१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तस्करलाई सरकारले कानुनी दायरामा ल्याउन सकेन

मानव तस्करीविरुद्ध सचेतना कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालगायत सरकारी तथा गैरसरकारी निकायका पदाधिकारी। तस्बिर: श्याम/नागरिक

काठमाडौं - नेपालबाट खाडी मुलुकमा मानव बेचबिखन तथा ओसारपोसार बर्सेनि बढेको पाइएको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोकोे पाँच आर्थिक वर्षको तथ्यांकअनुसार मानव बेचबिखन बढेको पाइएकोे हो।

ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/०७२ मा एक सय ८१ जना पीडित थिए। २०७२/०७३ मा दुई सय १२ पुग्यो। त्यसैगरी २०७३÷०७४ मा दुई सय २७, २०७४/०७५ मा तीन सय पाँच र २०७५÷०७६ को ६ महिनामा एक सय ९० पीडित देखिएका छन्। यी सबै प्रहरीमा आएको उजुरीको संख्या हुन्।

मानव बेचबिखन तथा ओसारपोसारका घटना प्रहरीमा नआएकाको संख्या आएकाको भन्दा धेरै रहेको बताइन्छ। मानव बेचबिखन तथा ओसारपोसारमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको अनुसन्धान ब्युरोको तथ्यांकले देखाएको छ। ब्युरोको तथ्यांकअनुसार अहिलेसम्म कुबेत, भारत, इराक, किर्गिस्तान, लिबिया र केन्याबाट नेपालीहरू उद्धार गरिएको छ। उद्धार हुनेमा एक सय ९६ महिला छन् भने ५५ जना पुरुष छन्। यो तथ्यांक २०७५ फागुन ७ देखि २०७६ साउन १ सम्मको होे।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता गोविन्द थपलियाले अपराधलाई कानुनी दायरामा ल्याउन नसक्दा बाहिरी मुलुकमा बर्सेनि मानव बेचबिखन तथा ओसारपोसार बढ्दै गएको बताउँछन। ‘मुद्दा दर्ताको विवरण हेर्दा बर्सेनि मानव तस्करी बढेको देखिन्छ। तर यस्ता अपराधलाई सरकारले कानुनी दायरामा ल्याउन सकेको छैन,’ उनले भने, ‘कानुनी सुधार पनि गर्नुपर्छ। नेपाली जनता तस्करीमा पर्दा बाहिरी मुलुकमा अनुसन्धान गर्नको लागि नेपालका प्रहरीको पहुच त्यहाँ पुग्न सकेको छैन। यसलाई सरकारले प्रभावकारी बनाउनुपर्छ।’

थपलियाले पहिले भन्दा अहिलेको मानव तस्करीको प्रकृति फरक पाइएको बताए। उनका अनुसार पहिले भारतको मुम्बईमा महिला बेचिएको मुद्दा बढी आउँथ्यो, अहिले भने वैदेशिक रोजगारीको सिलसिलामा बढी महिला र पुरुष बेचबिखन तथा ओसारपोसार भएको मुद्दा दर्ता भएका छन्। रोजगारी, नक्कली विवाह, लोभलालच, विदेश घुम्ने, आफन्त भेटाउने, धाकधम्की, जबर्जस्ती करणी, ललाइफकाइ आदि बहानामा मानव तस्करी हुने गरेको छ।

मानव तस्करी रोक्न सातवटै प्रदेशबाट प्रभावकारी बनाउने तयारी थालिएको ब्युरोले जनाएको छ। मानव बेचबिखन तथा ओसारपोसारलाई न्यूनीकरण गर्न नागरिक आफैं सुरक्षित हुनुपर्ने प्रवक्ता थपलियाले सुझाएका छन्। ‘वैदेशिक रोजगारीमा जाँदा नागरिक आफैं सुरक्षित हुनुपर्छ। विश्वासिलो कम्पनी रोज्नुपर्छ,’ उनले भने, ‘आफन्तबाट पनि मानव तस्करी हुने गरेकोा पाइएकोले यसमा पनि सचेत हुनुपर्छ। लोभलालचनमा पर्नुहुँदैन। पीडितले न्यायका लागि सबै प्रमाणहरू जुटाई कानुनी बाटो रोज्नुपर्छ।’

बेचखिनविरुद्ध अन्तर्राष्ट्रिय दिवस
हाम्रो सम्मान परियोजनाअन्तर्गतका सरोकारवालाहरूले मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाएका छन्। मंगलबार राजधानीमा मानव तस्करीविरुद्ध चेतनामूलक कार्यक्रम गरी माइती नेपाल, सफल पार्टनर, शक्ति नेपाल समूहलगायत साझेदार संघसंस्थाले अन्तर्राष्ट्रिय दिवस मनाएका हुन्।

कार्यक्रममा शक्ति नेपाल समूह र माइती नेपालका तर्फबाट मानव तस्करी हुनेबारे र यसबाट बच्ने चेतनामूलक दृश्यसहित नृत्य प्रस्तुत गरिएको थियो। सो कार्यक्रममा गरिएको प्यानल डिस्कसनमा सरकारले नेपालमा रोजगारको सुविधा नदिँदा बढी महिलाहरू मानव तस्करीमा परेकाले केन्द्र सरकार र स्थानीय सरकारले नेपालमै रोजगारी प्रदान गर्नुपर्ने कुरा उठेको थियो। मानव तस्करीलाई रोक्न कानुन फितलो भएकाले संशोधन हुनुपर्ने, समाजको मूल्य–मान्यतालाई असर नपर्नेगरी यस्ता घटनाको अनुसन्धान हुनुपर्ने, दोषीलाई कडा कारबाही गर्नुपर्नेलगायतमा जोड दिइएको थियो।

प्यानल डिस्कसनका क्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले मानव बेचबिखन तथा ओसारपोसारका घटना रोक्न सरकार लागिपरेको बताए। ‘सरकारले मानव तस्करी रोक्न विभिन्न निकायबाट पहल गर्दै आएको छ,’ उनले भने, ‘सरकारले वैदेशिक रोजगारका लागि श्रम नीतिको व्यवस्था गरेको छ। महिला बेचबिखनलाई रोक्न नेपाल प्रहरी, विदेशी निकायलगायतसँग विश्वव्यापी सहकार्य गरेका छौं।’

प्रकाशित: १५ श्रावण २०७६ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App