coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

उद्यमी बन्न चाहन्छन् विदेशबाट फर्केका युवा

काठमाडौं – साउदी अरेबिया जानुअघि काभ्रे, पाँचखालका रमेश लामालाई लाग्थ्यो– वैदेशिक रोजगारीभन्दा अर्को विकल्प छैन।

जब उनले दुई वर्ष साउदीमा काम गरे, उनको सोच पूरै बदलिएको छ। ‘युवाको भविष्य वैदेशिक रोजगारी नभई स्वदेशमै केही गर्नुपर्छ भन्ने कुरा साउदी पुगेपछि महसुस गरें,’ उनले भने, ‘त्यसैले विदेशबाट फर्केका युवालाई सरकारले दिने तयारी गरेको सहुलियत कर्जाको लागि आवेदन दिइसकेको छु।’

दुई वर्ष साउदीमा काम गर्दा कमाउन नसकेको बताउने उनले त्यहाँ गरेको मेहनतले स्वदेशमै केही गर्नुपर्छ भन्ने चेत खुलेको बताए। उनी भन्छन्, ‘अब विदेश जानुको साटो स्वदेशमै उद्यम गर्नका लागि चाहिने ऋण पाउन आवेदन गरेको हुँ।’

पाँचखालका लामा जस्तै हेटौंडाका अर्जुन कार्की पनि रोजगारीका लागी विदेश नजाने निष्कर्षमा पुगेका छन्। साउदीमै दुई वर्ष काम गर्दाको अनुभवले जस्तो पायो त्यस्तो मुलुकमा काम गर्न जानु भनेको समयको बर्बादी मात्र हो भन्ने उनलाई लागेको छ।

‘७० हजार रुपैयाँ खर्च गरेर गएको व्यक्तिले दुई वर्ष काम गर्दासम्म घर फर्कने बेला बडा मुस्किलले खर्च भएको रकम जुटाउन सकें,’ उनले भने, ‘दुई वर्षसम्म मरुभूमिमा हाड, छाला घोट्दासम्म ७० हजार रुपैयाँ जुटाउन नसकेपछि वैदेशिक रोजगारी नेपालबाट सोचेजस्तो रहेनछ भन्ने पुष्टि भयो।’ उनका अनुसार विदेशमा गरिने मेहनत स्वदेशमा गर्ने हो भने आर्थिक रूपमा जीवनलाई निकै सहज बनाउन सकिन्छ।

विदेशमा काम गर्दा थुप्रैपटक ठगीमा परेको स्मरण गर्दै उनले भने, ‘त्यस्तो पीडाले अब वैदेशिक रोजगारीमा नजाने निर्णय गरेको छु।’ कार्कीले पनि सहुलियत कर्जा पाउन आवेदन दिएका छन्। उनको योजना हेटौंडामै होटल सञ्चालन गर्ने छ।

२५ प्रतिशत सहुलियत कर्जाका लागि आवेदन दिने १८ हजार सात सय ३७ मध्ये सबभन्दा बढी चार हजार सात सय ४० जनाले उद्योग सञ्चालन गर्ने चाहना राखेका छन्।

कार्की र लामाजस्तै वैदेशिक रोजगारीबाट फर्केका अधिकांश युवाको चाहना स्वदेशमा उद्यम गर्ने पाइएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले विदेशबाट फर्केका युवालाई सहुलियत कर्जा उपलब्ध गराउन सूचीकरण गरेका १८ हजार सात  सय ३७ मध्ये अधिकांशले उद्यमी बन्ने चाहना राखेका छन्।

बोर्डले वैदेशिक रोजगारीबाट फर्केका युवाले प्रस्ताव गरेको व्यावसायिक योजनाको आधारमा सहुलियत ब्याजको कर्जाका लागि सूचीकरण गर्दा सबभन्दा बढी चार हजार सात सय ४० जनाले उद्योग सञ्चालन गर्ने चाहना राखेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।

‘विदेशमा सिकेको सीप र मेहनतले हुन सक्छ, धेरैले उद्यमी बन्ने चाहना राखेका छन्,’ उनले भने। विदेशबाट फर्केका युवाले गर्न चाहेको उद्यममा होटल, मदिरा, फलफूल, झोला, जुत्ताचप्पल कारखाना स्थापना गर्ने छन्। कतिपय विदेशबाट फर्केका युवाले मिडिया हाउस, गलैंचा उत्पादन, इँट्टा उद्योग स्थापना गर्नेसम्मका प्रस्ताव पेस गरेको बोर्डले जनाएको छ।

