७ वैशाख २०८१ शुक्रबार
खेल

‘टेस्ट च्याम्पियनसिपमा इङ्ल्यान्डको सुरुआत राम्रो हुनेछ’

लन्डन (एएफपी)– इङ्ल्यान्ड क्रिकेटका निर्देशक एस्ले जायल्सले गत एकदिवसीय विश्वकपमा आफ्नो राष्ट्र च्याम्पियन भएकाले विश्व टेस्ट च्याम्पियनसिपको पहिलो खेलको नतिजा पनि आफ्नो पक्षमा आउने दाबी गरेका छन्।

यसै हप्तादेखि एड्गबास्टनमा हुने एसेसलाई टेस्ट च्याम्पियनसिपको सुरुआतको रूपमा लिइएको छ। सन् २०२१ सम्म हुने टेस्ट च्याम्पियनसिपमा ९ राष्ट्रले दुई वर्षभित्र कुल ७२ खेल खेल्नेछन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले धेरै अगाडिदेखि टेस्ट च्याम्पियनसिप गराउने प्रयास गरे पनि यही अगस्टदेखि मात्र सफलता प्राप्त गरेको हो।

टेस्ट च्याम्पियनसिपको आगमनपछि क्रिकेटप्रेमीले यसलाई निकै महŒवका साथ हेर्ने आकलन गरिएको छ। एकदिवीय क्रिकेटमा शीर्षता हासिल गरेको इङ्ल्यान्ड टेस्ट क्रिकेटमा भने चौथो स्थानमा छ। पछिल्ला चार वर्षमा इङ्ल्यान्ड सेतो बलमा केन्द्रित भएपछि निकै सफलता प्राप्त गरेको जायल्सले उल्लेख गरेका छन्। ‘पछिल्ला चार वर्षमा हामीले सेतो बलमा निकै सुधार गरेका छौं,’ इङ्ल्यान्ड क्रिकेटका निर्देशक जायल्सले भने, ‘जसको परिणामस्वरूप हामीले निकै सुधारको नतिजा पाएका छौं।’

इङ्ल्यान्डले यसपटक टेस्ट क्रिकेटमा खासै संघर्ष नगर्ने दाबी गर्दै एसेसले पनि यस संस्करणदेखि थप लोकप्रियता पाउनेछ।                  - इङ्ल्यान्ड क्रिकेटका निर्देशक जायल्स

सेतो बलमा इङ्ल्यान्ड क्रिकेटको सुधार विश्वकपबाट साबित भइसकेको जायल्सले उल्लेख गरे। जायल्सले टेस्ट च्याम्पियनसिपको अवधारणाप्रति आफू निकै खुसी भएको बताउँदै छोटो संरचनाको क्रिकेट र सेतो बलको सफलतासँगै टेस्टलाई पनि रोमाञ्चकतातर्फ ल्याउनुपर्ने समय भइसकेको उल्लेख गरे। उनले इङ्ल्यान्डले यसपटक टेस्ट क्रिकेटमा खासै संघर्ष नगर्ने दाबी गर्दै एसेसले पनि यस संस्करणदेखि थप लोकप्रियता पाउने बताएका छन्।

इङ्ल्यान्ड र अस्ट्रेलियाबीच मात्र एसेस सीमित हुँदा यसले खासै प्राथमिकता पाएको थिएन । अब विश्व च्याम्पियनसिपमा समावेश भएपछि विश्वले एसेसलाई सामान्य रूपमा लिने छैनन्। सन् १९९९ देखि २००४ सम्मको टेस्ट क्रिकेटका सफल कप्तान स्टिभ हग हाल अस्ट्रेलिया क्रिकेटका मेन्टर छन्। टेस्टको ५७ मध्ये ४१ खेल जितेका स्टिभले अस्ट्रेलियाको जितका लागि रणनीति बनाउनेछन्।

हगले पनि यसपटक टेस्ट क्रिकेट पनि निकै रोमाञ्चक हुने बताए। उनले आफ्नो टोली पनि टेस्ट क्रिकेटको शीर्ष स्थानमा रहन लायक टोली रहेको बताए। अगस्ट १ बाट सुरु हुने टेस्ट क्रिकेट च्याम्पियनसिपको फाइनल भने सन् २०२१ को जुनमा इङ्ल्यान्डमा हुनेछ। पहिलोपटक सुरु हुन लागेको टेस्ट च्याम्पियनसिपमा ९ राष्ट्रको सहभागिता छ। ९ टोलीले ६ वटा शृंखला खेल्नुपर्नेछ र त्यसका आधारमा शीर्ष दुई टोलीबीच फाइनल हुनेछ।

भारत र पाकिस्तानले भने शृंखला खेल्ने छैनन्। टेस्ट क्रिकेट १२ राष्ट्रले खेल्ने भए पनि च्याम्पियनसिपमा भने ९ राष्ट्रको मात्र प्रतिस्पर्धा हुनेछ। आयरल्यान्ड र अफगानिस्तानले प्रतिस्पर्धा गर्ने छैनन् भने जिम्बाब्वेलाई आइसिसीले प्रतिबन्ध लगाएको छ। ९ टोलीले ६ शृंखलामध्ये तीन शृंखला आफ्नै देशमा र विदेशी भूमिमा तीन शृंखला खेल्नुपर्नेछ। एक शृंखला जितेबापत् १ सय २० अंक तय गरिएको छ।

पाँच खेलको टेस्ट शृंखला हुँदा एक खेल बराबर २४ अंक तथा ४ खेलको टेस्ट शृंखला हुँदा ३० अंक हुनेछ। दुई खेलको टेस्ट शृंखला हुँदा एक जित बराबर ६० अंक तय गरिएको छ। दुई वर्षपछि ६ वटा शृंखला सकिँदा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल हुनेछ। फाइनलसम्म अंक बराबर भएमा सुपर ओभर भने हुनेछैन। समूह चरणको नतिजाका आधारमा विजेता घोषणा गरिनेछ।

प्रकाशित: १५ श्रावण २०७६ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App