coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अवैध उत्खननविरुद्ध जिल्ला प्रशासन पुगे स्थानीय

अवैध उत्खननविरुद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा गुहार गर्न पुगेका स्थानीय। तस्बिर: सरिता/नागरिक

धादिङ - जथाभावी स्काभेटर लगाएर खोलाको दोहन गरेको र आफ्नो रोजीरोटी खोसिदिएको भन्दै दरियाँल खोलाका स्थानीयले प्रशासन गुहारेका छन्। गजुरी गाउँपालिका–६ दरियाँल खोलाआसपासका स्थानीय गुहार माग्दै सोमबार जिल्ला प्रशासन कार्यालय धादिङ पुगेका हुन्। उनीहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष न्याय माग गरेका छन्।

जथाभावी खोलामा डोजर लगाएर खोलाको बहाव नै परिवर्तन गरिदिएको र खोलामा बालुवा निकाल्ने मदजुरको रोजीरोटी खोसिदिएको पीडित स्थानीयको आरोप छ। खोलामा ठूलाठूला खाल्डा बनाएकाले आवतजावत गर्दा ज्यान नै जोखिममा परेको भन्दै तत्काल मेसिन लगाउने काम बन्द गराउन उनीहरूले आग्रह गरेका छन्। साथै उनीहरूले केहीबेर जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए।

जनप्रतिनिधि नै अवैध काममा लागेका र स्थानीयले विरोध जनाउँदा उल्टै स्थानीयलाई ज्यान मार्ने धम्की दिएको खोलामा बालुवा निकाल्ने काम गर्ने मजदुर राजकुमार चेपाङले बताए। ‘हामीले बर्खामा दुई महिना काम गरेर ६ महिनाको खर्च जुटाउने गरेका थियौं,’ उनले भने, ‘अहिले मनलाग्दी जताततै डोजर लगाइदिएर हाम्रो रोजीरोटी खोस्ने काम भएको छ।’

शुक्रबार प्रहरी कार्यालय गजुरीले खोलामा स्काभेटर लगाइरहेको अवस्थामा चालक र स्काभेटर नियन्त्रणमा लिई स्काभेटरको साँचो जिल्ला समन्वय समितिमा बुझाएको थियो। ५० हजार रुपैयाँ जरिवाना तिरी डोजर साहुले चाबी फिर्ता लगिसकेको समितिले जनाएको छ।

गाउँपालिका र वडा कार्यालयमा पटकपटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर जिल्ला आउनु परेको स्थानीय विमला चेपाङले बताइन्। ‘नदी तथा खोलामा मेसिन लगाउनै पाइँदैन भन्ने थाहा हुँदाहुँदै पनि गाउँपालिकामा जनप्रतिनिधिकै मिलेमतोमा अवैध काम भइरहेको छ,’ उनले भनिन्, ‘हामीले चुनाव जिताएको वडासदस्य ध्रुव सुवेदीलाई जथाभावी डोजर नलगाऊ भन्दा मलाई आपत्तिजनक शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिए।’ प्रहरी प्रशासनलाई सुरक्षाको ग्यारेन्टी पनि गरिदिन स्थानीयले माग गरेका छन्।

उनीहरूले खोलाको प्राकृतिक बहाव नै परिवर्तन गरी सार्वजनिक जमिन तथा खोलामा जभाभावी डोजर लगाएको भन्दै तत्काल डोजर लगाउने काम बन्द गराइदिन प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालय धादिङमा ज्ञापनपत्र बुझाएका थिए। स्थानीयको ज्ञापनपत्र बुझ्दै प्रजिअ पाण्डेले मेसिन लगाएको देख्नेबित्तिकै प्रहरीले कब्जामा लिने गरेको जिकिर गरे। ‘नदी तथा खोलामा मेसिन लगाउन पाइँदै पाइँदैन,’ उनले भने, ‘सूचना पाउनेबित्तिकै प्रहरी लगाएर हामी कारबाही गराइहाल्छौं।’

शुक्रबार बिहान ४ बजे इलाका प्रहरी कार्यालय गजुरीले खोलामा स्काभेटर लगाइरहेको अवस्थामा चालक र स्काभेटर नियन्त्रणमा लिई स्काभेटरको साँचो जिल्ला समन्वय समितिमा बुझाएको थियो। जिल्ला समन्वय समितिमा ५० हजार जरिवाना तिरेर डोजर साहुले डोजरको चाबी फिर्ता लगिसकेको जिल्ला समन्वय समितिले जनाएको छ। त्यस्तै आइतबार पनि खोलामा दिउँसै डोजर लगाइरहेको अवस्थामा स्थानीयले दुईवटा डोजर कब्जामा लिएपछि चालक र बालुवा झिक्न लगाउने ध्रुव सुवेदी फरार भएका थिए। सुवेदी गजुरी गाउँपालिका–६ का वडा सदस्य हुन् भने पूर्वमाओवादी केन्द्रका जिल्ला कमिटी सदस्य हुन्।

प्रकाशित: १५ श्रावण २०७६ ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App