७ वैशाख २०८१ शुक्रबार
समाज

सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको बीमा

तनहुँ - तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित फूलबारी सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा गरिएको छ । वन पैदावर बिक्रीबाट प्राप्त आम्दानीबाट सामुदायिक वनका ८२ घरधुरीको स्वास्थ्य बीमा गरिएको हो। गत वर्ष २० लाख रूपैयाँ आम्दानी भएको सामुदायिक वनबाट स्वास्थ्य बीमाका लागि प्रति परिवार दुई हजार ५ सयका दरले दुई लाख पाँच हजार रूपैयाँ लगानी गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मानकुमार श्रेष्ठले बताए । सामुदायिक वनको आम्दानी उपभोक्ताकै हितमा लगानी गर्नुपर्ने प्रावधानअनुसार वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा गरिएको उनले जानकारी दिए।

दुई सय एक हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा दुई वर्ष अघिदेखि वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको छ । विसं २०६६ मा समुदायमा हस्तान्तरण भएको वनले पहिलो वर्षमा नै राम्रो आम्दानी लिन सफल भएको थियो । उपभोक्ता समूहका सचिव टेकबहादुर गुरुङका अनुसार वनको आम्दानीबाट वैदेशिक रोजगारीमा जानेलाई सहुलियतमा कर्जा, पशुपालन गर्ने र उच्च शिक्षा अध्ययनको लागिसमेत सहुलियतमा कर्जा उपलब्ध गराइएको छ । जसका लागि २४ लाख ८० हजार ६८२ रूपैयाँ लगानी भएको उनले जानकारी दिए ।

वैज्ञानिक वन व्यवस्थापन लागू भएको वर्षमा नै सामुदायिक वनबाट ३७ लाख छ हजार ९३४ रूपैयाँ आम्दानी भएको गुरुङले बताए । वन नियमावली २०५१ अनुसार सामुदायिक वनले आम्दानीको २५ प्रतिशत वन संरक्षण तथा विकासमा, ३५ प्रतिशत समूहभित्रका गरीब, महिला, विपन्न तथा पिछडिएका सदस्यको आयआर्जन वृद्धि गरी गरीबी न्यूनीकरण गर्ने कार्यक्रममा र बाँकी ४० प्रतिशत अन्य सामाजिक विकासका क्षेत्रमा खर्च गर्नुपर्ने प्रावधान रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।

वनलाई व्यवस्थित गरी बढीभन्दा बढी फाइदा लिने उद्देश्यसहित तनहुँका बाह्र वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन सुरु भइसकेको छ। वनको हैसियतमा सुधार ल्याई उत्पादनमा वृद्धि गर्ने, वन पैदावरको आपूर्तिमा निरन्तरता एवं सहजता गराउने र स्थानीय रोजगारी सिर्जना गराई जैविक र वातावरणीय लाभ लिने उद्देश्यसहित वैज्ञानिक वन व्यवस्थापनलाई जोड दिइएको डिभिजन वन प्रमुख बरालले जानकारी दिए।

प्रकाशित: १३ श्रावण २०७६ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App