४ वैशाख २०८१ मंगलबार
अन्य

जानकी मन्दिरको सौन्दर्यीकरण रोक्न विभागको निर्देशन

जानकी मन्दिरको पछाडि खाली जग्गामा निर्माणाधीन सन्त निवास। तस्बिरः कमलेश/नागरिक

धनुषा– प्रदेश २ सरकारले जानकी मन्दिरको मौलिकतामा असर पर्नेगरी गरिरहेको मर्मत सम्भार तथा सौन्दर्यीकरणको काजमाथि पुरातत्त्व विभागले रोक लगाएको छ। पुरातत्त्व विभागको स्वीकृतिबिना जानकी मन्दिर परिसरभित्र भइरहेको निर्माणकार्य विभागले आइतबारदेखि रोक लगाएको हो।

पुरातत्त्व विभाग, काठमाडौंबाट जानकी मन्दिरको पुरातत्त्वसम्बन्धी फोकल पर्सनको रुपमा कार्यरत पुरातत्त्व अधिकृत मन्जुसिहं भण्डारीले जानकी मन्दिरको प्रांगणभित्र भइरहेको भवन निर्माणको सम्पूर्ण कार्य रोक्न फोनबाट निर्देशन दिएको हो।

कार्य रोक्न पुरातत्त्व विभागको औपचारिक पत्र सोमबारसम्म जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रसमेत पठाएको छ। जानकी मन्दिरको परिसर सुधारका लागि प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जानकी मन्दिरको कम्पाउन्डभित्र मार्बल लगाउने योजना अगाडि बढाइएको थियो।

जानकी मन्दिरको परिसर सुधार गर्न सहमति मागसम्बन्धी प्रदेश २ सरकारको पत्रको आधारमा जानकी मन्दिरसँग तादात्म्य हुनेगरी तथा मन्दिरको साविकको दृश्यलाई नकारात्मक असर नपर्ने गरी विश्वसम्पदाको सम्भावित सूचीमा सूचीकरण गर्ने सिलसिलामा सुधार कार्यले कुनै समस्या नआउने गरी पुरातत्त्व विभागले गत पुस २२ गतेको पत्रअनुसार सहमति भएकोे थियो।

पुरातत्त्व विभागको स्वीकृतिविपरीत जानकी मन्दिरको मौलिकता तथा संरचनालाई नै संकटमा पार्नेगरी मन्दिर परिसरभित्र भवन निर्माणकार्यको थालनी भएको छ। जानकी मन्दिरभित्रको छतमाथि ६ वटा शक्तिशाली ड्रिलको प्रयोग गरेर मन्दिरको संरचनालाई क्षति पुग्नेगरी तोडफोडको कार्य पनि भइ रहेको छ।

यता, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले दुई दिनका लागि काम मात्र रोकेको बताए। ‘विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जालमा निर्माणकार्यबारे भ्रम फैलाउने गरी गलत समाचार सम्प्रेषण भएको थियो,’ उनले भने, ‘त्यसैलाई आधार मानेर पुरातत्त्व विभागले दुई दिन जाँच गरी पुनः काम सुचारु गर्न निर्देशन दिएको छ। पुरातत्त्व विभागको प्राविधिकसहितको टोली आएर जाँच गरेपछि पुनः काम सुचारु हुन्छ।’

प्रकाशित: १३ श्रावण २०७६ ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App