८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

क्यालिफोर्निया गोलीकाण्डमा तीनजनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्निया सहर नजिकै आयोजित एक खानेकुराको मेलामा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ। ‘द गिलरोय गार्लिक फेस्टिभल’ नाम दिइएको मेलाको अन्तिम दिन आइतबार सहभागी भएका माथि गोली प्रहार हुँदा १५ जना व्यक्ति घाइते भएका छन्। एक संदिग्ध बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेसँगै प्रहरीले गरेको जबाफी कारबाहीमा उसको पनि मृत्यु भएको जनाइएको छ। बन्दुकधारीको मृत्यु भए पनि अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

सान जोसे सहरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा रहेको गिलरोय सहरमा सो गोलीकाण्ड भएको थियो। एक मिनेटभन्दा पनि कम समयमा उक्त गोलीकाण्ड भएको जनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार एक बन्दुकधारीले अर्धस्वचालित बन्दुकबाट गोली प्रहार गरेका थिए। तीन दिनको यस पर्वमा लसुनका परिकार हेर्न हजारौं व्यक्ति भेला भएका थिए।

मारिनेमध्ये सर्वप्रथम छ वर्षीय स्टेफन रोमेरोको पहिचान भएको प्रहरीले जनाएको छ। उनकी आमा र हजुरआमा घाइते हुनेमध्येमा रहेको बताइएको छ। आफ्नी श्रीमतीले आत्तिएको स्वरमा घटनाबारे फोन गर्दा आफू नौ वर्षीय छोरीसहित घरमै रहेको मृतक ती बालकका पिता अबलेर्टो रोमेरोलाई उद्धृत गर्दै मर्करी न्युजले जनाएको छ। लसुनबाट बन्ने विभिन्न परिकारको प्रतियोगिताको रूपमा रहेको यस मेलामा हरेक वर्ष करिब एक लाख व्यक्तिको उपस्थिति रहँदै आएको मेला आयोजकले बताएका छन्। मेलामा लसुनबाट बन्ने विभिन्न खानेकुरा र पेयपदार्थ राखिएका थिए। सन् १९७९ देखि वार्षिक रूपमा यो पर्व मनाउन थालिएको हो।

बन्दुक आक्रमणको खास कारण भने प्रष्ट हुन सकेको छैन। अमेरिकामा वर्षैपिच्छे ठुल्ठूला गोलीकाण्ड हुने गरेका छन् जहाँ अत्याधिक हतियारको आडमा आममानिसमाथि जथाभावी गोली प्रहार हुने गरेको छ। बन्दुक हिंसाका कारण अमेरिकामा बर्सेनी ४० हजारको हाराहारीमा मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्। क्यालिफोर्नियामा भएको यस बन्दुक आक्रमण संयुक्त राज्य अमेरिकामा यस वर्ष भएको २४६औं आम गोलीकाण्ड हो। यस गोलीकाण्ड मच्चाउने व्यक्रि १९ वर्षीय सान्तिनो विलियम लेगन भएको सिबिएस न्युजलाई उद्धृत गर्दै  बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: १४ श्रावण २०७६ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App