७ वैशाख २०८१ शुक्रबार
अन्य

उडुवा हुलाकी

पाँचवर्षे सुदिनले सपनामा दिदीलाई देख्यो। दिदी सुम्निमाले दुवै हात माथितिर उचालिन्। चारैतिर डाँडाले थामेको आकाशलाई सजिलै छोइन् र धक्का दिइन्। आकाश त कता हो कता माथि पो धकेलियो। अनि दिदी आफैँ पनि बिस्तारै आकाशतिर उड्न थालिन्। दिदी टाढिँदै गएपछि तल जमिनबाट रुँदै सुदिनले भन्यो, ‘दिदी धेरै माथि नजाऊ, बादलले छोप्ला, तल आऊ।’

माथि आकाशमा बादलको पर्दा पन्छाउँदै दिदीले भनिन्, ‘मेरो प्यारो भाइ, म अहिल्यै आउन पाउदिनँ। तिमी वरिपरिका यी डाँडाले आकाश अड्याएका छन् भन्थ्यौ, पहिला त्यो हो कि होइन, तिमी आफैँ पत्ता लगाऊ। त्यसपछि तिम्रो जवाफ सुन्न म आउँछु।’
‘साँच्ची आउँछ्यौ ?’

‘आउँछु। केही गरी त्यति बेला आउन पाइन भने तिमी राम्रो पढेर कक्षामा फस्र्ट भएपछि बधाई दिन आउँछु। घोकेर होइन, बुझेर पढ्नू। बुझेको कुरा जीवनमा उतार्नू। दुःखमा परेकालाई उपकार गर्नू। त्यतिखेर म अवश्य आउँछु।’
‘पक्का आउँछ्यौ ?’
‘पक्का, आउँछु मेरो प्यारो भाइ !’
‘आइनौ भने.. !’

‘त्यति बेला पनि आउन पाइनँ भने सम्झनू, तिमीले अझै धेरै मिहिनेत गर्न बाँकी छ। तिमी ठूलो र असल मान्छे हुनू। ठूलो लेखक वा कलाकार हुनू। नभए परोपकारी डाक्टर, वा इन्जिनियर हुनू। बिपतमा परेकालाई सघाउनू। जे भए पनि, जे बने पनि ठूलो र असल चाहिँ बन्नू। त्यसपछि त कसैगरी म तिमीलाई भेट्न आइहाल्छु। तर, त्यसका लागि तिमीले आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ। ठीक समयमा सुत्ने, ठीक समयमा खाने, ठीक समयमा उठ्ने गनुपर्छ। अलिअलि खेल्नु पनि पर्छ। त्यसभन्दा बढी चाहिँ राम्ररी पढ्नुपर्छ।’

‘हुन्छ। म तिमीले भनेजस्तै गर्छु। तर, मैले तिमीलाई खबर भने कसरी पठाउनू कुन्नि ! तिमी त बादलपारि स्वर्गमा बस्छ्यौ रे, होइन ?’
‘हो। मलाई तिमीले चिठी लेख्नू नि भाइ !’
‘हुन्छ, म चिठी लेख्छु’, सुदिनले भन्यो, ‘तर, तिमी ह्यैँ, हामीसँगै बस न दिदी ! किन माथि एक्लै बस्छ्यौ ?’
सुदिन झल्यास्स बिउँझियो। दिदीलाई सम्झेर रुन थाल्यो। हजुरआमाले मायाले मुसार्दै उसको आँसु पुछिदिनुभयो।


एक महिनाअघि मात्र उसकी प्यारी दिदी तुइनबाट खसेर स्वर्गीय भइन्। अघिल्लो वर्षसम्म दिदीभाइ गाउँको एउटै स्कुलमा पढ्थे। दिदी सधैँजसो उसको नरम हात समातेर हिँडाउँथिन्। नभए,  बोकेरै कक्षासम्म पु¥याउँथिन्। दिदी उसलाई कति माया गर्थिन् ! यसै वर्ष उनी कक्षा ९ पढ्न जुइनागाउँबाट पिपलभञ्ज्याङ जानुपर्ने भयो। त्यहाँ पुग्न जुइना नदीमाथि तुइन चढ्नुपथ्र्यो। नदीमा सधैँजसो डरलाग्दो पानीको भेल बगिरहेको हुन्थ्यो। कहिलेकाहीँ सरले फलामको तारमा झुन्ड्याइएको काठको कोर्केमा पाँच, सात जनासम्मलाई राखी तारमा समाएर कोर्के हाँक्दै पारि पु¥याउनुहुन्थ्यो। सर नहुँदा आफैँले किताबको झोलामा बोकी ल्याएको खिरखिरे र नाम्लाको डोरी फलामको तारमा झुन्ड्याएर त्यसैमा बसी तर्नुपथ्र्यो। यस्तैमा एक दिन बाँधेको डोरी फुस्केर दिदी जुइना नदीमा खसिन्। उनलाई नदीले बगाएर कहाँकहाँ पु¥यायो ! बल्ल तीन दिनपछि धेरै तल बगरमा शव भेटियो।

