पोखरा- नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नै अहिलेको चुनौती रहेको बताएका छन्।नेपाली काँग्रेस कास्कीले साेमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले मधेसवादी र जनजाति समुदायका गुनासालाई संविधान संशोधनबाट सम्बोधन गरेर संविधान कार्यान्वयनका दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।
विसं २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न भएपछि मात्र संविधान कार्यान्वयन हुनसक्ने धारणा राख्दै उनले यतिका उपलब्धि भइसकेपछि पनि सानातिना कुरामा अल्झेर प्राप्त उपलब्धि गुम्न नदिन सबै राजनीतिक दलसँग आग्रह गरे।
संविधान संशोधन हुनै सक्दैन भन्ने एमालेको अतिवादी सोच र आफू भनेका सबै माग पूरा हुनैपर्छ भन्ने मधेसवादी दलले हठ त्यागेर सबै लचक भई एक ठाउँमा आउनुपर्नेमा नेता पौडेलको जोड थियो । नेपाली काँग्रेस पद्दति, प्रक्रिया, संस्थागत र समझदारीद्वारा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले पार्टी कार्यकर्ताको सही मूल्याङ्कन भएमा मात्रै पार्टी एकता हुने राय प्रकट गरे ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले स्थानीय तहको निर्वाचन नजिक आइरहेकाले पार्टी कार्यकर्ता गाउँगाउँमा गएर जनताको मन जित्ने गरी काम गर्नु्पर्ने बताए।
यसैबीच नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस कास्कीका पूर्व सभापति खेमराज पौडेलकी आमा स्व नन्दकली पौडेललाई आज पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरे।
लामो समयदेखि दम रोगबाट पीडित ९६ वर्षीय स्व नन्दकली पौडेलको गएराति कास्कीको पुम्दीभुम्दी लौसीबोटका निधन भएको थियो । स्व पौडेललाई नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पूर्व सभापति एवम् सांसद यज्ञबहादुर थापा, पूर्व सभापति सोभियतबहादुर अधिकारी, सांसदद्वय शारदा पौडेल र विन्दा रानामगरलगायतका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि व्यक्त गरेकाे थियो । पाँच छोरा र तीन छोरीकी आमा स्व पौडेलको आजै पोखरास्थित शान्तिघाटमा अन्तिम संस्कार गरिएको छ । रासस
प्रकाशित: २२ कार्तिक २०७३ ०६:३७ सोमबार