coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

आर्थिक विकासमा सांस्कृतिक पर्यटन

भनिन्छ, नेपालको अर्थव्यवस्था यी तीन कुरा १) पर्यटन, २) जलस्रोत र ३) जनशक्ति अर्थात म्यान पावरमा अडेको छ । हिजोआज हाम्रो देशको पर्यटन उद्योगमा सांस्कृतिक पर्यटन र प्राकृतिक पर्यटनबाहेक अरु धेरै आयाम थपिइसकेका छन् । जस्तै साहसिक पर्यटन, खेल पर्यटन, मनोरञ्जन पर्यटन आदि । पर्यटनका यी सबै आयाम धमाधम हाम्रो देशमा हुर्कंदै बढ्दैछन् । यस लेखमा हाम्रो देशको सांस्कृतिक पर्यटनबारे केही खोतल्न खोजिएको छ ।

नेपालमा सांस्कृतिक पर्यटन अर्थात कल्चरल टुरिज्मको इतिहास निकै पुरानो छ । पौराणिक कुरा छाडौँ, इतिहासले प्रमाणित गरेकामा ईशापूर्वको चौथौं शताब्दीमा जैनसाँधु आचार्य भद्रवाहुको नेपाल उपत्यकामा आउनु र ईशाको चौथौं शताब्दीमा बौद्ध भिक्षु एवं योग गुरु आचार्य वसुवन्धु उपत्यकामा आई स्वयम्भू महाचैत्य दर्शन गरेर गएका घटनाहरु नै लिन सकिन्छ ।

ईशापूर्व तेस्रो शताब्दी अर्थात चन्द्र गुप्त मौर्यको समयमा लेखिएको प्रसिद्ध अर्थशास्त्र एवं नीतिशास्त्रको पुस्तक कौटिल्यको ‘अर्थशास्त्र’ नामक ग्रन्थमा पनि त्यसबखत नै नेपाल ऊनका राडी, पाखी र अन्य वस्त्रका लागि प्रसिद्ध थिए भनिएकाले त्यसबखतमै नेपाली व्यापारीहरु भारत गई यी वस्तुको व्यापार गर्थे र भारतीय व्यापारीहरु पनि नेपाल आई यी वस्तुका अलवा जडीबुटी, कस्तूरी आदि लिएर भारत जाने गर्थे भनी प्रमाणित भएको छ ।

यी सबै भए इतिहासका कुरा । अब आजको कुरा गरौं– अघिल्लो वैशाख १२ र २९ मा गएको भूकम्पहरुले हाम्रो सांस्कृतिक पर्यटनको केन्द्रविन्दुस्वरूप रहेका काठमाडौं उपत्यकालगायत देशका अन्य भागका सांस्कृतिक सम्पदाहरुलाई सयौँको संख्यामा ध्वस्त र भग्न पा¥यो । यो नेपालीमात्रका लागि ठूलो दुर्भाग्य त हुँदै हो साथै विश्व मानव जातिका लागि पनि ठूलो क्षति र हानि हो । किनभने यी सब मानवनिर्मित सभ्यताका चिह्न हुन् । पुरातात्विक एवं ऐतिहासिक महत्वका मात्र करिब ७४१ वटा स्मारक ध्वस्त र नष्ट भएको तथ्याङ्क प्राप्त भएको छ ।

अब सबभन्दा ठूलो समस्या र हाम्रो कर्तव्य भनेको यी स्मारक र सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गरी कसरी आफ्नै ठाउँमा उभ्याउने भन्ने हो । त्यो त्यति सजिलो काम छैन । संसारभरबाट यस कामका लागि हामीलाई आर्थिक सहयोग त प्राप्त होला र हाम्रो सरकारले पनि यसलाई प्राथमिकता दिई बजेट व्यवस्था गर्ला तर पैसाले मात्र हाम्रा यी सम्पदा अब आफ्नै मौलिक स्वरूपमा फर्काउन भने निकै कठिन छ ।

यी सम्पदालाई पुनःजीवन र जीर्णोद्धार गरी यथास्थितिमा ल्याउन सरकारी स्तरमा जिम्मेवारी पाएको संस्था पुरातत्व विभाग हो । त्यसका अलावा करिब १०÷१५ प्रतिशत स्मारकको जिम्मेवारी गुठी संस्थानको छ भने बाँकी केही प्रतिशतको जिम्मेवारी नगरपालिका र स्थानीय प्रशासनको पनि छ ।

जिम्मेवारी जोसुकै संस्थाको होस्, यो हामी सबै नेपालीको सम्पदा हो र यसको पुनःनिर्माण हामीले नै गर्नुपर्छ । हामीले बाहेक अरु मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्था (जस्तै– युनेस्को, युएनडिपी, इकोरम आदि) ले गर्ने पनि होइन र गर्न पनि आउँदैनन् । यी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग हामीले हाम्रा यी स्मारकको पुनःनिर्माण र जीर्णोद्धारका लागि चाहिने आर्थिक सहयोगका अलावा प्रविधि, सामग्री, रसायन र विशेषज्ञहरुको सेवा भने जरुरी पनि लिनुपर्छ ।

