८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘भयावह घटना’ भन्दै चीनद्वारा निन्दा

प्लास्टिकको सिल्डले छोपिएको हङकङस्थित सम्पर्क कार्यालयमा रहेको चीन सरकारको राष्ट्रिय प्रतीक।

बेइजिङ – हङकङमा पछिल्ला समय भइरहेको सरकार विरोधी प्रदर्शनलाई ‘भयावह घटना’ भन्दै चीनले निन्दा गरेको छ। उसले हङकङमा भइरहेको प्रदर्शनले ‘विधिको शासनमाथि गम्भीर क्षति’ पु¥याएको आरोप पनि लगाएको छ। हङकङस्थित चीनको नीति निर्माणसम्बन्धी एक उच्च कार्यालयका प्रवक्ताले चीनको प्रमुख उद्देश्य हङकङमा ‘सामाजिक व्यवस्थालाई पुनस्र्थापना गर्नु रहेको’ बताएकी छन्।

विरलै प्रतिक्रिया दिने हङकङ र मकाउ मामिला हेर्ने कार्यालयका प्रवक्ताले यस्तो प्रतिक्रिया दिएको बिबिसीले उल्लेख गरेको छ। हङकङमा लगातार आठ सातादेखि सरकार विरोधी प्रदर्शन भइरहेको छ। आइतबार भएको सरकार विरोधी प्रदर्शनमा लोकतन्त्र पक्षधर र प्रहरीबीच हिंसात्मक झडप भएको थियो। हङकङस्थित चिनियाँ सम्पर्क कार्यालयतर्फ प्रदर्शनकारी अगाडि बढेपछि प्रहरीले उनीहरुलाई तितरवितर पार्नका लागि कैयौं सेल अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो। सहरका विभिन्न क्षेत्रमा प्रदर्शनकारीलाई रोक्नका लागि प्रहरीले छेकबारसमेत लगाएको थियो।

निरन्तर रूपमा भइरहेको प्रदर्शन हङकङमा रहेका अतिवादी तत्वले गरेको दुष्ट र आपराधिक कार्य भएको हङकङ र मकाउ मामिला हेर्ने कार्यालय (एचकेएमएकओ) की प्रवक्ता याङ गुहाङले सोमबार बताएका छन्।

बेइजिङस्थित अधिकारीहरुले हङकङमा भइरहेका पछिल्ला प्रदर्शनको निन्दा गर्दै प्रमुख कार्यकारी क्यारी लामलाई कैयौं पटक समर्थन गर्ने गरेको भए पनि सोमबारको प्रतिक्रिया पहिलो पटक भएको नागरिक अशान्तिप्रति चिनियाँ उच्च तहका नेतृत्वको आधिकारिक धारणामाथि पनि असन्तुष्टि पोखिएको जस्तो देखिएको बिबिसीले उल्लेख गरेको छ।

चीनले के भन्यो ?
निरन्तर रूपमा भइरहेको प्रदर्शन हङकङमा रहेका अतिवादी तŒवले गरेको दुष्ट र आपराधिक कार्य भएको हङकङ र मकाउ मामिला हेर्ने कार्यालय (एचकेएमएकओ) की प्रवक्ता याङ गुहाङले सोमबार बताएका छन्। ‘पछिल्लो अवस्थाको खराब प्रकृतिसँग सजग रहन हामी हङकङका आम जनतासमक्ष आग्रह गर्दछौं,’ सोमबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता याङले बताए।

‘हङकङको प्राथमिकता यथासक्य सामाजिक व्यवस्था कायम गर्नका लागि हिंसा र कानुनविपरीत कार्यलाई सजाय दिनु पनि हो,’ अर्की प्रवक्ता सु लुइङ थपिन्। एचकेएमएकओ कार्यालयले हङकङ सरकारप्रति चिनियाँ सरकारको बलियो समर्थन रहेको पनि बताएको छ। सो कार्यालयले हङकङका जनतालाई शान्तिपूर्ण रूपमा हिंसाको विरोध गर्न पनि आह्वान गरेको बिबिसीले उल्लेख गरेको छ। त्यसैगरी हङकङ प्रहरी फौजप्रति पनि पूर्ण समर्थन रहेका सो कार्यालयले जनाएको छ।

चीनको विकासलाई रोक्नका लागि पछाडि लागिरहेको पश्चिमा शक्तिको भड्कावमा हङकङमा प्रदर्शन भइरहेको पनि एचकेएमएकओले आरोप लगाएको छ।
चीन सरकारको हङकङस्थित सम्पर्क कार्यालयमा रहेको राष्ट्रिय प्रतीकमाथि प्रदर्शनकारीले तोडफोड गरेको एक सातापछि चिनियाँ पक्षको यस्तो खालको प्रतिक्रिया आएको हो। गत आइतबार भने प्रशासनले सरकारी प्रतीकलाई सुरक्षा कवचले संरक्षण गरेको थियो। प्रदर्शनको समर्थन गरिरहेका हङकङका एक विधायक क्लाउडिया मोले बेइजिङको पछिल्लो प्रतिक्रियाले थप तनाव बढाउनसक्ने तर्फ संकेत गरेकी छन्।

‘बेइजिङमा आज के भयो भन्ने विषयले हङकङको प्रदर्शनमा थप बल पुग्नेछ,’ उनले बिबिसीसँग बताइन्। हङकङ बाप्टिस्ट विश्वविद्यालयका एक वरिष्ठ अध्यापक बु्रस लुईले एचकेएमएओले गरेको पत्रकार सम्मेलनलाई सम्झन नचाहेको बताए। ‘बेइजिङले एउटै कुरा दोहो¥याइरहेको छ। उसले हिंसाको निन्दा गरेको छ, प्रमुख कार्यकारी क्यारी लामलाई समर्थन गरेको छ र हङकङ प्रहरीको साथमा रहेको बताएको छ,’ उनले बिबिसीसँग बताए। चिनियाँ जनमुक्ति सेनाको परिचालनको सम्भावना कतिको रहेको छ भन्ने प्रश्नमा उनले यो विषय निकै टाढाको विषय रहेको बताएका छन्।

हङकङमा जनमुक्ति सेना तैनाथ रहेको भए पनि स्थानीय मुद्दामा उनीहरुले हस्तक्षेप गर्न सक्दैनन्। यद्यपि सार्वजनिक व्यवस्था कायम गर्न र प्राकृतिक प्रकोपमा उद्धार गर्नका लागि हङकङ सरकारले चिनियाँ जनमुक्ति सेनासँग सहयोगको माग गर्न सक्ने प्रावधान रहेको छ। मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो। विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयक लक्षित हुनसक्ने भन्दै आलोचकहरुले विरोध जनाएका थिए।

कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो। यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका थिए। प्रदर्शन जारी रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले माफीसमेत मागेकी थिइन्। तर पछिल्लो समय प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ।
बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

प्रकाशित: १४ श्रावण २०७६ ०१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App