७ वैशाख २०८१ शुक्रबार
खेल

रियल शीर्ष स्थानमा

मड्रिड(एएफपी)– गारेथ बेलले दुई गोल गरेको खेलमा लेगानेसलाई आइतबार ३–० ले हराउँदै रियाल मड्रिडले स्पेनिस ला लिगाको शीर्षतालाई थप मजबुत बनाएको छ। ११ खेलमा ८ जितका साथ रियालको २५ अंक पुगेको छ। एक खेल कम खेलेको बार्सिलोना भन्दा रियालको ५ अंक बढी छ।

सात मिनेटको फरकमा बेलले दुई गोल गरेपछि रियालको जित सहज बनेको थियो । ३८ औं मिनेटमा पहिलो गोल गरेका उनले पहिलो हाफको अन्तिम मिनेटमा अर्को गोल थपे । एल्भारो मोराटाले ७७ औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे ।

रियालको जितले सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिड थप पछि परेको छ । अघिल्लो दिन रियाल सोसिडाडले पेनाल्टीमा दुई गोल गर्दै २–० को विजय हासिल गरेपछि च्याम्पियन्स लिगको उपविजेता एट्लेटिकोको स्पेनिस ला लिगाको उपाधि जित्ने आशामा अर्को धक्का लागेको थियो ।

कार्लोस भेलाले दोस्रो हाफको नवौं मिनेटमा गोल गर्दै रियाल सोसिडाडलाई घरेलु समर्थकको बीचमा अग्रता दिलाएका थिए । गाबीले युरी बेर्चिचेमाथि गम्भिर फाउल गरेपछि रेफ्रीले घरेलु टोली रियाल सोसिडाडलाई पेनाल्टीको मौका थिएका थिए । समय सकिन १५ मिनेट बाँकी रहँदा विलियन जोसले अर्को पेनाल्टीलाई गोलमा परिणत गर्दै रियाल सोसिडाडको लगातार तेस्रो जित पक्का गरे । एन्जेल कोरियाले कार्लोस भेलामाथि खतरनाक फाउल गरेपछि सोसिडाडले खेलमा दोस्रो पटक पेनाल्टीको मौका पाएको थियो ।

घरेलु लिगका पछिल्ला तीन खेलमा दोस्रो पराजय भोगेपछि एट्लेटिको शीर्ष स्थानको रियाल मड्रिडभन्दा तीन अंकले पछि परेको थियो । तर आइतबार रियालले आफ्नो खेल जितेपछि दुई टोलीबीचको अन्तर ६ अंकले फराकिलो बन्यो । एट्लेटिकोले गत सिजनको च्याम्पियन्स लिग फाइनलको रिम्याचका रुपमा हुने खेलका लागि अन्तर्राष्ट्रिय विश्रामपछि नोभेम्बर १९ मा रियाललाई आतिथ्य प्रदान गर्नेछ ।

‘हामीसामु हार लुकाउने कुनै वहाना छैन । उनीहरुले राम्रो खेलेका थिए, त्यही सत्य हो,’ गत सिजनको च्याम्पियन्स लिग फाइनलमा महत्वपूर्ण पेनाल्टी खेर फालेका एट्लेटिकोका रक्षक हुँवाफ्रानले भने, ‘हामीले आफूलाई अर्को एउटा अझै महत्वपूर्ण खेलका लागि तयार गर्नुछ । हामीले शिर ठाडो पारेर खेल्नुपर्छ । घरेलु मैदानमा जित्नेमा म विश्वस्त छु ।’

डिएगो सिमोनीको टोलीले मंगलबार एफसी रोस्तोभमाथि इन्जुरी समयमा गोल गर्दै विजय हासिल गरेर च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको थियो । तर युरोपियन प्रतियोगितामा केन्द्रित हुँदा घरेलु लिगमा फेरी एक पटक टोलीले निराशा भोग्नुप¥यो ।

‘हामी हारमा बहाना खोज्न चाहन्नौं । विपक्षीले राम्रो खेलेर जित्यो,’ हुँवाफ्रानसँग सहमति जनाउँदै सिमोनीले भने, ‘हामीले दुई महत्वपूर्ण खेलमा अंक गुमाएका छौं । यसले लिगको उपाधि जित्ने हाम्रो अभियानमा पक्कै पनि धक्का लागेको छ । तर अझै पनि आत्मविश्वास नगुमाई सुखद नतिजालाई निरन्तरता दिन सके सम्भावना कमजोर भएको छैन । भर्खर ११ खेल सकिएका छन् । लिगमा अझै २७ खेल बाँकी छन् । हामीले रियाल विरुद्धको आगामी घरेलु खेलबाट पुनरागमनको सुरुआत गर्नुपर्छ ।’

शीर्षताको दाबेदार एट्लेटिकोले हार सामना गरेको दिन अंकतालिकाको पुछारतिरका दुई टोली डेर्पोटिभो ला कोरुना र ग्रानाडाबीचको खेल १–१ को बराबरीमा टुंगियो । घरेलु मैदानमा विजयविमुख भएपछि ग्रानाडा पुछारबाट माथि उठन सफल भएन । फ्लोरिन एन्डोनेको गोलमा भ्रमणकारी डेर्पोटिभोले ६४ औं मिनेटमा अग्रता लिएको थियो । तर डेविड लोम्बनले समय सकिन ९ मिनेट बाँकी रहँदा गोल फर्काएपछि ग्रानाडा पराजयबाट भने जोगिएको थियो ।

यसैगरी समय सकिन १३ मिनेट बाँकी रहँदा क्रिस्टियन सान्तोषले पेनाल्टीमा गोल गर्दै अल्भेसलाई १–० को विजय दिलाएपछि ओसासुना पनि रेलिगेसन क्षेत्रबाट माथि उठन सफल भएन ।

स्पेनिस ला लिगामा शनिबारै सम्पन्न अन्य खेलमा मालागाले स्र्पोटिङ गिजोनलाई ३–२ को नतिजामा हरायो भने लस पाल्मसले एइबारमाथि १–० को विजयी नतिजा निकाल्यो।

 

 

 

 

प्रकाशित: २२ कार्तिक २०७३ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App