७ वैशाख २०८१ शुक्रबार
विचार

व्रत संस्कार र स्वस्थ मुटु

हिन्दु, संसारको सबैभन्दा पुरानो धर्म हो। शाकाहारी भोजन र व्रत हिन्दु धर्मका अवयव हुन्। ऋषिमुनिहरू जंगलका कन्दमूल खाएर हजाराँै वर्ष बाँचेका कुरा धर्मग्रन्थमा उल्लेख छन्। तर आधुनिक औषधि विज्ञानले यो कुरा पत्याउँदैन। मांसाहारभन्दा शाकाहारले मानिसलाई दीर्घजीवी बनाएको खँदिला तथ्य सार्वजनिक भएका छन्। सादगी भोजन गर्ने मानिस अन्यभन्दा बढी स्वस्थ देखिएका छन्।

सागपातमा पर्याप्त प्रोटिन नहुने भएकाले माछामासु नखाने मानिस हृष्टपुष्ट हुँदैन भन्ने मान्यतालाई अनुसन्धान आँकडाले गलत साबित गरेको छ। पहिले बाँच्नका लागि माछामासु नभइ हुँदैन भन्दै वकालत गर्ने वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षित अहिले सागसब्जीको हिमायती भएका छन्। आफूले पढेका बखत प्रकाशित अनुसन्धानले माछामासुलाई खानाको अभिन्न अंश ठानेकाले आफूले पेसाको प्रारम्भमा मांंसाहारलाई जोड दिएको डा. दीक्षित बताउँछन्। तर पछिल्ला अनुसन्धानले स्वास्थ्यका लागि शाकाहार बढी लाभप्रद देखाएकाले अहिले आफू सादगी भोजनका पक्षमा उभिएको उनको भनाइ छ। अनुसन्धानले प्रमाणित गरेपछि डा. दीक्षितले, आफ्ना मान्यता परिवर्तन गर्नुपर्छ भन्ने मेडिकल साइन्सको संहिता पालनमात्र गरेनन्, उचित आहारविहारका पक्षमा वकालतै थालेका छन्।

हिन्दु धर्मले निराहार व्रतको वकालत गर्छ। विभिन्न देवतालाई प्रसन्न पार्न फरक दिन र तिथिमा व्रत बस्ने प्रचलन नयाँ होइन। सोमबार भगवान् शिवको, अनि मंगलबार गणेशका लागि उपवास बस्नेजस्ता अभ्यास सदियौँदेखि जारी छ। एकादशीमा फलाहार लिनेजस्ता प्रचलन सामान्य रूपमा चल्दै आएका छन्। हजुरआमा÷आमा पुस्ताका लागि निराहार र फलाहार व्रत जीवनका अभिन्न अंग बनेका छन्। तर पछिल्लो पुस्ताले यसलाई पुरातनवादी सोच र परम्परा ठाने। तीजको व्रत लिन्छु भन्दा रूढिवादी ठहरिने सोच विकास भयो। त्यसमाथि भोकै बस्दा पेटको समस्या पैदा हुन्छ अवधारणा आयो।  

विकासक्रममा पहिले अल्पाहार लिएर तथा भोकै बसेर जीवन बिताउने मानव जाति अहिले हप्तामा एक÷दुई दिन व्रत बस्दा बिरामी हुन्छ भन्ठान्नु सही होइन ।

बीसौँ शताब्दीको पूर्वाद्धमा गरिब राष्ट्रका नागिरकमा पेटमा अल्सर समस्याका रूपमा देखियो। यसबाट धेरैजना पीडित भए। तर यसको कारण पत्ता लगाउन मेडिकल साइन्स असफल भयो। विपन्न मुलुकका गरिब खाद्यान्न अभावमा भोकै बस्न बाध्य थिए। जुन देशमा अल्सर समस्या बढी देखिनु र त्यही देशका जनता भोकभोकै बस्न बाध्य हुनुबीच सम्बन्ध छ भनेर प्रमाणित गर्ने प्रयास भयो।  अनि भोकै बस्दा अल्सर हुने भनी व्याख्या गरियो। पछि सन् १९८२ मा अस्टे«लियाका वैज्ञानिकद्वय ब्यारी मार्सल र रविन बारेनले सूक्ष्म जीवाणु ‘हेलिकोब्याक्टर पाइलोरी’ ले पेटमा अल्सर हुने कारण पत्ता लगाए, पेट खाली रहेका कारण होइन, ब्याक्टेरियाका कारण मानिसलाई अल्सर हुन्छ भन्ने तथ्य प्रमाणित गरे। त्यसबापत वैज्ञानिकद्वय मार्सल र बारेनले मेडिकल साइन्सको नोबल पुरस्कारसमेत पाए, सन् २००५ मा। यसरी अल्सर र खाली पेटबीच कुनै सम्बन्ध छैन भन्ने तथ्य पत्ता लागिसकेको भए पनि अझै धेरै मानिसमा व्रत बस्दा रोग लाग्छ भन्ने धारणा पाइन्छ। खाली पेट बस्दा शारीरिक समस्या देखिनुलाई मानवीय क्रमिक विकास सिद्धान्तले स्वाभाविक ठान्छ त ? त्यसतर्फ हेरौँ।  