दिदी बितेको चौथो दिन उसले हजुरआमालाई सोधेको थियो, ‘हजुरआमा, दिदी बादलपारि स्वर्गमा छिन् रे। होला त हजुरआमा ?’
‘..................हो, बा हो’, आँसु पुछ्दै निकै बेरपछि हजुरआमाले भन्नुभयो।
‘त्यसो भए दिदी मलाई भेट्न कहिले आउलिन् कुन्नि ?’
हजुरआमा एकछिन अकमक्क पर्नुभयो।
‘तिमीले राम्ररी पढेर ठूलो मान्छे बनेपछि स्याबास भन्न दिदी आउँछे नि बा !’
अनि अहिले सपनाबाट बिउँझिएर रुँदै उसले हजुरआमालाई त्यही कुरा सोध्यो। हजुरआमाले उसैगरी भन्नुभयो, ‘हो बा हो।’
दिदीले सपनामा र हजुरआमाले बिपनामा भनेको ठ्याक्कै मिल्यो।


पर्सिपल्ट शनिबार बासँगै सुदिन धसिङ्गारे पहाड उक्लियो। उसलाई यही पहाडले आकाश थामेझैँ लाग्थ्यो। पहाडको टुप्पामा पुगेर हेर्दा त आकाश त्यहाँभन्दा पनि माथि अर्को अग्लो पहाडले थामेको रहेछ। बासँग उसले यसबारे सोध्यो।

‘देख्न त त्यस्तै देखिन्छ। त्यो अग्लो पहाडको टाकुरामा पुग्दा पनि त्यसभन्दा अग्लो अर्को पहाडले आकाश थामेझैँ देखिन्छ’, बाले भन्नुभयो, ‘आकाश भनेको खाली ठाउँ हो, त्यसलाई पहाडले थाम्नुपर्दैन।’
सुदिन पहाड चढ्यो। नयाँ कुरा पत्ता लगायो। तर, दिदी भेट्न आइनन्। घर आएर उसले चिठी लेख्यो।
‘दिदी, आज म त्यो पहाड चढेँ। खोइ, मेरो जवाफ सुन्न तिमी आइनौ त ! ए बुझेँ, तिमीले म कक्षामा फस्र्ट नहुञ्जेल आउँदिनँ भनेर घुर्की ला’की हौली। ठीकै छ। म अवश्य फस्र्ट हुन्छु, तिमी हेरिराख्नू। तैपनि आज मैले पत्ता ला’को कुरा सुन, धसिङ्गारे पहाडले अक्कास थामेको होइन रहेछ। त्यो त यहाँबाट देखिने मात्र रहेछ। त्यहाँबाट त्यसभन्दा अग्लो अर्कै पहाडले पो थामेको देखिने रहेछ ! बाले भन्नुभ’को, अक्कास भनेको खाली ठाउँ हो रे। त्यहाँ पुगेपछि मलाई पनि हो जस्तो लाग्यो। तर, त्यसभन्दा अग्लो अर्को पहाडले थामेको चाहिँ किन देखियो हँ ? तिम्लाई था’ छ कि ?’


रातदिन पानी ओइरिने वर्षामास सकियो। दसैँतिहारको रामरमाइलो र कठ्याङ्ग्रिँदो ठिही पनि सकियो। सुदिनलाई दिदीको सम्झना भने झन्झन् ताजा भइरहेको थियो। खाँदा पनि, स्कुल जाँदा पनि, होमवर्क गर्दा पनि उसलाई दिदीले प्रेमपूर्वक सिकाएको झझल्को आइरहन्थ्यो।

त्रैमासिक परीक्षा, हाजिरजवाफ र अतिरिक्त क्रियाकलापहरूमा अगाडि आए पनि अन्तिम परीक्षामा ऊ थर्ड मात्र हुन सक्यो। सेकेन्ड ब्वाइभन्दा ऊ दुई नम्बरले मात्र पछाडि परेको थियो।

जे होस्, यो खबर दिदीलाई दिनु त प¥यो ! दिदीले भनेकी थिइन्, चिठी लेख्नू। तर, कसरी पठाउनू ? यो चाहिँ दिदीले भनिनन् त ! पहिले लेखेको चिठी पनि पठाउन पाएको होइन। दिदी बादलपारि स्वर्गमा छिन्। सायद त्यहाँ हवाईजहाज मात्र पुग्न सक्छ। ‘मेरो चिठी लगिदेऊ’ भनेर ऊ हवाईजहाजलाई भन्न सक्दैन। किनभने आजसम्म उसले हवाईजहाजलाई भेटेको छैन, आकाशमा उडेको मात्र देखेको छ। चराहरूले पनि उसको चिठी पु¥याइदिन सक्दा हुन्। तिनले पनि उसलाई टेर्लान् जस्तो छैन। किनभने तिनले उसको भाषै बुझ्दैनन्। अझ ती त ऊ नजिक पर्दैमा भुर्र उडिहाल्छन्। कस्ता डरछेरुवा ! एकछिन गमेर बसेपछि ऊ मुसुक्क हाँस्यो। दसैँ सकिएको धेरै भए पनि उसले आफ्नो ठूलो चङ्गा, धागो र लट्टाइँ जोगाएर राखेको थियो। उसले चङ्गामा चिठी लेख्यो। चङ्गा नै यस्तो उडुवा हुलाकी हो जुन उसकी दिदीसम्म पुग्नेछ।

