coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लाइसेन्स जोगाउन तामाकोसी तेस्रोको क्षमता घटाइयो

दोलखा - ६ सय ५० मेगावाट क्षमताको तामाकोसी तेस्रो जलबिद्युत आयोजनाको लाईसेन्स खारेज हुनबाट जोगाउन प्रवद्र्धक टीबीआई होल्डिङ कम्पनीले दुई गुणा बढी क्षमता घटाएर चिनिया कम्पनीसंग लगानी सम्झौता गरेको खुलेको छ। अघिल्लो बिहिबार राजधानीमा उर्जा मन्त्री बर्षमान पुनको उपस्थितिमा चिनको वाईआईजी ईन्टरनेशनल र सांघाई ईन्भेष्टमेन्ट डिजाईन एण्ड रिसर्च ईन्स्टिच्युट कर्पोरेसन तथा आयोजनाको प्रवद्र्धक नेपाली कम्पनी टीबी आई होल्डीङ बिच २ सय ८० मेगावाटमा आयोजनाको निर्माण गर्ने गरी संयुक्त विकास प्रारुपमा हस्ताक्षर भएको थियो।

टीबीआई होल्डीङले २ बर्ष भित्र प्रारम्भिक अध्ययन गर्ने भन्दै बिद्युत विकास बिभागबाट २०७४ असोज २६ गते ६ सय ५० मेगावाटमै सर्भेक्षण अनुमति लिएको थियो। उसको अनुमति आउदो असोज २५ गते सकिदैछ। बिभागबाट लिएको सर्भेक्षण अनुमतिको समयावधी सकिनुभन्दा साढे दुई महिना अघि दुई ठुला चिनिया लगानीकर्तासंग साझेदारीमा टीबीआईले आयोजनाको कार्यान्वयन अगाडि बढाउन भन्दै समझदारी गरेको हो। चिनमा १८ हजार मेगावाट बिजुली उत्पादन गरेको अनुभव भएका यि कम्पनीसंग समझदारी गर्न आयोजित हस्ताक्षर समारोहमा चिनको युनान प्रान्तका उपगभर्नर झाङ ग्वाहुवा पनि उपस्थित थिए।

उर्जाका एक अधिकारीका अनुसार अनुमति पत्रको समयावधी साढे दुई महिना मात्र बाँकी रहेका कारण पूर्ण क्षमताभन्दा दुई गुणा कम अर्थात २ सय ८० मेगावाट बिजुली उत्पादन गर्ने गरी लगानी समझदारीमा हस्ताक्षर गरिएको छ। एकै पटक ठुलो आयोजना बनाएर गर्दा लगानी र भुगोल साथै अध्ययनको समय लगायत हरेक हिसाबले जोखिम हुने र आउदो असोज भित्र नगरे लाईसेन्स नै खारेज हुने कारण २ सय ८० मेगावाट बनाउने गरी सम्झौता गरिएको हुन सक्ने ति अधिकारीको भनाइ छ। ६ सय ५० मेगावाट क्षमताको अध्ययन अनुमती पाएको टीबीआईले बिद्युत विकास बिभाग हुँदै लगानी बोर्डमार्फत आयोजना कार्यान्वयन गराउनुपर्ने भए पनि जस्केलाबाट उर्जा मन्त्रालयले उसलाई सिधै अनुमति दिएको थियो।  

‘जोखिमका कारण पहिलो चरणमा यसो गरेका हौं, क्रमिक रुपमा पूर्ण क्षमतामै आयोजना सम्पन्न गर्छौं’

टीबीआई होल्डीङ कम्पनी लिमिटेडका अध्यक्ष समेत रहेका गैरआवसिय नेपाली संघका अध्यक्ष भवन भट्टले आयोजनामा भौगोलिक साथै लगानीको जोखिमका कारण एकै पटक पूर्ण क्षमतामा बनाउन नसकिने अफ्ठ्यारो परेकाले पहिलो चरणमा २ सय ८० मेगावाटमा चिनिया लगानीकर्ता संग सम्झौता गरिएको स्वीकार गरे। ‘एकै पटक ६ सय ५० वा त्यो भन्दा बढी क्षमतामा बनाउँदा त्यहाँको ठुलो क्षेत्रफल र बस्तीहरु डुबानमा पर्छन’ जापानमा रहेका उनले मंगलबार दिउसो टेलिफोनमा नागरिकसंग भने – ‘हाम्रो त्यो क्षेत्र भुकम्पीय दृष्टीकोणका साथै भौगोलिक रुपमा समेत जोखिमयुक्त रहेका कारण चरणबद्ध रुपमा उत्पादन गर्ने गरी पहिलो चरणमा २ सय ८० मेगावाट बनाउन चिनका ठुला लगानीकर्ताहरु सम्झौता गरेका हौं’।

