यागमन खुलाउन स्थानीय उद्योग वाणिज्य संघ, सरकारी तथा गैरसरकारी संघ–संस्था, स्थानीय अगुवा र पर्यटनसँग सरोकारवालाले वर्षाैंदेखि प्रयास गरेका थिए। पूर्वमा भारतसँग जोडिएका पाँचथर र ताप्लेजुङमा पशुपतिनगरजस्तो सहज भौगोलिक अवस्था छैन। त्यसैले पनि पशुपतिनगरको अध्यागमन पूर्वीपहाडकै पहिलो पनि हो।

यहाँको अध्यागमनलाई तेस्रो मुलुकका पर्यटकलाई १५, ३० र ९० दिनसम्मको प्रवेश भिसा जारीसहितका काम गर्ने अधिकार छ। अध्यागमन विभागका अनुसार यो कार्यालयले प्रवेश भिसा लिएर आएका विदेशीलाई आगमन अनुमति जारी गर्ने, यो नाका भइ प्रस्थान गर्ने विदेशीलाई प्रस्थान अनुमति दिने, विदेशीको आगमनसम्बन्धी विवरण अध्यावधिक राख्ने र अध्यागमनसम्बन्धी अभिलेख प्रत्येक साता विभागमा पठाउनुपर्नेछ। विभागले अन्य नाकाको भन्दा यहाँको पूर्वाधार राम्रो भएको र विभागले कार्यालयलाई अत्याधुनिक तथा प्रविधिमैत्रीसमेत बनाउँदै लैजाने जनाएको छ।’

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भारतपट्टि पनि अध्यागमन कार्यालय खुलाउन कूटनीतिक पहल भइरहेको बताए। ‘मन्त्रालयबाट पनि यसबारे चासो व्यक्त भइरहेको छ,’ उनले भने, ‘कोलकातास्थित महावाणिज्यदूतले पनि यसबारे पहल गरिरहेको जानकारी दिनुभएको छ।’

प्रकाशित: १५ श्रावण २०७६ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App