प्यारी दिदी, तिमीले भनेझैँ गर्दा पनि यसपालि म दुई नम्बरले पछाडि परेर तेस्रो मात्र हुन सकेँ। एउटा त्रैमासिक परीक्षामा त मैले सबैलाई जितेकै हो नि ! सिकाउन तिमी भइदिएकी भए मलाई कसैले कहिल्यै जित्न सक्दैनथ्यो। सक्थ्यो त दिदी ? क्षमा चाहन्छु दिदी ! तर, अर्को वर्ष त प्रथम नै हुन्छु, नभए त्यसपछिको वर्ष भने अवश्य हुन्छु। लौ मैले वाचा गरेँ। यो थाहा पाएर पनि मलाई बधाई दिन नआएकी ? कति मात्रै ठूली हुनुपरेको बाबै ! 

ए बुझेँ, अहिल्यै बधाई दिन आए म मात्तिएर पढ्नै छाड्छु भन्ने सोचेकी हौली। त्यस्तो त किन गर्थेँ र ! तैपनि तिम्रो विचारलाई म सलाम ठोक्छु। म ठूलो, असल र महान् मान्छे बनेपछि मात्र भेट्न आउँछु भनेकी हौली। ठीकै छ। म तिमीसँग गुनासो भने गर्दिनँ। एउटा कुरा, मलाई चाहिँ महान् बन्नुभन्दा पहिले यो जुइना नदीमा पुल हाल्नुपर्छ भन्ने लागेको छ है दिदी ! कुरा ठीकै हो नि, होइन र? यहाँ पुल नहुँदा तुइनबाट खसेर कति जना मरिसके ! अस्ति मात्र तिम्री साथी जमुना पनि तुइनबाट खसेर मरिन्। तिमीले थाहा पायौ के? जमुनाकी आमा कति रोएकी बाबै ! उसको बाबा पनि त्यसैगरी रोए। त्यो देखेर सारा गाउँले रोए। म पनि रोएँ। थाहा छ, म किन रोएँ? जमुना तुइनबाट खस्दा मलाई जमुना होइन, मेरै दिदी तुइनबाट खसेझैँ लाग्यो। होइन, यस खोलामा पुल बनाउन किन कसैले नसोचेका होलान् हँ ? इन्जिनियरहरू के हेरिबसेका होलान् ! दिदी, यस नदीमा पुल हाल्न कसरी सकिएला, तिमीलाई थाहा छ ? छैन भने पनि ठीकै छ। त्यो कुरा म अवश्य पत्ता लगाउँछु। हेरिराख्नू, कसैले नहाले एक दिन म आफैँ यहाँ पुल हालेरै छाड्छु। म चाहन्छु, संसारका सारा भाइहरूका दिदी तिमीजस्तै मायालु होऊन्।  तिनीहरू कोही तुइनबाट नखसून्। तिमी नहुँदा म कति एक्लो छु, त्यो तिमीलाई थाहा छैन र दिदी ? जमुना नहुँदा उसको भाइलाई पनि त त्यस्तै भएको होला। अहो, यो सम्झनु कति दुःखलाग्दो कुरा छ ! साँच्ची, यहाँ पुल हाल्नु जति महान् कुरा अरू केही होला र दिदी ! बरु त्यसपछि तिमीले भनेजस्तै ठूलो र असल लेखक, कलाकार वा उपकारी डाक्टर बनूँला। लौ त, त्यसपछि भए पनि तिमी आउनू है ? तिमीलाई भेट्न नपाउँदा म कति दुःखी छु ! विपनामा नआउने भए एकपल्ट सपनामै भए पनि आऊ न दिदी ! उही तिम्रो प्यारो भाइ सुदिन !
त्यसपछि चङ्गाको अर्कोपट्टि उसले लेख्यो, ‘पाउने, प्यारी दिदी सुम्निमा, ठेगानाः बादलपारि स्वर्ग’।

अब उसको उडुवा हुलाकी सोझै आकाश ताक्दै माथिमाथि उडिरहेको थियो। सुदिन कल्पना गर्दैछ, एकैछिनमा त्यो बादलपारि स्वर्गमा दिदीकहाँ पुग्नेछ। चिठी पाएर दिदी कति खुसी होलिन् ! बरु तिनले जवाफ फर्काउन फुर्सद पो पाउलिन्, नपाउलिन्!

प्रकाशित: १३ श्रावण २०७६ ०९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App