८ वैशाख २०८१ शनिबार
समाज

धरहरा निर्माण गर्न सेनाले दियो ६ करोड

प्रधानमन्त्री दाहाललाई ६ करोड १७ लाखको चेक हस्तान्तरण गर्दै प्रधान सेनापति क्षेत्री। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— भूकम्पमा ढलेको सुन्धरास्थित धरहरा निर्माणका लागि नेपाली सेनाले ६ करोड १७ लाख १३ हजार रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ। सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले धरहरा पुनःनिर्माण कोषमा जम्मा हुने गरी सो रकम प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरे।

भूकम्पपछिको पुनः निर्माणको अवस्थामा छौं। राज्यका सबै अंग मिलेर यो कामलाई तीब्रता दिनुपर्छ। त्यसका लागि नेपाली सेनाले गरेको प्रयास प्रसंशनीय छ

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले धरहरा निर्माणका लागि तयारी गरिरहेको जानकारी दिए। 'भूकम्पपछिको पुनः निर्माणको अवस्थामा छौं। राज्यका सबै अंग मिलेर यो कामलाई तीब्रता दिनुपर्छ। त्यसका लागि नेपाली सेनाले गरेको प्रयास प्रसंशनीय छ', उनले भने।

धरहरा निर्माणका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्रीले बताए। नेपाल टेलिकमले धरहरा निर्माणका लागि आवश्यक अपुग रकम सबै लगानी गर्न तयार रहेको यसअघि नै जनाइसकेको छ।

पूर्ववर्ती केपी शर्मा ओली सरकारले धरहरा राष्ट्रिय गौरवको विषय भएकाले विदेशी लगानी नलिई जनस्तरबाटै पैसा उठाएर पुनःनिर्माण गर्ने जनाएको थियो। सोही अवधारणाअनुसार धरहरा पुनःनिर्माण कोष बनाएर रकम संकलन गर्ने कार्य भएको हो।

प्रकाशित: २२ कार्तिक २०७३ ०६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App