१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गत वर्ष ४ सय १० उद्योग दर्ता

काठमाडौं-गत आर्थिक वर्षमा ४ सय १० उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार एक वर्षमा साना, मझौला र ठूला गरी सो संख्यामा उद्योग दर्ता भएका हुन्।
विभागका अनुसार विभिन्न किसिमका ४ सय १० उद्योग दर्ता भएका हुन् । कृषि तथा वनजन्य, निर्माण, ऊर्जामूलक, उत्पादनमूलक, सेवामूलक र पर्यटन गरी जम्मा ४ सय १० उद्योग दर्ता भएका हुन् ।  
दर्ता भएका उद्योगमा सबैभन्दा धेरै उत्पादनमूलक छन् । तथ्यांक अनुसार १ सय ३५ उत्पादनमूलक उद्योग दर्ता भएका छन् । यी उद्योगमा ५८६६४.९७  मिलियन रुपैयाँ लगानी भएको छ भने ८ हजार ७ सय ९ जनाले रोजगारी पाउने लक्ष्य राखिएको छ।  
त्यसपछि सेवा उद्योगमा धेरै लगानी भएको छ । एक वर्षमा सेवामा १ सय १८ वटा दर्ता भएका छन् । यस क्षेत्रमा ११८४९.५० मिलियन (११ अर्ब ८० करोड ४९ लाख रुपैयाँ) रुपैयाँ लगानी भएको छ । त्यस्तै ४ हजार ९ सय ९९ जनाले रोजगारी पाउने उल्लेख गरिएको छ । सेवापछि पर्यटनमूलक उद्योग दर्ता भएका छन् । यस क्षेत्रमा १ सय १३ वटा उद्योग दर्ता भएको विभागको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । पर्यटन उद्योगमा एक वर्षमा १२१२४.९५ मिलियन रुपैयाँ लगानी गरिएको छ । साथै यो उद्योगमा ३ हजार ९ सय ८५ जनाले रोजगरी पाउने उल्लेख गरिएको छ ।  
गत आर्थिक वर्षमा कृषि तथा वनजन्य क्षेत्रमा २८ उद्योग दर्ता भएका छन् । यी उद्योगमा ९८७.९० मिलियन रुपैयाँ लगानी गरिने र १ हजार ३८ जनाले रोजगारी पाउने उल्लेख छ । त्यस्तै यस अवधिमा१५ वटा ऊर्जामूलक उद्योग दर्ता भएका छन् । जम्मा ३८३४४.८९ मिलियन रुपैयाँ लगानी गर्ने लक्ष्य राखिएको यी उद्योगमा ६ सय ७८ जनाले रोजगारी पाउने उल्लेख छ ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०६९÷०७० मा ४ सय ४५ वटा उद्योगले सञ्चालन स्वीकृति लिएका छन् । त्यस्तै २०६८÷०६९ मा २ सय ७९, २०६७÷६८ मा २ सय ४१ वटा उद्योग दर्ता भएका छन् । हरेक वर्ष उद्योग दर्ता र लगानीको प्रतिबद्धता बढिरहेको देखिन्छ ।
ऊर्जा संकट, श्रम समस्या र विभिन्न कानुनको निर्माण नभएकाले यी समस्याको समाधान हुनेबित्तिकै देशमा उद्योगले ठूलो फड्को मार्ने विश्वास लिइएको छ ।
नेपालमा वार्षिक अर्बौं रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आउँछ । लगानी बोर्ड र उद्योग विभाग मार्फत आउने प्रतिबद्धता व्यवहारमा लागू भने हुँदैन । राजनीतिक अस्थिरताका कारण विदेशी लगानी कम आइरहेको बेला उद्योगमा धेरै कम मात्र लगानी हुने गरेको छ ।  
नेपालमा लगानी गर्न विदेशी लगानीकर्तामा विश्वास जगाउनुपर्ने आवश्यकता छ । उद्योग स्थापना गर्न प्रतिबद्धता गरे पनि यहाँको वातावरणका कारण विदेशीले जोखिम उठाउन नचाहेको व्यवसायीको भनाइ छ ।  
उद्योग विभागका अनुसार वार्षिक रुपमा आउने लगानी प्रतिबद्धतामध्ये २५ देखि ३० प्रतिशतसम्म मात्र नेपाल भित्रन्छ । अस्थिर राजनीतिक परिस्थितिका प्रतिबद्धता अनुसार लगानी नआएको व्यवसायी बताउँछन् ।
व्यवसायीका अनुसार देशमा प्रमुख तीन कारणले गर्दा विदेशी लगानी प्रतिबद्धता पूरा नभएको हो । पहिलो, वर्षौंदेखिको राजनीतिक अस्थिरता । आन्दोलन, बन्द हड्ताल वर्षौंदेखि कायम छ । यस्तो परिस्थितिमा विदेशी लगानीकर्ताले प्रतिबद्धता जनाए पनि लगानी गरिहाल्ने जोखिम उठाउन नचाहेको व्यवसायी बताउँछन् ।
दोस्रो, ऐन कानुन लगानीमैत्री छैनन्  । देशमा नयाँ संविधान बने पनि वर्षौं पहिले बनेका ऐन कानुन छन्, जसले आधुनिक लगानीकर्तालाई आकर्षित गर्न सक्दैनन् । समयानुकूल परिमार्जन हुनुपर्ने ती ऐनहरू वर्षौंदेखि यथावत छन् ।
तेस्रो, विद्युत लगायत पूर्वाधार अभावले लगानिकर्तालाई दिक्क बनाउँछ । देशमा ऊर्जाको समस्या विकराल छ । लामो लोडसेडिङले गर्दा भएका उद्योगले पनि राम्रो प्रतिफल दिन सकेका छैनन् । यति हुँदा हुँदै पनि पछिल्लो समय जलविद्युत र सिमेन्ट उद्योगमा लगानी बढ्दै गएको छ ।

 

प्रकाशित: २२ कार्तिक २०७३ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App