१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विप्लवद्वारा बर्दगोरियामा स्थानीयको जग्गा कब्जा, वडा कार्यालयमा आगजनी

टीकापुर - तत्कालिन द्वन्द्वका क्रममा माओवादीले कब्जामा लिएका स्थानीयका जग्गा अहिले पुनः विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले समेत कब्जामा लिन थालेको छ। पार्टीको संगठन जनपरिषदले बर्दगोरीया गाउँपालिकाका विभिन्न चारजनाको ४३ विगाह १७ कठ्ठा जमिन र घर कब्जामा लिएको छ।

ती जग्गामा पार्टीले ब्यानर टाँसेर कब्जा गरेको जनाइएको छ। बर्दगोरिया जनपरिषद प्रमुख अनुकुलको नेतृत्वमा ती जमिन कब्जा गरिएको बताइएको छ। पार्टीले स्थानीय राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ विघा जमिन र घर, देवबहादुर मल्लको ८ विघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा जमिन कब्जा गरेको छ।

कब्जा गरेको जग्गा दलाल र भूमाफिया मिलेर बिक्री वितरण गरिरहेको आरोपमा जग्गा कब्जा गरिएको जनाइएको छ।
घरजग्गामा टाँसिएको व्यानरमा सो जग्गा बिक्री वितरणमा संलग्नलाई भौतिक रुपमा कारवाही गरिने उल्लेख छ। कैलालीका प्रहरी प्रवक्ता डिएसपी दक्ष बस्नेतले घटनाका बारेमा जानकारी नभएको बताए। उनले प्रहरी टोली परिचालन गरिएको बताए।

कैलालीमा विप्लव नेतृत्वको नेकपाले जग्गा कब्जा गर्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन्। त्यसैगरी बर्दगोरिया गाउँपालिका वडा नं ५ को कार्यालयमा आगजनी भएको छ। वडा कार्यालयको बाहिर कालो धुँवा लागेको र जलेको अवस्थामा प्लाष्टिकको बोत्तल फेला परेको डिएसपी बस्नेतले जानकारी दिए। उनले घटना कसले घटाएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको बताए।

प्रकाशित: १५ श्रावण २०७६ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App