coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बागमतीमा सद्‍भावको जलधारा

काठमाडौं-हरेक साता नदीको सफाइ भइरहेपछि हिजोआज बागमतीको पानी केही सफा देखिन थालेको छ । र यही सफा बागमतीको किनारमा आयोजना हुँदै आएको छठ पर्वले मधेसी–पहाडी सद्भाव बढाएको छ । अस्ताउँदो सूर्यलाई दिँदै गरेको सद्भावको अघ्र्यले बागमती अझ संग्लिएको छ । नदी किनारमा लहरै बसेर होस् वा पूजामा सामेल भएर दुवै समुदायका मानिस छठ पर्वमा रमाउँदै छन् ।

आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिन सँगै बसेर मधेसी–पहाडी सहभागिताले आपसी भाइचारा र सद्भावको सन्देश दिएको थियो । ‘म केही वर्षदेखि छठमा सहभागीता जनाउँदै आएकी छु,’ सर्लाहीकी आफ्नी साथी अनु साहसँग पूजामा सहभागी बानेश्वरकी जोशीका श्रेष्ठले भनिन्, ‘यो पर्व मनाउँदा रमाइलो लाग्छ ।’ 

आफू बस्ने राजधानीबाट बग्ने बागमती साथी बस्ने सर्लाहीसम्म पुग्ने बताउँदै उनले यो पानीले सद्भावको सन्देश पनि बोकेर लैजाने सुनाइन् । साह र श्रेष्ठजस्तै थुप्रै मधेसी र पहाडी समुदायले आपसमा मिलेर छठ पर्वमा रमाए ।  धोती कुर्तामा सजिएका मधेसी हुन् वा सर्ट पाइन्टमा सजिएका पहाडी दुवै पर्वको एउटै रङमा भेटिए । आयोजक समितिका सदस्य धीरेन्द्र रौनियारका अनुसार यहाँ करिब ६ सय परिवारले छठ पर्व मनाएको सुनाए । ‘मधेसी, पहाडी, दलित र मुस्लिमको समेत सहभागिता रहेको छ,’ उनले भने, ‘सबै आपसमा मिलेर छठमा रमाएका छन् ।’

परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै मनाइने छठ पछिल्लो समय धार्मिक सद्भावको पर्व बन्न थालेको छ । एक दशक अघिसम्म तराईका हिन्दु धर्मावलम्बी समुदायमा सीमित यो पर्व पछिल्लो समय पहाडी समुदायसँगै पहाडी भूभागमा पनि फैलिएको छ ।

आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै उपत्यकाका विभिन्न ठाउँमा छठ मनाइएको छ । आठ दशकअघि कालिमाटी टंकेश्वरको विष्णुमती नदीमा केही व्यक्तिले राजधानीमा सुरु गरेको छठ पूजा अहिले काठमाडौं उपत्यकाका २० भन्दा बढी स्थानमा फैलिएको छ ।

कालिमाटी, रानीपोखरी, कुपन्डोल, थापाथली, गौरीघाट, बल्खु, बानेश्वरको बागमती पुल, गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायत स्थानमा व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठ मनाए । सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरेसँगै छठ सम्पन्न हुनेछ ।

प्रकाशित: २२ कार्तिक २०७३ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App