७ वैशाख २०८१ शुक्रबार
कला

भारतमा छाए राजेश हमाल ! अमिताभ र शाहरुखसँग तुलना

नयाँदिल्ली– नेपालका महानायक राजेश हमाल भारतीय मिडियामा छाएका छन्। भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले ‘ये हैं नेपाली सिनेमा के अमिताभ बच्चन’, २२ साल छोटी मोडल से की थी शादी शीर्षकमा हमालको चलचित्र यात्राको संघर्ष तथा सफलताबारे उल्लेख गरेको छ। साथै राजेश भारतमा समेत परिचित अभिनेता भएकाे पिन उल्लेख गरिएकाे छ।

हमाललाई भारतका महानायक अमिताभ बच्चन तथा बलिउड बादशाह शाहरुख खानसँग तुलना गर्दै आजतकले लेखेको छ, ‘राजेश एक यस्ता सुपरस्टार हुन्, जसलाई नेपालमा महानायकको उपमा दिइन्छ। ५५ वर्षको उमेरमा राजेशको चार्मिङ नेपालमा यस्तो छ कि, जस्तो भारतमा अमिताभ र शाहरुखको छ।’

परिवारको चाहना विपरित अभिनयमा लागेका राजेशले हासिल गरेको पहिचान केही वर्षको मेहनतको फल भएको समाचारमा उल्लेख छ। 

समाचारमा उल्लेख भएअनुसार राजेशले सन् १९८८ मा फिल्म ‘युगदेखि युगसम्म’बाट डेब्यु गरेका थिए। आफ्नो पहिलो फिल्मबाटै राजेशले दर्शकको मन जिते। त्यसपछि उनले फर्केर हेर्नु परेन। देउता, बसन्ती, हामी तीन भाई, गिरफ्तार, कर्मयोद्धा, शकुन्तलाजस्ता फिल्मबाट दर्शकमाथि छुट्टै छाप छोड्न सफल भए। 

राजेशको पढाइदेखि अभिनयसम्मको यात्रा सजिलो थिएन्। परिवारको विरोधका बीच राजेशले फिल्मी क्षेत्रमा पाइला राखेका थिए। राजेशले भारतको पञ्जाब विश्वविद्यालयबाट एमए डिग्री पास गरेका थिए भने रुसको मस्कोमा आफ्नो पढाई पुरा गरेका थिए। 

फिल्मी करियरको उत्कर्षमा रहँदा राजेशको आफ्नो कपालप्रति एकदमै गर्व गर्थे। यसैकारण उनले आफ्नो पिताको अन्तिम संस्कारमा समेत कपाल काट्न (कपाल खौरिन) नमानेको समाचारमा उल्लेख छ।

समाचारमा राजेश पछिल्लो समय बहुचर्चित टिभी शो को बन्छ करोडपति होस्ट गरिरहेकोमा अमिताभसँग तुलना गर्दै लेखेको छ, ‘जसरी भारतमा अमिताभ बच्चन आम दर्शकका सुपरस्टार हुन, त्यसैगरी लोकप्रियता नेपालमा राजेश हमालको छ।’ 

आजतकमा समाचार प्रकाशित भएपछि युट्युबरले राजेशलाई पछ्याएका छन्। भारतका विभिन्न युट्युब च्यानलमा राजेशको कथा छ्याप्छ्याप्ती भेटिन्छ।  

उसाे त बलिउडमा नेपालका उदितनारायण झा पनि जमेका छन्। सप्तरी घर भएका झा बलिउडमा ९० काे दशकका चर्चित गायक हुन्। उनले भारतकाे सर्वाेच्च पद्मश्री पुरस्कार पाइसकेका छन्। 

प्रकाशित: १४ श्रावण २०७६ ११:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App