सहुलियतपूर्ण ऋणका लागि आवेदन दिनेमध्ये तीन हजार सात सय १० ले यातायात व्यवसायमार्फत स्वरोजगार हुन चाहेका छन्। कुखुरा, माछा, गाई, चौरी, बाख्रा, बंगुर, मौरीलगायत पशुपालन गर्न दुई हजार ६ सय ३२ युवाले ऋणको प्रस्ताव पेस गरेका छन्।

त्यस्तै, चिया, कफी, स्याउ, सुन्तला, कागती, टमाटर, च्याउ, तरकारी लगायतको खेती गर्न दुई हजार २२ युवाले चाहना राखेका छन्। बोर्डले वैदेशिक रोजगारीबाट फर्केर स्वरोजगार बन्न खोज्ने युवालाई लक्षित गरी जारी गरेको सूचना अनुसार उनीहरूले ऋणका लागि व्यावसायिक योजनासहितको प्रस्ताव पेस गरेका हुन्।

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार सहुलियतपूर्ण कर्जाका लागि सूचीकृत भएका १८ हजार सात सय ३७ मध्ये महिलाको संख्या आठ सय ९३ छ। सरकारले वैदेशिक रोजगारीमा जाने युवाको संख्या कम गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने बताइरहेको बेला वैदेशिक रोजगारीबाट फर्केका ठूलो संख्याको युवाले पुनः विदेश नजाने चाहना व्यक्त गरेका हुन्। यद्यपि सरकारले स्वदेशमा रोजगारीको संख्या वृद्धि गरेको तथ्यांक भने भेटिँदैन।

सरकारले बाध्यताको वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने बताइरहे पनि पहिलोपटक विदेश जानेलाई भने यस्ता कार्यक्रमले खासै प्रभाव पार्न सकेको छैन। विज्ञहरूका अनुसार कहिलै पनि विदेश नगएको युवाभन्दा पनि पटकपटक विदेश गइसकेकासँग सीप र लगानी हुन्छ। वैदेशिक रोजगारीको अनुभव गरिसकेका युवामा स्वदेशमै उद्यमी बन्ने चाहना देखिएको हो।

वैदेशिक रोजगारीबाट फर्केका युवाले व्यावसायिक योजनाको आधारमा १० लाख रुपैयाँसम्म सहुलियत कर्जा पाउनेछन्।

सहुलियतपूर्ण ऋणका लागि वैदेशिक रोजगारीबाट फर्केका युवाले बोर्डमा आवेदन दिए पनि अहिलेसम्म कर्जा भने पाउन सकेका छैनन्। कार्यकारी निर्देशक श्रेष्ठले कर्जाका लागि आवेदन दिएका सबैको विवरण अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई समेत बुझाइसकिएको बताए।

‘बिदेसिने युवालाई स्वदेशमै उद्यमी बनाउने सरकारको योजना अनुसार बोर्डले गर्नुपर्ने सबै काम पूरा गरी ऋण दिने निकायसम्म समन्वय गरिसकेका छौं,’ उनले भने, ‘अब वाणिज्य बैंकहरूले त्यस्ता युवालाई सहुलियतपूर्ण ऋण दिनुपर्छ।’

गत वर्षको बजेटमा अर्थमन्त्री युवराज खतिवडाले वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यावसायिक योजनाको आधारमा १० लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने योजना सार्वजनिक गरेपछि बोर्डले सोही अनुसार कार्यक्रम अघि बढाएको थियो। सहुलियतपूर्ण कर्जा लिनेले पाँच वर्षसम्म कर्जा चुक्ता गर्नुपर्ने र त्यसको बैंक ब्याज बढीमा पाँच प्रतिशतसम्म हुने बताइएको छ। कर्जा माग गरेका युवालाई राष्ट्र बैंकले चाँडो भन्दा चाँडो विभिन्न बैंकमार्फत ऋण दिने व्यवस्था हुनुपर्ने आवेदन पेस गरेका युवाको भनाइ छ।

स्वदेशमा रोजगारी पाउन नसकेपछि वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढिरहेको छ। वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ४६ लाख पुगिसकेको छ। त्यस्तै भारतमा कम्तीमा ३५ लाख नेपाली रहेको अनुमान गरिन्छ।  १४ महिनादेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबभन्दा ठूलो गन्तव्य मलेसिया बन्द गर्दा पनि आर्थिक वर्ष ०७५/७६ मा करिब पाँच लाख युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ। बन्द गर्नुअघि बर्सेनि मलेसियामा एक लाख ३० हजार हाराहारीका युवा रोजगारीका लागि जाने गर्थे।

कुल सूचीकरण–१८,७३७
उद्योग सञ्चालन–४,७४०
यातायात व्यवसाय–३,७१०
पशुपक्षी पालन–२,६३२
खेतीपाती–२,०२२
आवेदक महिला–८९३

प्रकाशित: १४ श्रावण २०७६ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App