coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

ज्याकी चानसँग नेपाली फ्यान

बेइजिङ - बेइजिङमा अध्ययन नेपाली विद्यार्थीले हलिउड अभिनेता ज्याकी चानलाई भेटेका छन्। बेइजिङको पश्चिममा रहेको ओल्लो शान्षी प्रान्तको ताथोङमा आयोजित ज्याकी चान अन्तर्राष्ट्रिय एक्सन फिल्म अवार्डमा नेपालको प्रतिनिधित्व गरिरहेका राजु थामीले उनलाई भेट्ने मौका पाएका हुन्। ज्याकी चान अन्तर्राष्ट्रिय फ्यान क्लबको प्रतिनिधित्व गरेर अवार्डमा सहभागि थामी फिल्म क्षेत्रमा भने आवद्ध छैनन्। अभिनेता ज्याकी चानको फ्यान भएको दाबी गर्ने उनी सन् २०१९ मा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय फ्यान क्लबको भ्रमणमा सहभागि हुन छनोट भएका थिए।

फ्यान क्लबमा संसारभरका ४४ देशबाट साढे तीन सय सहभागी भएका थिए। यसमध्ये चीन, रुस र जापानबाट धेरै अभिनेता चानका फ्यानहरू सहभागी थिए। नेपालबाहेक भारत, पाकिस्तान, लाओस, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, सिंगापुर र मलेसिया लगायतका देशबाट अभिनेता चानलाई भेट्नका लागि थुप्रै फ्यानहरु चीनमा आएका थिए।

गत अप्रिलमा ज्याकी चान अन्तर्राष्ट्रिय फ्यान क्लबमा सहभागी हुनका लागि सूचना प्रकाशित भएको थियो। सो सूचनामा आफ्नो परिचयसहित बढीमा १५० शब्दमा आफूले ज्याकी चानलाई किन भेट्ने भन्ने कुरा खुलाएर लेख्नुपर्ने थियो। अभिनेता चानको फिल्महरू हेर्दै हुर्किएको हुँदा आफूले कराटेपनि सिकेको कुरा थामीले आवेदनमा लेखेका थिए। अभिनेता चानका संसारभरका फ्यानहरु गत मंगलबार बेइजिङमा भेला भएका थिए। सहभागीहरूलाई बुधबार बेइजिङ र थिआनचिनको अवलोकन भ्रमण गराइएको थियो। थिआनचिनमा अभिनेता चानको फिल्म तालिम केन्द्र रहेको छ। बिहीबार सहभागीहरूलाई ओल्लो शान्षी प्रान्तको ताथोङ लगिएको थियो। ताथोङमा अभिनेता चानको निजी फिल्म ग्राम रहेको छ। ठूलो क्षेत्र ओगटेको सो क्षेत्रमा ठूलो सभाकक्ष, फिल्म हल, सुटिङ स्टुडियो, बगैँचा र ताल लगायतका पूर्वाधारहरु रहेका छन्। सोही क्षेत्रमा ज्याकी चान अन्तर्राष्ट्रिय एक्सन फिल्म अवार्ड समारोहको आयोजना गरिएको थियो। शुक्रबार र शनिबार आयोजित कार्यक्रममा थामी सहभागी भएका थिए।

थामीले पहिलो पटक अभिनेता चानको ‘ड्रकंन मास्टर’ नामक फिल्म हेरेको बताएका छन्। ‘बाल्यकालमा पहिलो पटक ‘ड्रकंन मास्टर’ फिल्म हेरेको सम्झना छ। सकेसम्म अभिनेता चानका फिल्महरू हेरिरहेको हुन्छु ,’ थामीले नागरिकसँग भने ‘पछि ‘द फरेनर’,‘आ¥मुर अफ गड’ जस्तै संसारभर ख्यातिप्राप्त फिल्महरू हेरेको छु।’     दोलखामा जन्मिएर हुर्किएका थामीले चीनमा सबैले कुंग्फू कराटे जानेका हुन्छन् भन्ने सोच राखेका थिए। चीनमा आएपछि उनले थाहा पाए सबै चिनियाँले कुंग्फू कराते बुझ्दैनन् रहेछन्। अनि उनले सोचेजस्तो सबै चिनियाँले अभिनेता चानलाई भेट गर्न पाउँदा रहेनछन्। पेकिंग विश्वविद्यालयमा एमबीबीएस दोस्रो वर्षको अध्ययन पूरा गरेका थामीले अहिले पनि हप्ताको दुईपटक कराते सिकिरहेको बताए।

आफूले अभिनेता चानसँग भेट गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै थामीले भने, ‘थिआनचिनमा रहेको ज्याकी चानको एक्सन फिल्म तालिम केन्द्रको प्रत्यक्ष अवलोकनसँगै ओल्लो शान्षी प्रान्तको ताथोङस्थित ज्याकी चान अन्तर्राष्ट्रिय एक्सन फिल्म अवार्ड समारोहमा रातो कार्पेटबाट अगाडि बढेर समारोहमा सहभागी हुन पाएँ।’ शनिबार ताथोङमा आयोजित सो समारोहमा नेपालको झण्डा फहराउँदै अगाडि बढ्दा गौरव महसुस भएको उनले बताए।
 
ज्याकी चान च्यारिटेबल फाउन्डेसनलमार्फत सन् २०१५ मा अभिनेता चान भूकम्प पीडितलाई सहयोग गर्न राहत लिएर नेपाल आएका थिए। उनले नेपाली भूकम्प पीडितका लागि एक लाख सिंगापुर डलर सहयोग गरेका समेत थिए। ‘हलिउड वाक अफ फेम’ प्राप्त गरेका अभिनेता च्यानले ‘द कराँते किड’, ‘पुलिस स्टोरी’, ‘द स्पाइ नेक्ट डोर’, ‘क्राइम स्टोरी’, ‘रस आवर’, ‘द योङ मास्टर’, ‘ड्राइगन फरइभर’, ‘द प्रोटेक्टर’, ‘द फर्बिटन किगं’, ‘ड्रकंन मास्टर’ र ‘द मिथ’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन्।

प्रकाशित: १४ श्रावण २०७६ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App