पैसा र अन्तर्राष्ट्रिय सहयोग त आइपुग्छ तर हाम्रो पुरातत्व विभाग, गुठी संस्थान र स्थानीय निकायसँग यी स्मारकलाई पुनर्जीवन दिने सामथ्र्य छ वा छैन, त्यो साह्रै महत्वपूर्ण कुरा एवं ठूलो प्रश्न छ । मैले जीवनमा लामो समयसम्म पुरातत्व विभागमा काम गरेको हुनाले लाग्छ, अहिलेको पुरातत्व विभागसँग, यो भूकम्पले ल्याएको र दिएको चुनौती सामना गर्न सक्ने पर्याप्त जनशक्ति छैन । तसर्थ पुरातत्व विभागलगायत गुठी संस्थान र स्थानीय निकाय नगरपालिकाहरुको सम्पदा शाखाहरुलाई समेत पुनर्गठन गरी जनशक्ति थपी यी निकायमा प्रशस्त तालिम प्राप्त जनशक्ति बढाउनुपर्छ ।

तालिम प्राप्त जनशक्ति तयार गर्ने एकातिर चुनौती छ भने अर्कोतिर पुनःनिर्माणका लागि चाहिने सामग्रीहरुको पनि ठूलो अभाव छ । उपत्यकाभित्र यति धेरै बस्ती बढिसके कि पहिलेका मन्दिर निर्माण गर्दा प्रयोग गर्ने पहेँलो माटो र छाना छाउने कालो माटो पाउनसमेत मुस्किल छ । इँटा र झिंगटीको पनि त्यही हाल छ, इँटा र झिंगटीका लागि माटो फेला परे तापनि त्यो बन्न करिब वर्ष दिन लाग्छ । काठको समस्या अलग्गै छँदैछ । अर्थात समस्या थुप्रै छन् ।

यी सबै समस्याका बाबजुद पनि हामीले जसरी भए पनि हाम्रा यी स्मारकलाई फेरि विश्वसामु उभ्याउनुपरेको छ । हाम्रो देशको पर्यटन विकासका लागि यो एउटा मूल आधार नै हो । भनिन्छ, नेपालको पर्यटनमा संस्कृति र प्रकृति दुवैको ठूलो भूमिका छ । तसर्थ हाम्रो राष्ट्रको आर्थिक विकासको आधारशीला पर्यटन उद्योगलाई फेरि उठाउन, बढाउन हामीले हाम्रा सम्पदा अविलम्ब पुनःनिर्माण गरी विश्वसामु देखाउनुपरेको छ । हामी सम्पूर्ण आजको पुस्ताका लागि यो एउटा ठूलो चुनौती पनि हो ।

तसर्थ सकेसम्म चाँडो पर्यटकको बढी चासो रहेका हाम्रो काठमाडौं उपत्यका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुकै पुनर्निर्माण र जीर्णोद्धार गरी ती स्मारकलाई पुनर्जीवन दिनुपर्छ । यस दृष्टिकोणबाट हनुमानढोका दरवार क्षेत्रमा भने हालसम्म १÷२ वटा स्मारकको मर्मतबाहेक पुनःनिर्माणको अरु ठोस कार्य हुन सकिरहेको देखिँदैन । त्यस्तै समस्या अन्य विश्व सम्पदा क्षेत्रमा पनि देखा परिरहेकै छ । भूकम्पपछि आउने पर्यटकले पहिलेको झँै सवुद स्मारकहरु तत्कालै हेर्न खोजिरहेका छैनन् । तर तिनीहरु कमसेकम अति प्रसिद्ध नाम चलेका स्मारक (जस्तै– काष्ठमण्डप, माजुदेगल, हनुमानढोका दरवारका गद्दी बैठक र अन्य लङ्गहरु)मा पनि पुनःनिर्माणका काम भइरहेको देख्न चाहन्छन् । पाटन दरवार क्षेत्रको पनि यही हाल छ । तर यस क्षेत्रको ठूलठूला स्मारकमध्ये चार नारायण र हरिशंकरको मन्दिरमा काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टमार्फत केही काम भइरहेको देखिन्छ भने अन्य मन्दिर (जस्तै– स्वथः टोलको राधाकृष्ण मन्दिर, प्रसिद्ध कृष्णमन्दिर आदि)मा हालसम्म केही हुन गइरहेको देखिँदैन । त्यस्तै स्वयम्भूको अनन्तपुर, पशुपतिको विश्वरूप, काठमाडौंको भीमसेन स्तम्भ (धरहरा), जैसिदेवल, कालमोचनको हेमहिरण्य नारायण मन्दिर, भक्तपुरको वत्सलादेवी मन्दिर आदि स्मारकमा पनि विश्व पर्यटकको ध्यान जाने हुनाले यी स्मारकको पनि अविलम्ब पुनःनिर्माणको कार्य सुरु गरिनुपर्छ ।

भूकम्प गएको पनि डेढ वर्षभन्दा बढी भइसकेको छ । अब यसरी अरु कति समयसम्म हामीले पर्खेर बस्ने हो ? सम्बन्धित निकायहरुले पुनःनिर्माण, जीर्णोद्धार र पुनस्र्थापित गर्नुपर्ने सबै सम्पदाको विषयलाई लिएर जनताको जानकारीका लागि अविलम्ब एउटा श्वेतपत्र जारी गर्नुपर्ने देखिन्छ।

प्रकाशित: २२ कार्तिक २०७३ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App