coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

प्रदेश १ मा ७२ प्रतिशत रोपाइँ

विराटनगर– प्रदेश १ मा करिब ७२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार साउन १२ गतेसम्ममा प्रदेश १ मा ७१.७८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो।

कृषि विकास निर्देशनालयका सूचना अधिकारी प्रकाशकुमार डाँगीका अनुसार उच्च पहाडी क्षेत्रमा ७७.१३, मध्यपहाडी क्षेत्रमा ६५.३८ र तराई क्षेत्रमा ७३.७८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ। प्रदेश १ मा कुल ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २ लाख ४४ हजार ६ सय ३९ हेक्टरमा रोपाइँ भएको हो। निर्देशनालयको तथ्यांकअनुसार ताप्लेजुङमा ८०, संखुवासभामा ७५, सोलुखुम्बुमा ८० प्रतिशत रोपाइ“ सकिएको छ।

यस्तै पाँचथरमा ७७, इलाममा ५८, भोजपुरमा ७०, तेह्रथुममा ६५, धनकुटामा ४५, उदयपुरमा ७०, ओखलढुंगामा ६० र खोटाङमा ६९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। यस्तै झापामा ७५, मोरङमा ७५ र सुनसरीमा ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

गत वर्ष साउन १३ गतेसम्ममा प्रदेश १ मा ८२.८९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। समयमै मनसुन सुरू नभएका कारण गत वर्षभन्दा १० प्रतिशत कम रोपाइँ भएको डाँगीले बताए। समयभन्दा केही ढिलो मनसुन सुरू भए पनि निरन्तर वर्षा भइरहेका कारण धमाधम रोपाइँ भइरहेको उनले बताए। ‘पहाडी क्षेत्रमा साउन १५ र तराई क्षेत्रमा साउन २५ गतेसम्म रोपाइँ गर्नु उपयुक्त हुने भएकाले त्यतिबेलासम्ममा रोपाइँको प्रतिशत उल्लेख्य मात्रामा बढ्ने देखिन्छ’, डाँगीले भने।

यतिमात्रै हैन प्रदेश १ मा डिएपी मलको अभाव हुनु र रोपाइँ गर्ने ट्रेण्डमा पनि परिवर्तन हुँदै गएकाले रोपाइँ ढिलो भएको हो। रोपाइँ गर्ने परम्परागत विधिमा परिवर्तन आएसँगै रोपाइँ गर्ने समयमा पनि परिवर्तन आउन थालेको छ। परम्परागत रुपमा गोरुले जोत्ने चलन विस्थापित भई ट्याक्टर, पावर टिलरलगायतका आधुनिक उपकरणको प्रयोग बढेको छ। ट्याक्टर पावरटिलरलगायतका कृषि उपकरणको प्रयोगले खेत जोत्दा एकैदिनमा धेरै क्षेत्रफलमा रोपाइँ हुने गरेको छ। यस्तै केही स्थानमा खेत जोत्न मात्रै हैन धान रोप्न पनि मेसिनकै प्रयोग हुन थालेको छ। आधुनिक उपकरणको प्रयोग बढ्दै जाँदा खेतीमा लाग्ने जनशक्ति पनि घट्दै गएको छ। कृषि मजदुरको अभावमा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था अन्त्य हुँदै गएको डाँगीले बताए। सरकारले पनि कृषि उपकरण खरिदमा अनुदानको व्यवस्था गरेको छ।

कृषि उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको डाँगीले जानकारी दिए। प्रदेशमा खेत जोत्न ट्याक्टर पावरटिलरको प्रयोग बढ्दै गए पनि धान रोप्ने राइस ट्रान्सप्लान्ट र बाली भित्र्याउने हार्भेस्टर मेसिनको प्रयोग भने न्यून मात्रै प्रयोग भइरहेको डाँगीले बताए।

प्रकाशित: १३ श्रावण २०७६ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App