आधुनिक सभ्यता विकाससँगै मानवले धेरै आरोह÷अवरोह पार ग¥यो। कृषिको आधुनिकीकरण हुनुअघिसम्म कन्दमूल तथा सिकार गरिल्याइएका जीवजन्तु खाएर जीविका चलाउन मान्छेको बाध्यता थियो। अहिलेजस्तो भोक लाग्नेबित्तिकै फ्रिजबाट खानेकुरा निकालेर, माइक्रोवेभमा तताएर  खान त्यसबेला सम्भव थिएन, सिकार भेटे पेटभर खाने, नभेटे भोकै सुत्नुपथ्र्याे। सिकारका लागि दिनभर भौतारिँदा पनि केही नपाए पानी खाएर चित्त बुझाउन मानिस विवश हुन्थे। विकासक्रममा उहिले अल्पाहार लिएर वा भोकै बसेर जीवन बिताउने मानव जाति अहिले हप्तामा एक÷दुई दिन व्रत बस्दा बिरामी हुन्छ भन्नु ‘थ्यौरी अफ इभोल्युसन’ले समर्थन गर्ने कुरा होइन।

भोकै बस्नु खराब हो त ? त्यता पनि हेरौँ।  
विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा झन्डै २ करोड मानिसको मृत्यु मुटुसम्बन्धी रोगका कारण हुन्छ। तथ्यांकले एकतिहाइ मृत्युको कारक मुटु रोग मानेको छ। ४५ वर्ष कटेका मानिसमा ‘हार्ट प्रोब्लम’ अधिक देखिए पनि रोगको असर महिला र पुरुषमा पृथक पाइएको छ। ६० वर्षको उमेरपछि मात्र महिलालाई मुटु रोगले बढी सताएको देखियो भने पुरुषका हकमा ५० वर्ष पुग्नेबित्तिकै यसको जोखिम ज्यादै पाइयो। उमेर, लिंग तथा पुर्खाबाट सर्दै आएको अणुवांशिक पदार्थ ‘जिन’ ले मुटु रोग निम्त्याउने भएकाले यो कुरा मानिसको वशमा हुँदैन। त्यसकारण यसको चर्चा गर्नु सान्दर्भिक देखिन्न। शारीरिक परिश्रम र स्वस्थ खानाले मुटुलाई स्वस्थ राख्छ तर अहिलेको भौतिकवादी समाजमा यी नियम पालना गर्न सर्वसाधारणलाई सम्भव हुँदैन। यस्तो विषम परिस्थितिमा सरल विधिले मुटु रोग नियन्त्रण गर्न सकिन्छ कि भनी धेरै अनुसन्धान भए। र, तिनको चर्चा यो आलेखको उद्देश्य हो।

संसारभर दिनानुदिन मुटु रोगीको संख्या बढ्दो छ। यसमा नेपाल पनि अपवाद रहेन। हजुरबुबा पुस्तामा बिरलै देखिने मुटु रोग अहिलेको विकराल बनेको छ। आधुनिक विकासका कारण पुस्तान्तरपछि भारी परिश्रम गर्नुपर्ने बाध्यता अहिले अन्त्य भएको छ। भूमण्डलीकरण र उदारीकरणपछि गरिबको संख्या घट्यो। खाली पेट सुत्नुपर्ने अवस्थाबाट छुट्कारा पाए। आम्दानी बढेपछि बिहान–बेलुका भातका भरमा बाँच्नुपर्ने बाध्यता रहेन। बिहान ‘ब्रेकफास्ट’ र दिउँसो ‘स्न्याक्स’ थपिए। दिनमा ४ पल्ट खाने बानी प¥यो, मानिसलाई। जति–जति मानिसमा खानाको पहँुच बढ्यो, उति–उति मुटु रोगीको संख्या पनि आकासिएको देखियो। जसका कारण हामीले खाएको अत्यधिक खाना मुटु रोगको कारक हो त भन्ने प्रश्नको उत्तर खोज्नुपर्नेभयो।

