८ वैशाख २०८१ शनिबार
अर्थ

सुरुमा नमूना योजना, अहिले अलपत्र

नमूना भनेर विस्तार गरेर निर्माण गरिएको पूर्व–पश्चिम राजमार्गमा पर्ने रत्ननगरको सडक।तस्बिरः सविता/नागरिक

चितवन – चार लेनको बाटो, बीचमा दुई मिटर चौडाइको रोड डिभाइडर, डिभाइडरको दुईतर्फ सात मिटर चौडाइको मुख्य लेन, नाला, अनि सर्भिस लेन र हरियाली सहितको फुटपाथ।

झट्ट सुन्दा यो कुनै विकसित मुलुकको सडकको बयान गरे जस्तो लाग्छ। चितवनको पूर्व–पश्चिम राजमार्गमा पर्ने रत्ननगरमा यस्तै नमूना सडक बनाउने भनेर विस्तारको काम सुरु गरिएको थियो।  सडक साँच्नै नमूना बन्नेछ भन्ने रत्ननगरबासीलाई लागेको पनि थियो। तर यथार्थ त्यस्तो रहेन।

कार्यक्रम अनुसार रत्ननगरको निपनीदेखि टाँडी बजारको लौरीघोलसम्मको २.२ किलोमिटर राजमार्गलाई चार लेनको नमूना सडक बनाउने काम सुरु गरियो। १५ महिनाभित्र काम सक्ने गरी १९ करोड ७० लाख रुपैयाँको लागतमा २०७२ को असारबाट काम थालिएको थियो। तोकिएको समयभित्र काम पूरा नभएपछि थप दुई वर्ष लगाएर सडक निर्माण काम भयो। निर्माण सुरु भएर काम सकिएको भनिएको नमूना सडक अहिले अलपत्र बनेको छ। सडकको उत्तरतर्फ मात्र सर्भिस लेन बनाइएको छ।

दक्षिणतर्फ मुख्य लेन र नाला मात्र निर्माण गरेर सडक निर्माण सम्पन्न भएको निर्माणको जिम्मेवारी पाएको श्रेष्ठ कन्सट्रक्सन कम्पनीले जनाएको छ। सडक निर्माण भएको वर्ष दिन नपुग्दै सडक भत्किएर ठूला खाल्डा खुल्डी परेको छ। रत्ननगर नगरपालिकाको मूल गेटअगाडि सहित धेरै ठाउँमा सडक बिग्रिँदा नगरपालिकाका जनप्रतिनिधि समेत आलोचित बन्ने गरेका छन्। सडक निर्माण र मर्मतमा नगरपालिकाको जिम्मेवारी नभए पनि नगरको सडक बिग्रिएकाले सडक कार्यालयदेखि सडक विभागसम्म जानकारी गराएको नगरपालिकाका मेयर नारायण वन बताउँछन्।

सडक डिभिजन कार्यालयले निर्माण कम्पनीसित एक्सन लिन नसक्दा छोेटो समयमै सडक भत्किएको उनले बताए। ‘पानी परेको बेला हिलो हुने, घाम लागेको बेला सडकमा धुलो उड्दा स्थानीय र यात्रुलाई समस्या भएको छ,’ उनले भने, ‘ठूला खाल्डाखुल्डी परेकाले सवारी दुर्घटनाको जोखिम पनि बढी छ।’ नमूना भनिएको सडकमा पूर्वाधार निर्माण समेत अलपत्र हुँदा बजार क्षेत्र नै कुरुप बनेको छ। ५० मिटर फराकिलो सडकको एकातर्फ मात्र सबै पूर्वाधार तयार भएको छ, अर्कोतर्फ सर्भिस लेन, फुटपाथ पनि बनाइएको छैन।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर अनिश रेग्मी थप गरेर दिएको समय सीमाभित्रै सडक निर्माण पूरा गरिएको बताउँछन्। ‘डिजाइन अनुसारको काम सम्पन्न भएको छ। २०७५ असोज मै काम सकेका हौं,’ उनी भन्छन्, ‘काम सकेर पनि अढाइ वर्षदेखि भुक्तानी पाएको छैन, करिब ६ करोड रुपैयाँ लिन बाँकी छ।’

जहाँजहाँ जे पूर्वाधार तयार गर्ने भनियो, त्यही अनुसार काम सम्पन्न भएको उनको दाबी छ। सडक निर्माण र विस्तार कार्य नराम्रो देखिनुमा भने कमजोर बेस डिजाइनको हात रहेको उनले बताए।

गत वर्ष नै कालोपत्रे गरेलगत्तै सडक भासिन थालेको थियो। करिब तीन सय मिटर पिच सडक भत्काएर फेरि कालोपत्रे गरिएको थियो। पहिले पाँच सेन्टिमिटरको तह मात्रै कालोपत्रे गरिएकामा पछि भत्काएको स्थानमा २० सेन्टिमिटर कालोपत्रे गरिएको थियो। सडक कालोपत्रे गरिएका सबै ठाउँमा सतह समेत मिलेको थिएन। त्यसबेला पनि श्रेष्ठ कन्सट्रक्सनले सडक निर्माणको डिजाइन कै कारण समस्या आएको दाबी गरेको थियो।

नमूना भनेर बनाइएको राजमार्गमा अहिले धेरै ठाउँमा खाडल परेको छ। धेरै सवारीसाधन र मालबाहक सवारीसाधन धेरै चल्ने सडकको दक्षिण पट्टिको भागमा सडक दबेको समेत देखिन्छ। भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्य भत्केको ठाउँमा सडक मर्मत गर्न बारम्बार ताकेता गरेको बताउँछन्। मर्मत गर्नुपर्ने कामसमेत नगरेकोले निर्माण कम्पनीको भुक्तानी रोकिएको उनले बताए। डिजाइन नै कमजोर र ५० मिटर चौडाइमा पूर्वाधार तयार नगरिएको सडक मर्मतका लागि निर्माण कम्पनी र सडक कार्यालयले एकअर्काका दोषारोपण गरेको पाइन्छ। यसको असुविधा भने स्थानीय र यात्रुले भोगिरहेका छन्।

प्रकाशित: १५ श्रावण २०७६ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App