७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री दाहाल दिक्तेल आउने भएपछि...

खोटाङ– प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भएपछि खोटाङमा सुरक्षा तथा भौतिक व्यवस्थापन पक्षलाई तयारी हालतमा राखिएको छ।

प्रधानमन्त्री दाहाल मंगलबार बिहान साँढे ९ बजे हेलिकोप्टरबाट सदरमुकाम दिक्तेल आउने भएपछि सुरक्षा व्यवस्थापनका साथै हेलिप्याडदेखि जिविस हल जाने बाटो मर्मत, जिविसको प्रांगण सजावट, सभाहल व्यवस्थापनलगायतका काम गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए। मध्यपहाडी लोकमार्ग, जिल्लाको विकास तथा सेवा प्रवाहलगायतको अवस्था निरीक्षण अवलोकनका क्रममा प्रधानमन्त्री दाहाल खोटाङ आउन लागेको जनाइएको छ। नेपालकाे इतिहासमै प्रधानमन्त्री खाेटाङ अाउन लागेकाे याे नै पहिलाे पटक हाे।

जिविसको सभाहलमा हुने सर्वपक्षीय कार्यक्रममा प्रधानमन्त्री, सांसद, जिल्लास्थित राजनैतिक दलका नेता, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि लगायतबीचमा जिल्लाको विकास निर्माण र समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया हुने छ। स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले जिल्लाको विकास निर्माणको विषयमा ‘ब्रिफिङ’ गर्ने कार्यक्रममा जिल्लाबासीले प्रधानमन्त्री समक्ष जिल्लाको समस्यका बिषयमा छुट्टाछुट्टै मागहरु लिखितरुपमा पेश गर्ने प्रजिअ कार्कीले बताए। सोही कार्यक्रममार्फत प्रधानमन्त्री दाहालले सरकारी कार्यालय प्रमुखलाई सेवा प्रवाहका बिषयमा निर्देशन दिने छन्। सर्वपक्षीय छलफलपछि प्रधानमन्त्री दाहालले माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओबादी केन्द्र खोटाङकी सचिव दुर्गाजयन्ती राईले बताईन्। खानासँगै प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा अंगसँग पनि छुट्टै बस्ने कार्यक्रम छ।

पूर्वाधारको अवस्थाका विषयमा अवलोकन गर्दै प्रधानमन्त्री दाहाल दिक्तेलबाट संखुवासभासम्म पुग्ने कार्यक्रम रहेको जानकारी आएको प्रजिअ कार्कीलले जानकारी दिए।  

प्रकाशित: २२ कार्तिक २०७३ १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App