भोकै बस्न बाध्य बेलाभन्दा खानामा सबैको पहँुच भएको समय मुटु रोगीको संख्या बढ्नाको कारण पहिल्याउने प्रयासमा वैज्ञानिक लागे। त्यसै क्रममा आवधिक रूपले व्रत बस्ने र सदैव सामान्य खाना खाने नियन्त्रित समूहको स्वास्थ्य तुलना गर्दा ‘फास्टिड’ गर्नेमा मुटुको समस्या निकै कम देखियो। संयुक्त राज्य अमेरिकाका मेयो क्लिनिक र क्लिभल्यान्ड क्लिनिक मेडिकल साइन्सको प्रोटोकल निर्धारण गर्ने अनुसन्धानात्मक चिकित्सालय हुन्। त्यहाँ प्रतिपादन भएका मेडिकल साइन्सका आदर्शहरू संंसारका लागि संहिता बन्छ। हप्ताको एकदेखि दुई दिनसम्म लगातार २४ घण्टा केही पनि नखाइ व्रत बस्ने हो भने मुटु रोग नियन्त्रणमा रहने ठान्छन्, मेयो क्लिनिक ‘प्रिभेन्टिभ कार्डियोलोजी’ का डाइरेक्टर डा. फ्रान्सिस्को लोपेज जिमेनिज। तर के कारण व्रत बस्दा मुटुलाई फाइदा गर्छ भन्ने सम्बन्धमा आफूँसँग प्रस्ट जवाफ नभएको उनी बताउँछन्। व्रत बस्दा जीवन धान्न शरीरमा सञ्चित खान्की उपयोग हुने हँुदा वजन घट्ने अनि खराब कोलेस्टरोल तथा लिपिड मात्रा बढ्न नपाउने हँुदा मुटु रोगको संक्रमण कम हुनेभन्दा अरू जवाफ आफूसँग नभएको डा. जिमेनिजको भनाइ छ। त्यस्तै क्लिभल्यान्ड क्लिनिकका मुटु रोग विशेषज्ञ हैथम अहमद पनि व्रत बस्दा मुटु स्वस्थ हुने कुरामा कुनै शंंका गर्दैनन्, तर सबै मानिसमा अल्पाहारको सूत्र समानरूपले लागू नहुने ठान्छन्, उनी। व्रत बस्दा मुटुका मुख्य चार सत्रु ब्लड प्रेसर, मधुमेह, कोलेस्ट्रोल तथा मोटोपन सबैलाई एकैपटक नियन्त्रणमा राख्न सकिने भएकाले ‘हार्ट प्रोब्लम’ समाधानका खातिर ‘फास्टिड’ का लागि सबैलाई आह्वान गर्छन्, उनी।

क्यान्सर नियन्त्रणका लागि केमोथेरापीमा रहेका बिरामीका हकमा समेत अल्पाहार फाइदाजनक देखिएको छ । अनि हाम्रो पाचन प्रणालीमा रहेका सूक्ष्म जीवाणु ‘गट ब्याक्टेरिया’ सन्तुलनका लागि समेत व्रत लाभप्रद साबित भएको छ ।

व्रत बस्दा शरीरमा लवण मात्रा घट्न गई थप समस्या नहोस् भन्नाका खातिर ‘इलेक्ट्रोलाइट’ सेवन गर्नुपर्ने ठान्छन्, उनी। तर गर्भवती तथा सुत्केरी, बच्चा, चिनी रोगी तथा अव्यवस्थित खाने बानी भएका मानिसका हकमा व्रत बस्ने बानी खतरनाक साबित हुने उनको भनाइ छ।  परिस्थिति जे भए पनि शारीरिकरूपले स्वस्थ व्यक्तिका हकमा केही पनि नखाने गरी लिइने निराहार व्रतले मुटु रोग नियन्त्रणमा फाइदा पुग्ने देखियो। भिन्न कारणले खाना नखाइ व्रत बस्न नसक्ने परिस्थितिमा रहेका व्यक्तिले समेत संयमित प्रकृतिको फलाहार व्रत लिनु स्वस्थ मुटुका लागि फाइदा कारक देखियो। एकादशीका दिन फलाहार खाने प्रचलनले समेत हाम्रो मुटुलाई फाइदा पु¥याएको देखियो।  

फरक अध्ययनले व्रत बस्दा क्यान्सर रोग नियन्त्रणमा समेत फाइदा पुग्ने देखायो। त्यस्तै क्यान्सर नियन्त्रणका लागि केमोथेरापीमा रहेका बिरामीका हकमा समेत अल्पाहार लिनु फाइदाजनक देखियो। अनि हाम्रो पाचन प्रणालीमा रहेका सूक्ष्म जीवाणु ‘गट ब्याक्टेरिया’ सन्तुलनका लागि समेत व्रत बस्नु लाभप्रद देखियो। व्रत बस्ने प्रचलन किन र कसरी सुरु भयो त्यसको एकिन गर्न कठिन रहे तापनि ‘फास्टिड’ बस्ने आदत स्वास्थ्यका लागि फाइदाजनक पाइयो। व्रत बस्ने बानीले मुटुको समष्टिगत स्वास्थ्यमा फाइदा पु¥याउनेमात्र होइन, अर्बुद रोग नियन्त्रणमा समेत भूमिका खेलेको देखियो। अल्पाहारका माध्यमले ‘गट ब्याक्टेरिया’ नियन्त्रण गरी बहुआयामिक स्वास्थ्य लाभ लिन सकिने यथार्थ सबैले हेक्का राख्न आवश्यक छ। पुरुषभन्दा महिलामा मुटु रोग कम देखिनु महिलामा व्रत बस्ने संस्कारको भूमिका नहोला भन्न सकिन्न।

 

प्रकाशित: १४ श्रावण २०७६ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App