८ वैशाख २०८१ शनिबार
समाज

पाटनमा कार्तिक नाचको रौनक

ललितपुर-ललितपुरको चर्चित कार्तिक नाचले यतिखेर पाटनमा रौनक थपेको छ । साँझ पर्ने बित्तिकै पाटनको कात्तिक डबलीमा युवादेखि पाका पुस्तासम्म सबै नाच देखाउन तम्तयार रहन्छन् । नाच हेर्न डबलीको आँगनमा स्थानीय र पर्यटक झुम्मिन्छन् । फरक पहिरनमा सजिएका पात्रको अभिनय हेर्न स्थानीय मात्र नभएर विदेशी पर्यटकको समेत घुइँचो लाग्ने गरेको छ ।

पाटनस्थित कार्तिक डबलीमा बिहीबार सुरु कार्तिक नाचमा वर्षेनी फरकफरक नाच देखाइन्छ । गत वर्ष १० वटा नाच देखाइएकोमा यस वर्ष २ वटा नाच थपेर देखाउने तयारी भएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार बताउँछन् । उनी भन्छन्, ‘विदेशी पयर्टक नाच हेर्न आतुर हुन्छन् । उनीहरू अत्यन्त अनौठौ मान्दै ध्यानपूर्वक नाच हेर्छन् ।’

३ सय ७६ पुरानो भएकाले युवा पुस्ताले पनि निकै अनौठो नाचका रुपमा लिने गरेका छन् । नाच संरक्षण  गर्न युवा पुस्ता पनि लागिपरेका छन् । यो नाच राजा सिद्धिनरसिंह मल्लले सुरु गरेका थिए । देशमा विध्न बाधा नआओस्, शान्ति सुव्यवस्था कायम होस् भन्ने हेतुले सिद्धिनरसिंहले नाच सुरु गरेको समितिका अध्यक्ष चित्रकार बताउँछन् ।

नाचको ऐतिहासिकताबारे चित्रकार भन्छन्, ‘नाच सुरु हुनुअघि ललितपुरका बासिन्दा जोशजाँगरहीन भएपछि राजा सिद्धिनरसिंह मल्लले ज्योतिषीसँग सल्लाह लिँदा राज्यमा ‘मघाह’ दोष परेकाले राज्य सञ्चालनसमेत कठिन भएको बताए। दोष निवारण गर्न ज्योतिषले नरबली दिन सुझाए । त्यसै बमोजिम राजाले नरबली दिएपछि ललितपुरवासी जोशिला भएको किंवदन्ती छ । पछि सिद्धिनरसिंहले नरबली अनुचित ठहर गर्दै मुकुट र हिरण्यपात्र बनाई कार्तिक नाच सुरु गरे ।’

कात्तिक १८ गते सुरु १२ दिने नाचमा १८ गते भक्त सुरदास, १९ गते कौला खिचा, २० गते उषाहरण लीलाअन्तर्गत बाणासुरको कथा प्रस्तुत गरियो भने २१ गते उषाहरण लीलाअन्तर्गतकै उषा र अनिरुद्धको शृंगार प्रसंग देखाइने छ । २२ गते उषाहरण लीलाअन्तर्गत देवी प्याखँ, २३ गते उषाहरण लीलाअन्तर्गतकै युद्ध कला र २४ गते बाणासुर र सहस्रभुज त्वाल्हाइगु, २५ गते जलशयन, २६ गते वराह अवतार, २७ गते नृसिंह अवतार, २८ गते वस्त्रहरण लीला र २९ गते दधि लीला नाच देखाइने छ । ६÷६ वर्षमा नाचलाई नगर परिक्रमा गराउने परम्परा भएकाले यस वर्ष समितिले भदौ १५ गते नगर परिक्रमा गराएको थियो । १२ वटा नाचमा २ सय ५० जना कलाकारले अभिनय गर्दैछन् ।

आर्थिक अभावमा पर्दै आएको यो नाच यस वर्ष पनि संस्कृति धान्न मात्र सञ्चालन गरिएको समितिका अध्यक्ष चित्रकारले बताए । उनले भने, ‘बाह्रदिने नाच सञ्चालन गर्न करिब १० लाख रुपैयाँ आवश्यक पर्छ। पर्याप्त रकम नभएकाले कलाकारको पारिश्रमिक घटाएका छौं भने नाचमा आवश्यक सामग्री पनि पुरानै प्रयोग गरेका छौं ।’

चित्रकारका अनुसार यस वर्ष नाच सञ्चालन गर्न चन्दा उठाएर ४ लाख रुपैयाँ जुटाइएको हो । समितिले नाचका लागि रकम अभाव भएको भन्दै ललितपुर उपमहानगरपालिकासँग १५ लाख रुपैयाँ मागेको थियो । तर उपमहानगरपालिकाले ५० हजार रुपैयाँ मात्र उपलब्ध गराएकाले माला किन्न पनि नपुग्ने भन्दै समितिले एक महिनाअघि रकम फिर्ता गरेको थियो ।

यसअघि १७ वटा नाच रहेकोमा अहिले बुद्ध लीला, वस्त्रहरणलगायत ५ वटा नाच लोप भइसकेका छन् । २००६ सम्म २७ दिन हुने यो नाच आर्थिक अभावले छोट्टिँदै गएको हो ।

समितिले नाच २७ दिन नै सञ्चालन गर्न १५ लाख रुपैयाँ आवश्यक रहेको बताएको छ । नाच जीवित राख्न पछिल्लो समय सरकारी निकायले चासो नदिएका कारण समिति र स्थानीयको आर्थिक सहयोगले परम्परा धान्दै आएको अध्यक्ष चित्रकार बताउँछन् । उनी भन्छन्, ‘सरकारले नाचका लागि न त रकम दिएको छ, न त स्थानीयलाई नाच आफैं सञ्चालन गर्न स्वतन्त्रता दिएको छ ।’

सरकारले नाच संरक्षणमा नसघाए पनि निजी स्तरबाटै सञ्चालन स्वीकृति दिए बाह्रदिने नाच २७ दिन नै सञ्चालन गर्न सक्ने समितिको भनाइ छ । ३० वर्ष अघिसम्म नाचका लागि सरकारले नै रकम उपलब्ध गराउँदै आएको थियो ।

 

प्रकाशित: २२ कार्तिक २०७३ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App