८ वैशाख २०८१ शनिबार
समाज

आज घण्टाकर्ण मनाइँदै

भक्तपुर - टोलटोलमा मान्छे मार्ने राक्षस मारेको सम्झनामा मंगलबार भक्तपुरमा घण्टाकर्ण चतुर्दशी पर्व मनाइँदैछ। घण्टाकर्ण पर्वलाई स्थानीय नेवार समुदाय गथांमुगः चह्र भन्छन्। विशेष गरी भक्तपुरका टोलटोलका दोवाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँडी, नाङलोले बनाएको राक्षस रुपि गथांमुगको साँझ दाहसंस्कार गरिन्छ। भक्तपुरका टोलटोलमा घण्टाकर्णका साँझ सयौं गथांमुगको दाहसंस्कार गरिन्छ।

गथांमुग बनाउन टोलटोलमा स्थानीय स्तरमा नर्कट, छ्वाली, परालको संकलन गर्ने गर्दछन्। संकलित नर्कट, छ्वालीबाट तीनखुटे गथांमुग बनाइन्छ। पुरानो नाङलाको मुख, नाक, कानलगायतका अंग बनाई हाँडीको टाउको बनाइन्छ।

गथांमुग बनाउँदाको विशेषता यौन अंग झल्काउनु हो। दुईवटा ठूल्ठूला भोगटे अण्डाशयको रुपमा झुण्डान्छ र त्यसको बीचमा लाठीलाई परालले घेरेर लामो लिंगोको यौन अंग बनाइन्छ। जात्रामा सहभागी हुने सयौंले छ्वालीको राँको बालेर गथांमुगको दाहसंस्कारमा सहभागी हुन्छन्। टोलटोलमा बनाएको गथांमुगलाई टोलबाट पूर्वमा अवस्थित नजिकैको दोबाटो, चौबाटोमा जलाइन्छ।

कला संस्कृति भजन महागुथी भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसी यो पर्व पर्वमा मात्रै सिमित नभई वैज्ञानिक कारण पनि जोडिएको सुनाउँछन्। रापाइँपछि झारका कारण बढ्ने लामखुटे, भुसुनालाई आगो बालेर भगाउने वैज्ञानिक कारण यो पर्वसँग जोडिएको उनी बताउँछन्। जिउभरी घण्टा झुण्डाएर बस्ने भएकाले उनको नाम घण्टासुर पनि रहेको उनी प्रष्ट्याउँछन्।

दाहसंस्कारबाट फर्केर बाटोमा पर्ने धारा, ढुंगेधारा, कुवा, पोखरी, इनार आदिमा पुगी चोखिने चलन छ। घर फर्केपछि छ्वाली बालेर घरलाई धुवाँले सेक्ने चलन छ। साथै, आआप्mनो घरको ढोकामा किला ठोकेर सम्हे बजी (भोज) खाने चलन छ। घण्टाकर्ण चतुर्दशीका विषयमा एउटा प्रसिद्ध किम्बदन्तीसमेत रहेको छ। परापूर्व कालमा नेपालमा गथांमुग नाम गरेको एउटा नास्तिक थियो, जसलाई सत्यनिष्ठामा रहेका मानिस मन पर्दैनथ्यो। सत्य निष्ठामा रहेका मानिसलाई मारिदिन्थ्यो। दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिँड्ने मानिससँग जगात (पैसा) उठाउथ्यो।

पैसा नदिने मानिसलाई मारेर मासु खान्थ्यो। महिलालाई बलात्कार गथ्र्यो र राम्री लागेकीलाई श्रीमती बनाउँथ्यो। घण्टाकर्णको यस्ता क्रियाकलापले मानिसहरु आतंकित थिए। एक दिन भोकाएर निस्किएका बेला घण्टाकर्णको भेट भ्यागुतोसँग भयो। उसले भ्यागुतोलाई मानव बस्ती कता छ भनी सोध्यो। घण्टाकर्णको आतंकबाट पीडित भ्यागुतोले हिलेबाटो देखाइदियो। अलि पर पुग्नासाथ घण्टाकर्ण हिलोमा गाडियो।

उसले आफ्नो विशालकाय शरीर बाहिर निकाल्न सकेन। यही मौकामा घण्टाकर्णबाट पीडित मानिस एकत्रित भएर ढुंगामुढा र लाठाले हिर्काएर मारे। यसरी नरभक्षी राक्षसबाट मानव जातिले मुक्ति पाएको भन्ने किंवदन्ती पनि छ। मानवता विरोधी घण्टाकर्ण मारिएको दिन श्रावण कृष्ण चतुर्दशी परेकाले यस दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्न थालियो।

प्रकाशित: १४ श्रावण २०७६ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App