उनले ठुलो बाँध बाँधेर भुमिगत बिद्युतगृहबाट बिजुली निकाल्ने काम आफैमा जोखिम रहेकाले त्यसले प्रभावित गाउँहरुमा पर्न सक्ने डुबान र क्षतीलाई मध्यनजर गरेर आफुहरुले चरणबद्ध रुपमा तामाकोसी तेस्रोबाट बिजुली निकाल्न लागेको सुनाए। ‘लगानी कर्ता कसैले पनि क्षमता घटाउन खोज्दैन’ भट्टले भने – ‘सके सम्म डुबान र जोखिम नहुने किसिमले रन अफ रिभरनै बनाउनका लागी यसो गरेका हौं’। उनले चिनको युनान प्रान्तमा १८ हजार मेगावाट बिजुली उत्पादन गरेको अनुभव भएको चिनिया कम्पनी संग आफ्नो कम्पनीले काम गर्न लागेको बताउदै सानो आयोजना भनेर ति कम्पनीले हात नहालेको स्पष्ट पारे।

 ‘त्यती ठुला कम्पनीले २ सय मेगावाटको आयोजना भनेर हात हाल्न खोजेका हैनन, त्यहाँको वातावरणिय र भौगोलिक जोखिम हुन नदिने हिसाबले फेज वाईज (चरणबद्ध रुपमा) तरिकाले आयोजनालाई पूर्ण क्षमतामा बनाउँने गरी समझदारी गरेका छौंं’ भट्टले भने। उनले दुवै कम्पनी संगको समझदारीमा क्रमिक रुपमा निर्माण गर्दै र क्षमता बढाउदै लाने उल्लेख भएको सुनाए। भट्टले चिनिया प्रविधि अनुसार कुनै क्षती नपुग्ने र प्रभावित जिल्लाका बासिन्दालाई फाईदा पुग्ने गरी आयोजनालाई क्रमिक रुपमा ६ सय ५० मेगावाट भन्दा बढी क्षमताको बनाईने दाबी गरे।

यस अघि डुबान र भौगोलिक जोखिमले नै नर्वेजियनले समेत १३ सय मेगावाटबाट ८ सय ८० हुँदै ६ सय ५० मा झारेको उनले बताए। ‘नर्वेजियन फर्केपछि  जापानको खन्साई ग्रुपले समेत ३ सय ५० मेगावाटमा मात्र बनाउने गरी लगानी बोर्डमा प्रस्ताव हालेको थियो’ उनले भने। नर्वेजियनले गरेको विस्तृत अध्ययनमा दोलखाको पिखुती देखी तामाकोसी बजार नजिकको बेताने सम्म बाँधस्थल र जफे क्षेत्रमा आयोजनाको बिद्युतगृह रहने तयारी गरिएको थियो।

जिल्लामा बिरोध
क्षमता घटाईएपछि आयोजनास्थल दोलखामा बिरोध शुरु भएको छ। कम्युनिष्ट र कांग्रेस निकट सरोकार समितिहरुले क्षमता घटाएर आयोजना बनाउन नदिने घोषणा गरेका छन्। विपक्षी कांग्रेसले पूर्ण क्षमतामा नबनाए अवरोध गर्ने चेतावनी दिएको छ। स्थानिय तहका प्रमुखहरुले समेत क्षमता घटाईएको प्रति बिरोध जनाएका छन्।

जिल्लाका प्रत्यक्ष निर्वाचित नेकपा सांसद पार्वत गुरुङले क्षमता घटाएर चिनिया लगानी संग प्रवद्र्धक कम्पनीले गरेको समझदारीलाई लाईसेन्स जोगाउने नाटकको संज्ञा दिए। ‘प्रवद्र्धकले काम गर्न नसकेर लाईसेन्स बचाउन गरेको एउटा अभ्यास हो’ उनले भने।  गुरुङले प्राकृतिक स्रोतको क्षमता घटाएर प्रकृतिको दुरुपयोग दुरुपयोग नगर्न प्रवद्र्धक कम्पनीलाई सचेत गराउँदै पूर्ण क्षमताको बनाउनका निम्ती अझै अध्ययन गर्न सुझाव दिए।  

सत्तारुढ नेकपा निकटको सरोकार समितिका संयोजक शिव प्रसाद भण्डारीले विस्तृत परियोजना अध्ययन भईसकेको आयोजनाको क्षमता घटाएर गलत गरेको भन्दै तत्काल सच्याउन आग्रह गरे। कांग्रेस निकट सरोकार समितिका संयोजक छवि लामाले पूर्ण क्षमतामा आयोजना बनाउने गरी मात्र आयोजना स्थल आउन चेतावनी दिए। दोलखा उद्योग बाणिज्य संघले आफैले पूर्ण क्षमताको बनाउन अन्यथा स्वदेशी लगानी मोडेल तयार हुने गरी आयोजना अगाडी बढाउन सरकारलाई आग्रह गरेको छ। संघका अध्यक्ष ईन्द्र श्रेष्ठ र महासचिव हेमराज रिमालद्धारा जारी विञप्तीमा क्षमता नघटाई निर्माण गर्न नसकिए आयोजना सरकारले लिएर माथिल्लो तामाकोसी मोडेलमा अगाडी बढाउनुपर्ने सुझाव दिइएको छ।

प्रकाशित: १५ श्रावण २०७६ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App