८ वैशाख २०८१ शनिबार
समाज

सिस्नेरीका १० घर पहिरोको जोखिममा

सिस्नेरीमा गएकाे पहिराे। तस्बिरःनागरिक

ओखलढुंगा– सुनकोशी गाउँपालिकाका–३ का १० घर पहिराेकाे जोखिममा परेका छन्। सिस्नेरीको खानीगाउँमा मोटरबाटो खन्दा पहिरो गएका कारण ती घर जोखिममा परेका हुन्।

जोखिममा परेकाहरूले वडा कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिमा सुरक्षित बासको व्यवस्था गरी क्षतिपूर्तिका लागि निवेदन दिएका छन्। घर जोखिममा परेका जीतबहादुर मगर, हीराबहादुर मगर, यज्ञबहादुर मगर, रामकाजी मगर, रामबहादुर मगर, खीलबहादुर मगर, यमबहादुर मगर, भक्तबहादुर मगर, गणेशबहादुर मगर र अम्बरबहादुर खड्काले क्षतिपूर्तिका लागि संयुक्त निवेदन दिएका हुन्।

उनीहरूले वडा नं.३ सिस्नेरीभञ्ज्याङदेखि खानीगाउँ–२, माटे हुँदै दीपसिङसम्म जाने मोटरबाटोको माथिल्लो भागबाट पहिरो गई बासस्थान जोखिममा परेको जनाएका छन्।

यस विषयमा सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर सुनकोशी गाउँपालिकालाई प्राविधिकसहित स्थलगत अनुगमन गरेर प्रतिवेदन पठाउन आग्रह गरिएको समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। गाउँपालिकाको प्रतिवेदन आएपछि विपद् व्यवस्थापन समितिको बैठक बसेर योजना बनाइने उनको भनाइ छ।

मोटरबाटोको मोड निकाल्दा बस्तीभन्दा मुनिको पाखो अलि बढी च्यापेर खनिएका कारण १० घरपरिवार सामान्य जोखिममा परेको वडाध्यक्ष विष्णुबहादुर खड्काले बताए। अहिलेनै पहिरोले घरहरू झरिहाल्ने र बस्ती स्थानान्तरण गरिहाल्नुपर्ने अवस्था नभए पनि तारजाली वाल लगाउन पाए बस्ती सुरक्षित हुने उनको भनाइ छ।

प्रकाशित: १४ श्रावण २०७६ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App